काठमाडौं- एक तिहाइ बढी घरपरिवार अझै बैंकिङ पहुँचबाहिर रहेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयको घरपरिवार सर्वेक्षण तथ्यांकअनुसार कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये ३८.१० प्रतिशत परिवार बैंकिङ पहुँचबाहिर रहेको देखिएको छ।
राष्ट्रिय जनगणनाअन्तर्गतको घरपरिवार सर्वेक्षण तथ्यांकअनुसार कुल परिवारमा ४१ लाख २२ हजार ६ सय ९० परिवार अर्थात् ६१.८९ प्रतिशत बैंकिङ पहुँचमा रहेको पाइएको छ।
६१.८९ प्रतिशत परिवारबाट कम्तिमा एकजना सदस्यको बैंकमा खाता रहेको पाइएको छ। यसमा सहकारीको तथ्यांक भने समावेश गरिएको छैन।
व्यक्तिगततर्फ भने २५.५६ प्रतिशत जनसंख्यामात्र बैंकिङ पहुँचमा छन्। अर्थात् २ करोड ९१ लाख ६४ हजार जनसंख्यामध्ये ७४ लाख ९ हजार १ सय ८१ जनाको कम्तिमा एउटा खाता रहेको छ। यो तथ्यांक पनि सहकारीबाहेकको हो।
यसमा २६ प्रतिशत पुरुष र २४ प्रतिशत महिलाको बैंकिङ पहुँच रहेको छ।
बैंकिङ पहुँचभन्दा पनि ऋण लिनेको संख्या अझ न्यून रहेको तथ्यांकबाट देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयको विवरणअनुसार २५.५९ परिवारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन्। सबैभन्दा धेरै मधेस प्रदेशमा ऋण लिनेको संख्या उच्च रहेको छ।
राष्ट्रिय जनगणनाको तथ्यांकबाट न्यून बैंकिङ पहुँच देखिए पनि राष्ट्र बैंकको तथ्यांकबाट भने खाता संख्या उच्च देखिएको छ। गएको असारसम्मको तथ्यांकअनुसार ५ करोड ११ लाख ७७ हजार ९ सय २३ खाता पुगेका छन्।
संघीयता कार्यान्वयनपछि प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नीति आएपछि अहिले शाखा पहुँच विस्तार भएको छ। गएको भदौसम्म १ सय १२ वटा बैंक तथा वित्तीय संस्था रहेका छन्। भदौसम्म ११ हजार ५ सय ६७ वटा शाखा पुगेका छन्।
शाखा विस्तार भएर स्थानीय तहमा पहुँच बढे पनि घरपरिवारमा भने पहुँच बढेको छैन।
अन्य सूचकमा कस्तो छ घरपरिवारको पहुँच?
पछिल्लो दश वर्षमा ऊर्जाका बारेमा नेपालमा धेरै बहस तथा छलफल भएको छ। स्वच्छ ऊर्जाको अधिक स्रोत भएर पनि नेपाल लामो समयदेखि अन्धकारमा थियो। यस्तो अन्धकारका बारेमा राम्रै बहस पनि भयो तर यही गएको दशकमा ऊर्जामा केही सकारात्मक काम पनि भए। मुलुक लोडसेडिङ मुक्त भएको यही अवधिमा ऊर्जाका विविध काममध्ये एउटा प्रकाश हो। उज्यालोका लागि बिजुलीको पहुँच व्यापक विस्तार भएको छ।
२०६८ सालमा कुल घरपरिवारमध्ये ६७ प्रतिशतले मात्र उज्यालोका लागि बिजुली उपयोग गर्न पाएका थिए। जुन पछिल्लो दश वर्षमा विस्तार भएर ९२ प्रतिशत घरपरिवारमा पुगेको छ।
यो बीचमा मट्टीतेलको उपयोग उज्यालोका लागि उपयोग हुने क्रम तीव्ररुपमा घटेको छ। अर्थात् १० वर्षमा १८ प्रतिशत घरपरिवारको उज्यालोको स्रोत रहेको मट्टीतेल घटेर ०.६ प्रतिशतमा सीमित भएको छ।
ऊर्जाको अर्को प्रयोग भन्सा हो। खाना पकाउनका लागि उपयोग हुने ऊर्जाको स्रोतमा व्यापक उलटपुलट त भएको छैन तर पनि केही सकारात्मक संकेत देखिएका छन्।
विशेषगरि दाउराको उपयोग यो अवधिमा घटेको छ। वातावरणीय क्षतिको मुख्य कारण मानिने दाउराको उपयोग यो अवधिमा घटेको हो। अर्थात् २०६८ सालमा ६४ प्रतिशत परिवारले दाउरा उपयोग गर्थे भने २०७८ मा घटेर ५१ प्रतिशतमा झरेको छ।
यो अवधिमा ग्यासको उपयोग २१ प्रतिशतबाट बढेर ४४ प्रतिशत पुगेको छ। त्यस्तै गुँइठाको उपयोग घटेको छ। सबैभन्दा आशावादी तथ्यांक भनेको यो दशकमा बिजुलीको उपयोग देखिन थालेको छ।
ऊर्जाका स्रोतको खपतका दृष्टिले एउटा तथ्यांक रोचक देखिन्छ। घरबाट मट्टीतेल लगभग विस्थापित हुने चरणमा पुगेको छ। खाना पकाउने तथा उज्यालोको स्रोतका रुपमा घरमा प्रयोग हुने मट्टीतेल अहिले लोपोन्मुख अवस्थामा पुगेको छ।
खानेपानी तथा सरसफाइका क्षेत्रमा पनि पहुँच विस्तार लोभलाग्दो छ। विशेषगरि शौचालयको पहुँच विस्तारमा उल्लेखनीय प्रगति भएको छ। २०६८ सालमा नेपालमा ३८ प्रतिशत परिवारमात्र शौचालयको पहुँचमा थिए। जब कि २०७८ सालमा बढेर ९५ प्रतिशत पुगेको छ।
सूचना प्रविधिका क्षेत्रमा अर्को रुपान्तरण भएको छ। धेरै भौतिक सुविधा नागरिकले महसुस गर्ने खालको नभएपनि सूचना प्रविधिमा पहुँच व्यापक विस्तार भएको छ।
त्यस्तै वित्तीय उपकरणमा पनि जनताको पहुँच वृद्धि भएको छ।
गएको दशकमा सूचना प्रविधि तथा सञ्चारको क्षेत्रमा एउटा नकारात्मक सूचक पनि रहेको छ त्यो हो रेडियोको पहुँच। गएको दशकमा रेडियोको पहुँच घटेको छ। २०६८ सालमा हरेक २ मा एउटा घरमा रेडियो थियो अर्थात् ५० प्रतिशत घरपरिवारमा रेडियो थियो। २०७८ मा आउँदा घटेर ३४ प्रतिशतमा सीमित भएको छ।
कम्तिमा एउटा कम्प्युटर अथवा ल्यापटप हुने परिवार १५ प्रतिशत पुगेका छन्। २०६८ सालमा जम्मा ७ प्रतिशत थिए।
त्यस्तै टीभी हुने घर ४९ प्रतिशत पुगेका छन् जुन २०६८ मा ३६ प्रतिशत थियो। इन्टरनेटको पहुँचमा व्यापक विस्तार भएको छ। २०६८ सालमा ३ प्रतिशत घरपरिवारमात्र इन्टरनेटको पहुँचमा थिए २०७८ मा त्यो बढेर ३७ प्रतिशत पुगेको छ।
कम्तिमा एउटा मोटरसाइकल हुने घरको संख्यामा पनि वृद्धि भएको छ। २०६८ सालमा न्यूनतम एउटा मोटरसाइकल हुने ९ प्रतिशत घरपरिवार थिए भने २०७८ सालमा पुग्दा यस्ता घर २७ प्रतिशत पुगेका छन्। त्यस्तै रेफ्रिजेरेटर हुने घरको संख्या १० वर्षमा ७ बाट २३ प्रतिशत पुगेको छ।
तर यस्ता अधिकांश सूचक सहरकेन्द्रित रहेका छन्। सहरका घरपरिवारमा यस्ता पहुँचको विस्तार भएपनि ग्रामीण क्षेत्रमा भने न्यून रहेको छ।