शनिबार, साउन १२ गते २०८१    
images
images
images

६ वर्षदेखि तेजपातको उही मूल्य, निराश छन् किसान

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर ८ २०७८
images
images
६ वर्षदेखि तेजपातको उही मूल्य, निराश छन् किसान
images

उदयपुर- जिल्लामा लामो समयदेखि व्यावसायिकरूपमा तेजपात (सिन्कौली) खेती गर्दै आएका किसानले उत्पादन गरेको तेजपात बिक्री गर्ने सिजन सुरु भएर बिक्री हुन थाले पनि मूल्यवृद्धि नहुँदा किसान निराश बन्न थालेका छन्।

images
images

जिल्लामा लामो समयदेखि तेजपात उत्पादन गर्दै आएका किसानले पाँच/छ वर्षदेखि अहिलेसम्म पनि पुरानै बजार मूल्यमा तेजपात बिक्री गर्नु परेका कारण आफूहरूले घाटा सहेर भए पनि बाध्य भई तेजपात बिक्री गरेको गुनासो किसानको छ।

images

तेजपात खरिदकर्ता तथा व्यापारीले अहिले पनि विगत वर्षकै बजार भाउमा नै तेजपात खरिद गर्ने गरेको र उनीहरूले समयअनुसारको मूल्यवृद्धि गर्न नमान्दा पुरानै मूल्यमै तेजपात बिक्री गर्नुपरेका कारण आफूहरूले वर्षेनी ठूलो घाटा व्यहोर्नुपरेको रौता मुर्कुचीका देवराज मगरको गुनासो छ।

मगर भन्छन्, 'विसं २०७० मा नै आफूहरूले उत्पादन गरेको तेजपात प्रतिकिलो ३० देखि ५० रुपैयाँका दरले बिक्री गरेका हौँ, सात वर्षपछि पनि उही मूल्य छ, व्यापारी तथा खरिदकर्ता मूल्यवृद्धि गर्न मान्दैनन्, यस वर्ष पनि तेजपात बिक्री हुने बेला सुरु भयो, तर मूल्यवृद्धि हुने अवस्था छैन।' 

images

उदयपुरगढी डुम्रेका तेजपात उत्पादक किसान भक्तबहादुर घलेमगरले तेजपात खरिदकर्ता तथा जिल्लाका बिचौलिया व्यापारीका कारण आफूहरुले अहिलेसम्म सही मूल्य पाउन नसकेको बताए। उनले भने, 'हामीबाट ३० देखि ५० रुपैयाँ प्रतिकिलो खरिद गरी विराटनगर, वीरगञ्जका व्यापारीलाई ७०/८० रुपैयाँ प्रतिकिलो बिक्री गर्दछन्, वीरगञ्ज, विराटनगरका व्यापारीले भारतीय व्यापारीलाई १५० देखि २०० रुपैयाँसम्म प्रतिकिलो बिक्री गर्ने गरेका छन्, हामी ठगिँदै आएका छौँ।'

समयानुसार तेजपात खरिदकर्ताले मूल्यवृद्धि गर्न नमान्ने र उनीहरुले किसानबाट सस्तोमा तेजपात खरिद गरेर अन्यत्र बजारमा दोब्बर मूल्यमा बिक्री गर्ने गरेको समेत किसानको आरोप छ। जिल्लाका तेजपात व्यापारी तथा खरिदकर्ता बिचौलिया बनेर मूल्यवृद्धिमा बाधक बनेका कारण आफूहरूले लामो समयदेखि तेजपातको उचित मूल्य पाउन नसक्दा अन्यायमा पर्दै र तेजपात उत्पादक किसानको पक्षमा अहिलेसम्म पनि जिल्लाका अधिकांश जनप्रतिनिधि, स्थानीय सरकारसहित, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि कसैले पनि यसतर्फ वास्ता नगरेका कारण आफूहरुको गुनासो र आवाज सुनुवाइ नभएको सम्बद्ध किसानको गुनासो छ।

रौता बोलुङखाका देवेन्द्र खपाङ्गी मगर भन्छन्, 'सबै व्यापारी मिलेर तेजपातको मूल्य बढाउन मान्दैनन्, हामी किसानले मूल्यवृद्धि गर्‍यौँ भने उनीहरु तेजपात खरिद गर्नै आउँदैनन्, अनि अन्त्यमा बाध्य भएर पुरानै मूल्यमा बिक्री गर्नुपर्ने बाध्य हुन्छ, सबै तेजपातका व्यापारी तथा खरिदकर्ता एकमुख भएर लाग्छन्।'

यसपटक हिउँद लागेसँगै तेजपात बिक्रीको समय सुरु भएको र कारोबार सुरु भए पनि मूल्य भने पुरानै रहेका कारण किसान मारमा परेको त्रियुगा नगरपालिका-१५ खाँबु हुबासका किसानको गुनासो छ। जिल्ला वन कार्यालय उदयपुरका अनुसार अहिले उदयपुरमा चार पहाडी गाउँपालिकामा किसानले व्यावसायिक तेजपात उत्पादन गर्दै आएका छन्। वार्षिक छ करोडदेखि आठ करोड रुपैयाँभन्दा बढीको तेजपात उदयपुरमा उत्पादन हुने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साह बताउँछन्।

तेजपात उत्पादन हुने गाउँपालिकामा रौतामाई, ताप्ली, उदयपुरगढी, लिम्चुङबुङ छन्। यता त्रियुगा नगरपालिकाको साउने, खाँबु, चौदण्डीगढी नगरपालिकाको सिद्धीपुर चौदण्डी, बेलका नगरपालिकाको मैनामैनी, बबला र कटारी नगरपालिकाको सिरिसे, हर्देनी, मयङखु, बेतिनीलगायत क्षेत्र छन्। सिरिसे, हर्देनी, मयङखु क्षेत्रमा उत्पादन हुने तेजपातको बिक्री केन्द्र जिल्लाको कटारी बजार हो भने तावाश्री, डुम्रे, रौता, साउने, भुटार, पोखरी खाँबु र आँपटारको बिक्री केन्द्र गाईघाट बजार रहेको तेजपात उत्पादक किसान बताउँछन्।

यस्तै सिद्धीपुर, चौदण्डी र कटुन्जेबबला क्षेत्रको उत्पादित तेजपातको बिक्री केन्द्र बेल्टार बजार रहेको छ। जिल्लाबाट बाहिर पैठारी गरेपछि तेजपातको मूल्य ८० देखि १०० प्रतिकिलो र भारतमा २०० रुपैयाँ प्रतिकिलोमा खरिदकर्ताले बिक्री गर्ने गरेको तेजपात उत्पादक किसान बताउँछन्।

अहिले उदयपुरमा तेजपात उत्पादन गर्ने किसान तर मूल्य निर्धारण गर्ने अन्य खरिदकर्ता व्यापारी भएका कारण किसानले उत्पादन गरेका तेजपात समयानुसारको सही मूल्य नपाएको तेजपात उत्पादक किसानको गुनासो छ। यस वर्ष पनि हिउँद लागेसँगै तेजपातको कारोबार सुरु हुन थालेको कारण सम्बन्धित निकायले तेजपातको मूल्यको सहीरूपमा निर्धारण गरेर तेजपात उत्पादक किसानलाई न्याय दिनुपर्ने जिल्लाका तेजपात उत्पादक किसानले माग गरेका छन्। रासस


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०५:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend