काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न एसियाली बैंकहरूलाई आग्रह गरेका छन्। जलवायुको असर न्यूनीकरण गर्न नेपालले ऊर्जामा लगानी बढाउने नीति लिइरहेकाले नेपालमा लगानी उपयुक्त हुने यस क्षेत्रका बैंकहरूलाई अर्थमन्त्री महतले बताएका छन्।
नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको र भारत तथा बंगलादेशमा विद्युत उच्च माग रहेकाले यस क्षेत्रमा लगानी बढाउन उनले आग्रह गरेका हुन्। भारतसँग १० हजार जलविद्युत बिक्रीका लागि सम्झौता भइसकेको भन्दै थप आयोजनाहरू निर्माण गर्न नेपाली लगानी मात्रै अपुग हुने भन्दै उनले यस क्षेत्रमा लगानी गर्न एसिया प्रशान्तका बैंकर्ससँग आग्रह गरेका छन्।
काठमाडौंस्थित सोल्टी होटलमा आयोजना भइरहेको एसियाली बैंकर्स एसोसियसन(एबीए) ३९ वार्षिक सम्मेलन उद्धघाटनका क्रममा अर्थमन्त्री डा.महतले सो कुरा बताएका हुन्।
पछिल्लो समय नेपाल जलविद्युत क्षेत्रमा विश्व बैंक र एसियाली विकास बैंकले लगानी गरिरहेकाले एसियाका बैंकहरूले पनि जलविद्युत परियोजनामा लगानी गर्न सक्ने अवसर रहेको उनले बताएका छन्।
उनले सो अवसरमा नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रको तुलनामा सक्षम रहेको बताएका थिए। २०१९ मा आएको महामारी कोभिड १९, रसिया युक्रे युद्ध र पछिल्लो समय इजरायल हमासबीचको युद्धका कारण विश्व अर्थतन्त्रमा आपुर्ति प्रणाली अवरुद्ध हुँदा नेपालको अर्थतन्त्रमा पनि प्रत्यक्ष असर परेको अर्थमन्त्री महतले बताएका थिए।
विश्व अर्थतन्त्रमा देखिएको मूल्यबृद्धिको असर नेपाली अर्थतन्त्रमा पनि परेको उनले बताए। जसले शोधनान्तरस्थितिमा दबाब पर्दा तरलता अभाव भइ र ब्याजदर बृद्धि हुँदा नेपालको निजी क्षेत्रको गतिविधि संकुचित भएको अर्थमन्त्रीले बताए।
यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बाह्य क्षेत्र सन्तुलित रहेको बताए। कोभिड २९ र अन्तर्राष्ट्रियस्तरमा देखिएको द्धन्दका कारण नेपालको व्यापार चक्र प्रभावित हुँदाको असर अहिले बैंकिङ प्रणालीमा देखिरहेको उनले बताए।
उच्च ब्याजदर र न्युन कर्जा प्रवाह हुँदा व्यवसायिक गतिवधिमा आएको कमीले नेपालका बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको महाप्रसाद अधिकारीले बताए।
यस्तै उक्त सम्मेलनमा वोल्दै एसियन बैंक एसोसियसन (एबीए) का अध्यक्ष युजेन एसेभेडोले विश्व अर्थतन्त्रमा माग बढेर भन्दा पनि आपूर्ति श्रृङखला प्रभावित भएकाले मूल्यबृद्धि बढेको बताएका थिए। अमेरिका लगायतका युरोपका अन्य मुलुकहरू समेत पछिल्लो समय ब्याजदर घटाउने नीति लिनथालेका मूल्यवृद्धि घट्दै जाने उनले विश्वास व्यक्त गरे।