शनिबार, जेठ ५ गते २०८१    
images
images

प्रविधिको विकासले संकटमा मादल व्यवसाय

images
मंगलबार, कात्तिक २८ २०८०
images
images
प्रविधिको विकासले संकटमा मादल व्यवसाय

पश्चिमा संस्कृति र आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादल व्यवसाय संकटमा पर्न थालेको हो। पछिल्लो समय मादलको प्रयोग घट्दै गएकामा संगीतका पारखी मात्र होइन, मादल बनाउने व्यवसायीहरु पनि चिन्तितमा छन्।

images
images

ढोरपाटन- नेपाली लोक संस्कृतिसँग जोडिएको छ मादलको महत्त्व। अझ गीत संगीत पारखीका लागि मादल निकै प्रियकर हुन्छ। मादलबिना हरेक लोकगीत संगीत अपुरो हुन्छन्। नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ।

images
images
images

तिहार पर्व होस् या अन्य मेला महोत्सव गाउँ सहर जताततै मादल घन्किन्छन्। जब मादल बज्छ, तब हरेकको मनमा उमंग भरिन्छ। पछिल्लो समय मादलको प्रयोग घट्दै गएकामा संगीतका पारखी मात्र होइन, मादल बनाउने व्यवसायीहरु पनि चिन्तितमा छन्।

images

यतिबेला गाउँ सहर जताततै तिहारको रौनक छ। पहिला पहिला देउसी भैलो खेल्नेले बजाएको मादलको धुन पर-परसम्म सुनिने गर्दथ्यो तर आजभोलि मादल कम बज्ने गरेका छन्। तिहारमा देउसीभैलो खेल्ने टोलीहरुले एक महिना अगाडि नै मादल किनिसकेका हुन्थे। दैउसी-भैलो खेल्ने सांस्कृतिक टोलीहरूले जोर मादल किन्ने गर्दथे। तर यस वर्ष भने तिहार भित्रिसके पनि मादल बिक्री नहुँदा बागलुङका मादल व्यवसायीहरु चिन्तित बनेका छन्। नेपालको सांस्कृतिक बाजामध्येको मादल विशेषगरी तिहार र विभिन्न चाडपर्वको बेला बजाएर रमाइलो गर्ने नेपालीजनको पहिचान नै हो।

images
images

विगतका वर्षहरुमा यो याममा सयौँ मादल बच्ने व्यवसायी यतिबेला घाम तारेर ग्राहक कुरेर बसिरहेका छन्। तिहारका बेला नाच्दै गाउँदै सांस्कृतिक कार्यक्रम गर्ने समूहले मादल किन्ने गरे पनि पश्चिमा संस्कृति र आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादल व्यवसाय संकटमा पर्न थालेको हो। पछिल्लो समय देउसी भैलो होस् या कुनै कार्यक्रम नयाँ युवा पुस्ताहरु मोबाइल, डेक र ठूला-ठूला स्पिकरमै रमाउँछन्। उहिलेका मादलको तालमा नाचिने नाचहरु पनि लोप भइसकेका छन्। आधुनिक, पप र रिमिक्सका नाममा युवा पुस्तामाझ मादलप्रतिको आकर्षण कम हुँदै गएको छ। 

images
images

एक दशक अगाडिको तिहारको समयमा एउटै पसलबाट पाँच सयको हाराहारीमा मादल बिक्री हुने गर्थे तर यस वर्षको तिहारमा १० वटासम्म पनि बिक्री नभएको यहाँका व्यवसायीहरुको गुनासो छ। बागलुङका विभिन्न ठाउँहरुमा वर्षौँदेखि मादल व्यवसाय गर्ने व्यापारीहरु हिजोआज निकै चिन्तित बनेका छन्। पहिले-पहिले दसैँ तिहारका समयमा गाउँ र सहरबाट मादलको माग निकै हुने गरे पनि अहिले तीन वर्ष अगाडि बनाएका मादल पनि बिक्री नभएको स्थानीय पिरताम्बर दर्जी बताउँछन्।

आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादलको व्यापार घट्नुको साथै परम्परागत बाजा लोप हुन थालेको दर्जीले दुःखेसो पोखे। 'पेसा धरापमा पर्दै गएको छ, रोजीरोट घुम्ने डर भयो, हातमा सीप मात्र भएर के गर्ने? बनाएका सामान बिक्री हुँदैनन्, आधा बढी उमेर यही पेसामा बिताएँ, अब बुढेसकाल पनि लाग्यो, के काम गर्ने, मादल त बसीबसी पनि बनाउन सक्थेँ' उनले भने, ' कुनै बेला पसलमा मान्छेको भीड हुन्थ्यो, मागअनुसारको मादल पुर्‍याउन सक्दैनथे, अहिले कोही आउँदैनन्, दिनभरि पसल खोल्यो, पुराना मादललाई रङ्गरोगन गरेर नयाँ बनायो, तुना खुस्काकाको कस्नेबाहेक अरु केही उपलब्धि छैन।'

विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको छ। बागलुङमा विभिन्न जातजातिका आफ्नै कला, संस्कृति छन्। हरेक चाडबाडका बेला उनीहरुले आफ्नो रीतिरिवाज अनुसारका गीत गाउने, बजाउने र रमाइलो गर्ने प्रचलन छ। 

युवा पुस्ता पलायन र बुढापाकाले प्रयोग गर्न नसक्ने हुँदा मादलको प्रयोग घट्नुका साथै मौलिक संस्कृति पनि लोप हुने अवस्थामा पुगेका छन्। २७ वर्षदेखि मादल व्यवसाय गर्दै आएका दिलबहादुर नेपालीले सरकारले मौलिक संस्कृतिसँगै बाजाहरूको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको गुनासो गरे।

विगतमा तिहारका लागि वर्षभरि मादल बनाउने गर्ने र एक महिनामा बच्ने गरेको स्मरण गर्दै पहिले बनाएका मादल बिक्री नहुँदा आजसम्म पनि गोदाममै थन्किएको सुनाए। उनी मादल व्यवसायको संरक्षण गर्न सरकारले गाउँ-गाउँ विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम समावेश गर्नुपर्ने बताउँछन्। जिल्लाका १० वटै पालिकाले कला संस्कृति संरक्षणका लागि पश्चिमा संस्कतिलाई निरुत्साहन गरे मादल व्यवसाय फस्टाउने र स्थानीय संस्कृतिको जगेर्ना हुने नेपाली बताउँछन्।

आफूले उत्पादन गरेको मादल बागलुङ जिल्लाका विभिन्न स्थानसँग गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, पर्वत, म्याग्दी र बुटवलसम्म पुग्ने गरेको भन्दै अचेल कतैबाट पनि माग नआउने उनले सुनाए। मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै प्रयोग हुने उनको भनाइ छ। मादलको माग घटेसँगै कच्चा पदार्थ पनि पाउन छोडेको नेपालीले बताए। अन्य समयमा भन्दा तिहारमा मादलको व्यापार हुने भए पनि अहिले मादलको व्यापार ९५ प्रतिशतले कमी आएको उनको भनाइ छ। पहिले विदेश जानेहरुले पनि आफू कहाँबाट मादल किनेर लैजाने गरेको उनी सम्झिन्छन्।

'मैले मादल बनाउन थालेको २२/२२ वर्ष भयो, काम सुरु गर्ने बेला धेरैले हेप्थे, छालाको काम गर्छ भन्थे, त्यस्तो भन्दा मन खिन्न हुन्थ्यो, पछिपछि मादल बिक्री भएर पैसा कमाउन थालेपछि जसले जे भने पनि मैले केही मतलब नै राखिनँ, परिवार राम्रोसँग चलेको थियो, छोराछोरी पढाउने, हुर्काउने पनि यहीँबाट भयो, वर्षभरि मादल बनायो, तिहार आउने बेला बेच्ने गरिन्थ्यो,' नेपाली भन्छन्, 'कुनै मेला महोत्सवमा पनि लगेर पनि बिक्री हुन्थ्यो, अहिले जहाँ लगेर राखे पनि बिक्री नै हुँदैन, हातमा भएको सीप बिक्न छोड्यो।'

पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको धेरैको बुझाइ छ। नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै संकटमा परेपछि व्यवसायीहरु पनि पलायन हुने अवस्था आएको छ। अचेल देउसी भैलो खेल्नेले इलेक्ट्रोनिकक्स साउण्ड सिस्टम किन्ने गर्छन्। साउण्ड सिस्टमलाई न्यूनतम पनि पाँच हजार पर्छ। तर मादल दुई हजार पाँच सय रुपैयाँमै पाइन्छ।

मादल सस्तो हुँदा हुँदै पनि देउसी भैलो खेल्नेहरुले स्पिकर र माइक्रोफोन किन्ने गरेका छन्। भैलो खेल्नेले पहिलेको जस्तो मौलिक गीत र नाच नदेखाउने स्थानीय ६७ वर्षीय दलबहादुर घर्ती मगरले बताए।

उनले तिहारमा पुराना मौलिक गीत गाउने, मादल, झ्याली, बजाएर देउसी भैलो खेल्ने गरे पनि अचेल त्यो सबै हराउँदै गएको बताए। आफ्ना पालामा तिहारका बेला सोरठी, मारुनीलगायतका नाचहरु देखाउने गरे पनि अहिलेका युवा पुस्ताले चासो नदिँदा त्यस्ता नाँचहरु हराउँदै गएको उनको भनाइ छ।

सोरठी र मारुनी नाच गीत र मादलकै तालमा नाचिने घर्तीमगर बताउँछन्। आफूहरुको पुस्ताले नाच्न, गाउन र बजाउन नसक्ने भएपछि त्यस्ता मौलिक संस्कृति लोप हुँदै गएको घर्ती मगरको गुनासो छ। स्थानीय सरकारले पुराना कला संस्कृतिलाई संरक्षण गर्न चाहे बुढापाका मिलेर निःशुल्क सिकाउन सक्ने उनी बताउँछन्।

'हाम्रो जिजु बाजेदेखि नै चल्दै आएका रीतिथिति हामीहरुले मनायौँ, उहाँले गाउने गीत, बनाउने, मादल, डम्फु हामीहरुले पनि बजायौँ, हाम्रो पालासम्म पुराना संस्कृतिहरु बँचेका थिए, अहिले हामीहरु नसक्ने भयौँ, बुढेसकाल लाग्यो, हात पाखुरा चल्दैनन्' उनले भने, 'हाम्रो पालामा अहिलेको जस्तो गीत बजाउने, सुन्ने चलन थिएन, उतिबेला त हामी आफै गाउने, बजाउने र मेला महोत्सवमा रमाइलो गर्ने चलन थियो,  रोधी बस्ने पनि गरिन्थ्यो अहिले त यो कहीँ कतै सुनिँदैन, रोधी जस्तै तिहारमा नाच्ने मारुनी र सोरठी पनि लोप भएर जाने भए।'

पछिल्लो समय मादल बिक्री हुन छोडेपछि ‘इलेक्ट्रोनिक्स साउण्ड सिस्टम’को माग बढी रहेको व्यापारीहरु बताउँछन्। ठूला-ठूला मेला महोत्सवका लागि मात्र बिक्री हुने स्पिकर हिजोआज तिहारमा भैलो खेल्नका लागि किनिन्छन्। 

स्पिकरमा रेकर्ड गरेको गीत बजाएर नाच्न सहज हुने हुँदा धेरैले साउण्ड सिस्टम किन्न थालेको बागलुङका मिलन सुवेदीले बताए। उनले यस वर्ष तिहार अगाडि नै ७० वटा साउण्ड सिस्टमका लागि माग आएको हुँदा आफूले काठमाडौंदेखि १०० बढी खरिद गरेर ल्याएको भन्दै त्यसले नपुगेर थप डेढ सय मगाएको बताए। आफ्नो पसलबाट हरेक गाउँ र बजारमा साना ठूला माइक तथा स्पिकरहरु पुग्ने हुँदा आम्दानी पनि राम्रो गर्न सफल भएको उनको भनाइ छ।

आफूले १३ वर्षदेखि घडी, रेडियो, टिभी, मोबाइल लगायतका विद्युतीय सामग्री बिक्री तथा मर्मत गर्दै आएको बताउँदै सुवेदीले तीन वर्षदेखि साउण्ड सिस्टमको माग निकै बढेकाले यसको व्यापारतिर लागेको बताए।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले नयाँ पुस्तालाई मौलिक संस्कृतिको संरक्षणमा आकर्षित गर्न पाठ्यपुस्तकमै स्थानीय स्तरमा रहेका कला, संस्कृति, परम्परालगायतका विषयवस्तु समावेश गरेर पठनपाठन सुरु गरेको बताए। 'हामी सानो हुँदा हाम्रो बुबा, हजुरबुबाहरुले तिहार र मेला महोत्सवको बेला गीत गाएर मादल बजाउँदै नाच्ने गर्नुहुन्थ्यो', अध्यक्ष बुढा मगरले भने, ‘‘कला संस्कृति लोप हुनबाट जोगाउनका लागि अहिलेदेखि नै नयाँ पुस्तालाई आकर्षण गर्ने खालका कामको थालनी गर्दै छौँ।'

पहिले यस क्षेत्रमा रहेका यानीमाया, सुनियाया, झ्याउरेलगायत मादलको तालमा गाइने गीतहरु लोप भएको अध्यक्ष बुढा मगरले बताए। युवा पुस्तालाई मौलिक संस्कृति संरक्षणमा अग्रसर गराउनका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको र कामसमेत भइराखेको उनको भनाइ छ। 


प्रकाशित : मंगलबार, कात्तिक २८ २०८००६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend