आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नाफा घटेपछि ब्याजदर घटाउने मनोवैज्ञानिक दबाबमा बैंकर्स, भन्छन्- अब ब्याजदर घट्दै जान्छ

सोमबार, कात्तिक २० २०८०
नाफा घटेपछि ब्याजदर घटाउने मनोवैज्ञानिक दबाबमा बैंकर्स, भन्छन्- अब ब्याजदर घट्दै जान्छ

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले पहिलो त्रैमासमा कर्जाको माग नभएकाले बैंकको नाफा घटेको र आगामी समयमा ब्याजदर घट्ने बताए।

काठमाडौं- उच्च ब्याजदरका कारण विगत एक वर्षयता कर्जा प्रवाह बढ्न नसकेपछि बैंकर्स ब्याजदर घटाउने मनोवैज्ञानिक दबाबमा परेका छन्। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा करिब २८ प्रतिशतले घटेकोले आगामी महिनाहरूबाट ब्याजदर घट्दै जाने संकेत बैंकर्सले गरेका छन्। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी बढ्न नसकेकोले र बैंकहरूको खराब कर्जा बढेकाले 'लोन लस प्रोभिजनिङ' बापत १६ अर्ब रुपैयाँ छुट्याएकाले बैंकको नाफा घटेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन्। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको यस्तो प्रोभिजन ७ अर्ब रुपैयाँ मात्रै रहेको उनले बताए।

'चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लोन लस प्रोभिजनका कारण बैंकहरूको नाफा घटेको हो। यस अवधिमा निक्षेप पनि खासै बढ्न सकेन। १ खर्ब २० अर्बले निक्षेप बढ्नु खासै ठूलो कुरा होइन। निजी क्षेत्रको व्यापार व्यवसाय संकुचित हुँदा बैंकहरूको नाफा घट्यो। जसले गर्दा बैंकहरूको यस अवधिमा खराब कर्जा ३.६१ प्रतिशत पुगेको छ। दक्षिण एसियाली देश हेर्दा ठीकै देखिए पनि हामीले सजगता अपनाउनुपर्ने समय आयो', अध्यक्ष केसीले भने।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले पहिलो त्रैमासमा कर्जाको माग नभएकाले बैंकको नाफा घटेको र आगामी समयमा ब्याजदर घट्ने बताए।

विश्वका अन्य देशका तुलनामा नेपालमा अहिले पनि ब्याजदर कम रहेको उनको भनाइ छ। राष्ट्र बैंकको व्यवस्था बमोजिम ४ प्रतिशत निक्षेप र कर्जाको ब्याजबीचको अन्तर (स्प्रेड दर) कायम गर्नुपर्ने र कात्तिकदेखि निक्षेपको ब्याजदर घटेकाले भविष्यमा कर्जाको ब्याजदर घट्दै जाने उनले बताए। 

'दक्षिण एशियाली देशसँग तुलना गर्दा हाम्रो देशमा ब्याजदर अझै कम छ, पछिल्लो समय ब्याजदर घट्दै पनि गइरहेको छ। कर्जाको माग नहुँदा बैंकहरूले आधार दर र प्रिमियम घटाउँदै लगेका छन्। राष्ट्र बैंकले गरेको ४ प्रतिशतको स्प्रेड दर लगायतका कारण पनि बैंकहरूको ब्याजदर क्रमश: घट्दै जाने देखिन्छ',राणाले भने।


प्रकाशित : सोमबार, कात्तिक २० २०८०११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend