काठमाडौं- कोभिड १९ को प्रभावपछि पुनर्उत्थानको चरणमा दबाबमा फसेको नेपालको बाह्य क्षेत्र अब निकै सुविधाजनक अवस्थामा पुगेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बाह्य क्षेत्रका अधिकांश सूचकहरू बलियो देखिएको छन्।
आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा करिब ६ खर्ब २३ अर्बले ऋणात्मक भएको चालुखाता चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ अर्बले बचतमा रहेको छ।
चालुखातामा देखिएको उच्च घाटाले सो आर्थिक वर्ष २ खर्ब ५५ अर्बले ऋणात्मक भएको शोधनान्तर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब १ खर्बले बचतमा रहेको छ।
चालुखाता र शोधनान्तरस्थिति उच्च घाटामा हुँदा आर्थिक वर्ष २०७८/७९ मा नेपालको विदेशी मुद्रा सञ्चिति ९ अर्ब ५४ करोड डलरमा सीमित भएको थियो। उक्त आर्थिक वर्ष नेपालको विदेशी मुद्रा सञ्चिति करिब १८.९ प्रतिशतले घटेको थियो। उक्त सञ्चितिले करिब ६.९ महिनाको वस्तु तथा आयात धान्न पर्याप्त थियो तर चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपालको विदेशी मुद्रा सञ्चितिमा निकै सुविधाजनक अवस्थामा पुगेको छ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकनुसार नेपालसँग १२ अर्ब ३३ करोड डलर विदेशी मुद्रा सञ्चित रहेको छ। गत असार मसान्त यता विदेशी मुद्रा सञ्चिति करिब १ अर्ब २ करोड डलर अर्थात ५.३ प्रतिशतले बढेको छ। नेपालसँग भएको सञ्चितिले १०.३ महिनाको वस्तु तथा सेवाको आयात र १२.४ महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको छ।
चालु आर्थिक वर्षको ३ महिनामा विप्रेषण आप्रवाह(रेमिट्यान्स) हालसम्मकै उच्च भित्रिएकाले बाह्य क्षेत्र सुविधाजनक अवस्थमा पुगेको हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स करिब ३० प्रतिशत र अमेरिकी डलरमा २५ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको यसै अवधिमा १६.८ प्रतिशतले बढेर २ खर्ब ७६ अर्ब रुपैयाँ भित्रिएको थियो। साउनमा १ खर्ब १६ अर्ब, भदौंमा १ खर्ब १२ अर्ब र असोजमा १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यापार घाटाकै हाराहारीमा रेमिट्यान्स भित्रिएकाले पनि विदेशी मुद्रा सञ्चिति सुविधाजनक अवस्थामा पुगेको हो। अर्कोतर्फ नेपालको वस्तु आयातकै हाराहारीमा विप्रेषण आप्रवाह भएको छ। साउनमा १ खर्ब २९ अर्बको आयात र १३ अर्ब ५२ अर्ब रुपैयाँ निर्यात भएकाले ब्यापारघाटा १ खर्ब १५ अर्ब रुपैयाँ रहेको थियो।
भदौ महिनामा १ खर्ब ३० अर्ब ५१ करोड रुपैयाँको वस्तु आयात भएकाले करिब १३ अर्ब रुपैयाँको निर्यात हुँदा १ खर्ब १७ अर्ब रुपैयाँको व्यापार घाटा भएको थियो।
यस्तै असोजमा १ खर्ब ४८ अर्ब रुपैयाँको वस्तु आयात हुँदा करिब १४ अर्ब ४२ करोड रुपैयाँको वस्तु निर्यात भएकाले सो महिना घाटा १ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो। व्यापार घाटाको तुलनामा साउनमा १ अर्ब बढी, भदौंमा ५ अर्ब कम र असोजमा करिब ४ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ।
विगत ३ महिनाको कुल व्यापार घाटाको तुलनामा विप्रेषण आप्रवाह १ अर्बले मात्रै कम रहेको छ। यस अवधिमा नेपालको कुल वस्तु व्यापार घाटा ३ खर्ब ६६ अर्ब रुपैयाँ रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
कुल आयातसँग तुलना गर्ने हो हो भने यस समीक्षा अवधिमा आयातको तुलनामा विप्रेषण करिब ४२ अर्ब ४१ करोडले मात्रै कम रहेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात करिब ५ प्रतिशतले घटेको थियो भने असोज महिनामा आएर आयात करिब १.७ प्रतिशतले आयात बढेको छ।
यस अवधिमा नेपालको बाह्य क्षेत्र मात्रै होइन राजस्व संकलनमा ५ प्रतिशतको बृद्धि देखिएको छ। गत वर्षको यसै अवधिमा सरकारले २ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन गरेकोमा चालु आर्थिक वर्ष २ खर्ब १९ रुपैयाँ संकलन भएको छ। यस्तै समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय १४ प्रतिशतले बढेको छ। गत वर्षको यसै अवधिमा विस्तृत मुद्रा प्रदाय करिब ५.३ प्रतिशतले बढेको थियो।
यस अवधिमा कर्जा प्रवाह पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ५९ अर्ब कर्जा प्रवाह भएकोमा चालु आर्थिक वर्षको यसै अवधिमा १ खर्ब ९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। गत असोजमा विगत २ वर्षयताकै उच्च कर्जा प्रवाह भएको छ।
असोज महिनामा करिब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। यस अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह करिब ४.८ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कर्जा प्रवाह करिब ११.५ प्रतिशत गर्ने लक्ष्य राखिएको छ।
समीक्षा अवधिको १ वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घट्न थालेको छ। यस अविधिमा बैंकहरूको आधार दर अंकल अंकमा झरेको छ। गत आर्थिक वर्षको असोज महिनासम्ममा अन्तरबैंक ब्याजदर ८.८१ प्रतिशत पुगेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा २.२६ प्रतिशतमा पुगेको छ।
गत वर्षको यसै अवधिमा ९१ दिने ट्रेजरी बिलको ब्याजदर १०.१४ प्रतिशत रहेकोमा अहिले ४.९४ प्रतिशतमा झरेको छ। बाणिज्य बैंकहरूको आधारदर गत आर्थिक वर्षको असोज महिनामा १०.३४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९.९४ प्रतिशतमा झरेको छ। गत वर्षको यसै अवधिमा निक्षेपको औषत ब्याजदर ८.१६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ७.९४ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कर्जाको ब्याजदर १२.१९ प्रतिशत कायम भएको छ।
समीक्षा अवधिमा मूल्यबृद्धि भने दबाबमा रहेको छ। सरकारले चालु आर्थिक वर्षको मुद्रास्फिति ७ प्रतिशतमा सिमित राख्ने लक्ष्य राखेकोमा असोज मसान्तसम्म ७.५ प्रतिशत रहेको छ। भदौंमा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत र साउनमा ७.५२ प्रतिशत रहेको थियो।
नेपालको बाह्य क्षेत्र उच्च सुविधाजनक अवस्थमा रहेको र अधिकांश सुचकमा सकारात्मक सुधार देखिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले बताए। शोधनान्तरस्थिति, चालुखाता र विदेशी मुद्रामा उच्च सुधार देखिएकाले आगामी समय नेपाली अर्थतन्त्रका लागि सहज रहेको उनले बताए।
‘चालु आर्थिक वर्ष नेपालको रेमिट्यान्समा ऐतिहासिक बृद्धि हुँदा बाह्य क्षेत्र निकै सुवधाजनक अवस्थामा छ। चालु खाता र भुक्तानी सन्तुलनको बचत रहेकाले विदेशी मुद्राको संञ्चितिको अभाव छैन्। असोज मसान्तसम्ममा सरकारको राजस्व समेत ५ प्रतिशतले बढेको छ। असोजबाट आयात बढ्न थालेको छ। ब्याजदर अंकल अंकमा झरेको छ। बाह्य क्षेत्रमा सुधार देखिएकाले पर्याप्त लगानीयोग्य रकम रहेकाले आगामी समयमा ब्याजदर घट्दै जाने संकेत देखापरेको छ’, उनले भने।
नेपालको बाह्य क्षेत्रमा सुधार भएकाले आगामी समयमा ब्याजदर घटाएर कर्जा प्रवाह बढाउने पर्याप्त स्पेस देखिएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकनुसार बैंक तथा वित्तीय संस्थाहरूसँग करिब ५ खर्ब १४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात ८१.३१ प्रतिशत रहेको छ। गत असोज महिनामा बैंक तथा वित्तीय संस्थाहरूको नाफा करिब २८ प्रतिशतले घटेकाले बैंकहरू कर्जा प्रवाह बढाउने दबाबमा छन्।
कर्जा प्रवाह बढाएर खराव कर्जा घटाउँदै नाफा बढाउने प्रयत्नका कारण आगामी समयमा बैंकहरूको ब्याजदर घट्ने देखिएको छ। जसको संकेत कार्तिकको ब्याजदरबाट बैंकहरूले दिइसकेका छन्। कार्तिकमा निक्षेपको ब्याजदर घटाएकाले मंसिर महिनाबाटै कर्जाको ब्याजदर घट्ने देखिएको छ। नेपाल बैंकर्स संघले पनि आगामी समयमा ब्याजदर घट्ने संकेत गरिसकेको छ।