शनिबार, साउन १२ गते २०८१    
images
images
images

विशाल समूहले सिनोगोल्ड र दुगड समूहले गेटोर ब्रान्डका विद्युतीय कार ल्याउँदै

images
बुधबार, कात्तिक २२ २०८०
images
images
विशाल समूहले सिनोगोल्ड र दुगड समूहले गेटोर ब्रान्डका विद्युतीय कार ल्याउँदै

यसअघि जापानी ब्रान्ड निसान बिक्री गर्दै आएको दुगड समूहले उक्त ब्रान्डको आधिकारिक बिक्रेता गुमाएको थियो।

images

काठमाडौं- नेपाली बजारमा चिनियाँ ब्रान्ड वर्षाको खहरेझैँ उर्लीएर आइरहेका छन्। यस्तैमा थप नयाँ दुई ब्रान्डका विद्युतीय कार आउने तय भएको छ। यी दुई ब्रान्ड दुई प्रतिष्ठित व्यावसायिक घरानाले ल्याउन लागेका हुन्। 

images
images

विशाल समूह सवारी ब्रान्ड नेपाल ल्याउनमा निकै आक्रामक छ। समूहले नयाँ ब्रान्ड सिनोगाल्डका विद्युतीय कार ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको छ। त्यस्तै दुगड समूहले चेरी ब्रान्ड अन्तर्गतको सवब्रान्ड गेटोरका विद्युतीय कार नेपाली बजारमा ल्याउने तय भएको हो। 

images

यसअघि जापानी ब्रान्ड निसान बिक्री गर्दै आएको दुगड समूहले उक्त ब्रान्डको आधिकारिक बिक्रेता गुमाएको थियो। त्यस्तै दुगडले दुईपांग्रे सवारी ब्रान्ड रोयल इनफिल्ड र भेस्पा अप्रिलियासमेत गुमाइसकेको छ।

प्रिमियम सेगमेन्टमा राम्रो बजार हिस्सा बनाउन सफल रोयल इनफिल्ड ब्रान्ड त्रिवेणी समूहले दुगडबाट खोसेको हो। चर्चित र विश्वसनीय ब्रान्ड क्रमिक रुपमा गुमाउँदै गएको दुगड समूह दुईपांग्रेदेखि चारपांग्रेसम्म विद्युतीयतर्फ आकर्षित भएको हो। 

images

रोयल इनफिल्ड गुमाएको केही समयपछि दुगडले इन्डोनेसियाको गेसिस ब्रान्डको विद्युतीय स्कुटर ल्याएको थियो। त्यसपछि कम्पनीले चिनियाँ चारपांग्रे ब्रान्ड गेटोरका विद्युतीय एसयूभी नेपाल ल्याउन सम्झौता गरेको हो। गेटोर र दुगड समूहबीच केही महिनाअघि नै सम्झौता भएको थियो। बजारको अवस्था सामान्य नभएको र तयारीको काम भइरहेकाले अबको केही महिनामा गेटोरका विद्युतीय कार आउने छन्। 

त्यस्तै विशाल समूहले म्याक्ससलगायत केही चिनियाँ ब्रान्डका सवारी बिक्री गर्दै आएको छ। अब उक्त समूहले सिनोगोल्डका विद्युतीय कार नेपाल भित्र्याउने भएको छ। करिब एक दर्जन आईसी इन्जिनयुक्त सवारी ब्रान्ड भित्र्याएको विशाल समूह अब भने विद्युतीय ब्रान्डतर्फ आकर्षित भएको छ। समूहले नयाँ नयाँ ब्रान्डका विद्युतीय सवारी भित्र्याउन कसरत गरिरहेको छ।  

गेटोर ब्रान्ड (दुगड समूह)

jetour.PNG

गेटोर ब्रान्ड २०१८ मा स्थापना भएको ब्रान्ड हो। यो ब्रान्ड चीनको चेरी समूहको सवब्रान्डका रुपमा स्थापना भएको थियो। चेरी कमर्सियल भेहिकल अन्तर्गत सञ्चालित यो बजेट ब्रान्ड नेममा विद्युतीय क्रसओभर र एसयूभी उत्पादन हुँदै आएको छ। 

गेटोर ब्रान्डका ५, ६ र ७ सिट क्षमताका क्रसओभर र एसयूभी उत्पादन हुने गरेको छ। गेटोर ब्रान्डका आईसी इन्जिनयुक्त, पूर्णविद्युतीय र प्लगइन हाइब्रिड कार उत्पादन भइरहेको छ। दुगड समूहले गेटोर ब्रान्डका विद्युतीय एसयूभी नेपाली बजारमा ल्याउने छ। 

गेटोरले २०१८ को बेइजिङ अटो शोमा पहिलो विद्युतीय कन्सेप्ट कार सार्वजनिक गरेको थियो। दुगडले नेपाली बजारमा पहिलो चरणमा गेटोर एक्स७० एक्स ईभी ल्याउने छ।  

सिनोगोल्ड ब्रान्ड (विशाल समूह)

sinogold.jpg

सिनोगोल्ड चिनियाँ अटोमोबाइल उत्पादन कम्पनी हो, जसको केन्द्रीय कार्यालय शानडोङमा रहेको छ। यो कम्पनी विशेषगरि विद्युतीय सवारी उत्पादन गर्नेगरि स्थापना भएको हो। २०१६ मा स्थापना भएको सिनोगोल्ड एमपीभी, कम्प्याक्ट सेडान र मिडसाइज क्रसओभर एसयूभी सेगमेन्टका विद्युतीय कार उत्पादन गर्दै आएको छ। 

विशाल समूहले सुरुवाती चरणमा क्रसओभर एसयूभी सेगमेन्टको विद्युतीय कार ल्याउने तयारी गरेको छ। त्यस्तै गरि समूहले ट्याक्सी सेगमेन्टका लागि लक्षित गरेर कम्प्यान्ट सेडान विद्युतीय कार समेत ल्याउन सक्नेछ। 


प्रकाशित : बुधबार, कात्तिक २२ २०८००१:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend