काठमाडौं- हरेक नेपालीको चाहना जीवनमा एउटा घर खरिद गर्ने वा निर्माण गर्ने हुन्छ नै। घर बनाउनकै लागि स्वदेशमा रोजगारी गर्नेहरू ठूलो मेहनतले बचत गरिरहेका हुन्छन्। विदेश गएरै रोजगारी गरिरहेकाहरूका लागि 'नेपालमा एउटा घर'को सपना हुन्छ। रेमिट्यान्सको रकम घरजग्गामा पनि व्यापक लगानी भइरहेकै छ।
कानूनले पनि हरेक नागरिकलाई सुरक्षित आवास निर्माण वा खरिद गरी बसोबास गर्न सक्ने सुविधा दिएको छ। संविधानले नै सुरक्षित आवासको हकलाई मौलिक हकअन्तर्गत राखेको छ। तर घर खरिद गर्न र निर्माण गर्न आवश्यक पर्ने ठूलो रकम सहज विषय होइन। यसैले बैंकहरू त्यसमा सहयोगी बनिरहेका छन्।
नियमित आम्दानी भएका, केही बचत र केही रकम अपुग हुनेहरूका लागि बैंकहरू सहयोगी बन्न सक्छन्। बैंकहरूले घरकर्जा निर्माणका लागि धितो मूल्यांकन गरी सम्पत्तिले खामेसम्मको कर्जा उपलब्ध गराउन सक्छन्। कर्जा लिन चाहने ऋणीले बैंकले तोकेका आवश्यक प्रकृया र कागजात पूरा गरी कर्जा लिएर आफ्नो घर खरिद गर्न वा बनाउने सपना पूरा गर्न सक्छन्।
चालु आर्थिक वर्षबाट विदेशी मुद्रा सहज भएसँगै घरकर्जाका लागि राष्ट्र बैंकले खुकुलो नीति लिएको छ। पहिलो पटक घर किन्ने सर्वसाधारणका लागि घरकर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पुर्याएको छ।
यस्तै काठमाडौं उपत्यकासहित देशभरी नै सम्पत्ति मूल्यांकन अनुपात (लोन टु भ्यालु रेसियो) ५० प्रतिशत पुर्याएको छ। नेपालको विदेशी मुद्राको सञ्चितिमा समस्या भएपछि राष्ट्र बैंकले व्यक्तिगत घरकर्जामा कडाइ गरेको थियो। जसले गर्दा यसबीचमा नेपालमा घरकर्जा सुस्त रहँदै आएको छ। घर खरिद गर्न सहजता प्रदान गर्न नेपालका बैंक तथा वित्तीय संस्थाहरूले घरकर्जासम्बन्धी विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएका छन्।
नेपालले वाणिज्य बैंकहरूले आधारदरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम दर जोडर घरकर्जाको ब्याजदर निर्धारण गरेका छन्।
पछिल्लो समय बैंकहरूले ब्याजदर बढाएर निक्षेप संकलन गरेकाले कर्जातर्फको ब्याजदर पनि उच्च रहेको छ। गत वर्ष बैंकहरूले ११ देखि १२ प्रतिशतसम्म मुद्दती निक्षेपको ब्याजदर तोकेर निक्षेप संकलन गरेकाले वाणिज्य बैंकहरूको औषत आधारदर गत वर्षको असोज महिनामा १०.३४ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको आधार दर ९.९४ प्रतिशतमा झरेको छ। उक्त आधारदर पनि उच्च नै भएकाले बैंकहरूपिच्छे घरकर्जाको ब्याजदर फरक फरक रहेको छ।
कुन बैंकमा पाइन्छ सस्तोमा घर कर्जा?
राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरूले दीर्घकालीन प्रकृतिको कर्जा प्रवाह गर्दा स्थिर ब्याजदर र परिवर्तनशील ब्याजदर कायम गर्नुपर्ने हुन्छ। अधिकांश वाणिज्य बैंकहरूले दुबै प्रकृति ब्याजदर निर्धारण गरेका छन्। दीर्घकालीन प्रकृतिको घर कर्जासम्बन्धी स्थिर ब्याजदर निर्धारण गर्दा बढी जोखिम हुने भएकाले प्रिमियम बढी जोडेर ब्याजदर निर्धारण गरेका छन्।
परिवर्तनशील ब्याजदर भने अर्थतन्त्रमा आउने उत्तारचढावसँगै मासिकरुपमा ब्याजदर घटाउन वा बढाउने मिल्ने भएकाले स्थिर ब्याजदरको तुलनामा कम निर्धारण गरेका छन्। यद्यपी परिवर्तनशील ब्याजदरमा प्रिमियमदर निर्धारण गर्दा राष्ट्र बैंकले ५ प्रतिशतसम्म बढी प्रिमियम जोड्न नपाउने व्यवस्था गरेको छ।
यसैका आधारमा बैंकहरूले आफ्नो आधार दरमा १ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियमदर जोडर घरकर्जाको ब्याजदर निर्धारण गरेका छन्।
घरकर्जा लिन चाहाने ग्राहकले आफ्नो सम्पत्ति मूल्यांकनका आधारमा बैंक तथा वित्तीय संस्थाहरूसँग प्रिमियम दरमा बार्गेनिङ गरी घटाउन सक्छन्। प्रिमियम दर कम निर्धारण गर्न बैंकहरूलाई ग्राहकले आग्रह गर्नसक्छ। वार्गेनिङ गर्ने क्षमता राम्रो भएका ग्राहकहरूले कम प्रिमियम दरमा घरकर्जा पाउन सक्छन्। नेपालका वाणिज्य बैंकहरूले ३ वर्ष अवधिदेखि २५ वर्षसम्मको घरकर्जा योजनाहरू सार्वजनिक गरेका छन्।
पछिल्लो समय एभरेष्ट बैंकले १ करोडसम्मको ७ वर्ष अवधिको घर कर्जाको ब्याजदर १२.५० प्रतिशत ब्याजदर तोकेको छ। यस्तै यस बैंकले १० वर्ष अवधिको घर कर्जाको ब्याजदर १३.५ प्रतिशत, १० वर्षभन्दामाथि घरकर्जा १४.५० प्रतिशत निर्धारण गरेको छ।
१ करोडभन्दा माथिको ७ वर्षे अवधिको घरकर्जाको ब्याजदर यस बैंकले १३ प्रतिशत, १० वर्ष अवधिको १४ प्रतिशत र १० वर्षभन्दा माथिको १४.७५ प्रतिशत ब्याजदर तोकेको छ।
नेपाल बैंक लिमिटेड भने सबै प्रकारका घरकर्जा १२.२५ देखि १४.२५ बीचमा ब्याजदर निर्धारण गरेर प्रवाह गरिरहेको छ।
सिटिजन्स इन्टरनेशल बैंकले ‘सिटिजन्स हाउजिङ लोन’ का रुपमा १२.५० प्रतिशतमा ब्याजदरमा उपलब्ध गराइरहेको छ। यस्तै यस बैंकले ५ वर्ष अवधिको घर कर्जा १३ प्रतिशत, १० वर्षसम्मको १३.२५ प्रतिशत र १५ वर्षसम्मको १३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
सानिमा बैंकले घर कर्जा आधार दरमा १.५ प्रतिशतदेखि ३.५ प्रतिशत प्रिमियम दर जोडर उपलब्ध गराउँदै आएको छ। असोज मसान्तसम्ममा यस बैंकको आधार दर ९.९२ प्रतिशत रहेको छ। यस आधारमा हेर्दा यस बैंकले घरकर्जाको न्यूनतम ब्याजदर ११.४२ प्रतिशत देखि अधिकतम १३.४२ प्रतिशत ब्याजदर रहेको छ। हिमालयन बैंकले ७ वर्षभन्दा बढी अवधिको घर कर्जा १३.५ प्रतिशत तोकेको छ।
कृषि विकास बैंकले १० वर्ष अवधिको घरकर्जा आधार दरमा ३ प्रतिशत प्रिमियम दर जोडर उपलब्ध गराउँदै आएको छ। यसको बैंकको हाल आधार दर १०.३८ प्रतिशत रहेकाले घरकर्जा १३.३८ प्रतिशत ब्याजदरमा उपलब्ध गराइरहेको छ।
१० वर्षभन्दा बढी अवधिको घरकर्जा कृषि विकास बैंकले आधारदरमा २.२५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेको छ। यस बैंकले आवास खरिद कर्जाअन्तर्गत ५ वर्ष अवधि र १० वर्ष अवधिको कर्जा दिइरहेको छ। ५ वर्ष अवधि अन्तर्गत स्थिर ब्याजदरमा कर्जा लिने ग्राहकलाई आधार दरमा १.७५ प्रिमियम जोडेर बैंकले ब्याज लिने गरेको छ भने परिवर्तनशील ब्याजदरमा यस्तो कर्जा लिने ग्राहकलाई आधार दरमा २ प्रतिशतसम्म ब्याज लिएर कर्जा प्रवाह गरिरहेको छ।
१० वर्ष अवधिको आवास खरिद कर्जाका स्थिर ब्याजदरअन्तर्गत आधार दरमा २ प्रतिशत प्रिमियम र परिवर्तनशील ब्याजदरमा कर्जा अन्तर्गत २.५ प्रतिशतसम्म ब्याज लिएर कृषि विकास बैंकले कर्जा उपलब्ध गराउँदै आएको छ।
कृषि विकास बैंकले जग्गा खरिद गर्नका लागि पनि कर्जा प्रवाह गर्दै आएको छ। जग्गा खरिद गर्नका लागि प्रवाह हुने कर्जामा बैंकले स्थिर ब्याजदरतर्फ आधार दरमा २ प्रतिशत प्रिमियम दर र परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकहरूलाई आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिने गरेको छ।
नबिल बैंकले पछिल्लो समय १० वर्षदेखि १५ वर्षसम्मको घरकर्जा १३.४९ प्रतिशत ब्याजदर लिएर प्रवाह गरिरहेको छ। नबिल बैंकले घरजग्गाअन्तर्गत 'नबिल ढुक्क घर कर्जा' मा दुई प्रकारको प्याकेज उपलब्ध गराइरहेको छ। ७ वर्ष अवधिसम्मको घरकर्जा लिने सेवाग्राहीले १०.४९ प्रतिशत र १० वर्ष अवधिसम्मको घरकर्जाका लागि लिने सेवाग्राहीले ११.४९ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ।
नेपाल इन्भेष्टमेन्ट बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम जोडर घरकर्जा उपलब्ध गराइरहेको छ। कात्तिक महिनामा यस बैंकको आधार दर ९.९९ प्रतिशत रहेको छ।
एनआईसी एसिया बैंकले ५ वर्ष अवधिदेखि २५ वर्ष अवधिसम्मको घर कर्जासम्बन्धी योजना सञ्चालन गरिरहेको छ। यस बैंकबाट घरकर्जा लिने ग्राहकले न्यूनतम २५ लाखदेखि अधिकतम १ करोड २० लाखसम्म घरकर्जा पाउँछन्। घरकर्जामा बैंकले आधार दरमा १.८१ प्रतिशत प्रिमियम जोडेर ब्याज लिने गरेको छ।
लक्ष्मी सनराइज बैंकले १५ वर्ष अवधिसम्मको घर कर्जा न्यूनतम ब्याजदर १२.९९ प्रतिशतदेखि अधिकतम १४.९९ प्रतिशत ब्याजदरमा प्रवाह गर्दै आइरहेको छ।
प्रभु बैंकले ५ वर्ष सम्मको घरकर्जा १२.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउँदै आएको छ। यस बैंकले १५ वर्षसम्म अवधिको घरकर्जाको ब्याजदर १३.९९ प्रतिशत तोकेको छ।
प्राइम कमर्सियल बैंकले पनि घर कर्जा आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम दर जोडर दिइरहेको छ। यस बैंकको असोजसमम्मको औषत आधार दर १०.७६ प्रतिशत रहेको छ।
सिद्धार्थ बैंकले घर कर्जा आधार दरमा ३.५ प्रतिशतसम्म प्रिमियम दर जोडर प्रवाह गर्दै आइरहेको छ। कात्तिक महिनामा यस बैंकको औषत आधार दर ९.५३ प्रतिशत रहेको छ।
माछापुच्छ्रे बैंकले भने अवधिका आधारमा ब्याजदर तोकेको छ। यस बैंकले ५ वर्ष सम्म अवधिको घरकर्जाको ब्याजदर १२ प्रतिशत, ५ वर्षदेखि १० वर्ष सम्मको घरकर्जाको ब्याजदर १३ प्रतिशत र १० वर्षमाथिको ब्याजदर १४ प्रतिशत तोकेको छ।
राष्ट्रिय वाणिज्य बैंकले ५ वर्षसम्मको घरकर्जाको ब्याजदर १२.७५ प्रतिशत तोकेको छ। यस्तै १० वर्ष अवधिको घर कर्जाको ब्याजदर १३ प्रतिशत र १५ वर्षसम्म अवधिका लागि १३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
सानिमा बैंकले घरकर्जा आधार दरमा १.५० प्रतिशत देखि ३.५० प्रतिशतसम्म प्रिमियम दर जोडर दिइरहेको छ।
ग्लोबल आइएमई बैंकको पनि ३ प्रकारका घर कर्जाका योजनाहरू संचालनमा रहेका छन्। यस बैंकले स्थिर दर र परिवर्तनशिल ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ।
ग्लोबल आइएमई बैंक बैंकले ५ वर्ष, ५ वर्षदेखि १० वर्ष र १० वर्षमाथिको घर कर्जा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम जोडर उपलब्ध गराउँदै आएको छ। असोज मसान्तसम्ममा यस बैंकको आधार दर १०.०३ प्रतिशत रहेको छ। स्थिर ब्याजदरमा भने बैंकले ५ वर्ष अवधिसम्मको घर कर्जा १०.९९ प्रतिशदेखि ११.९९ प्रतिशत ब्याजदरमा प्रवाह गरिरहेको छ।
यस्तै ५ वर्षदेखि १० वर्ष अवधिको घर कर्जा ११.९९ प्रतिशतदेखि १२.९९ प्रतिशत र १० वर्षभन्दा बढी अवधिको घर कर्जा १३.९९ प्रतिशत ब्याजदर बैंकले निर्धारण गरेको छ।
नेपाल एसबिआई बैंकले घरकर्जा आधार दरमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम दर जोडर ब्याजदर निर्धारण गर्दै आएको छ। पछिल्लो तीन महिनामा बैंकको औषत आधार दर १०.२५ प्रतिशत रहेको छ।
स्थिर ब्याजदरतर्फ भने यस बैंकले ३ वर्ष अवधिको घरकर्जाको ब्याजदर १३.५० प्रतिशत, ३ वर्षदेखि ५ वर्ष अवधिको ब्याजदर १४.५० प्रतिशत र ५ वर्षदेखि १० वर्ष अवधिको १५ प्रतिशत र १० भन्दा बढी अवधिको १५.५० प्रतिशत ब्याजदर तोकेको छ।
कुमारी बैंकले ७ वर्ष अवधिसम्मको घर कर्जाको ब्याजदर ११.७९ प्रतिशत तोकेको छ। यस्तै २ करोडसम्मको कर्जा यस बैंकले आधारदरमा १ देखि ३ प्रतिशत र २ करोडभन्दा माथिको घरकर्जामा आधार दरमा २ देखि ४ प्रतिशतसम्म प्रिमियम दर राखेर ब्याजदर निर्धारण गरेको छ। असोज महिनाको अन्त्यसम्ममा यस बैंकको आधार दर १०.९४ प्रतिशत रहेको छ।