शुक्रबार, जेठ ४ गते २०८१    
images
images

निगम अध्यक्ष अधिकारीकै सेटिङमा दुई करोड ह्याक भएको आशंका, गल्ती गर्नेलाई कारबाही नगरी तालाचाबी जिम्मा

images
सोमबार, कात्तिक २० २०८०
images
images
निगम अध्यक्ष अधिकारीकै सेटिङमा दुई करोड ह्याक भएको आशंका, गल्ती गर्नेलाई कारबाही नगरी तालाचाबी जिम्मा

पहिलो किस्ताबापतको रकम हालेपछि पनि स्टेसन प्रमुख सुवेदीले क्याटरिङ कम्पनीसँग रकम हालेर पाए/नपाएको कुनै चेकजाँच नगरी ३ किस्तासम्म गरी रकम हालेको पुष्टि भएको हो। 

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमको करिब दुई करोड रुपैयाँ ह्याकमा अध्यक्ष युवराज अधिकारीकै सेटिङ रहेको देखिएको छ। दुबई स्टेसनमा कार्यरत कर्मचारीको लापरबाहीले १ करोड ९२ लाख रुपैयाँ अनधिकृत खातामा गएपनि अधिकारीले दोषीलाई कुनै कारबाही नगरेपछि रकम ह्याक नभइ सेटिङमा हिनामिना गर्न खोजिएको निगमकै कर्मचारीहरू बताउँछन्।

images
images
images

'अगष्ट १, ९ र २५ तारिखमा गरी तीन किस्तामा रकम स्टेसन प्रमुख अस्मिता सुवेदीको लापरबाहीका कारण अनधिकृत खातामा ट्रान्सफर भएको थियो। रकम गएको तीन महिना भइसकेको छ। लापरबाही गर्ने कर्मचारीलाई नै अहिले पनि सोही जिम्मेवारीमा राखिएको छ,' निगम स्रोतले भन्यो, 'लापरबाही गर्ने कर्मचारीलाई सामान्य कारबाही नगरी सोही जिम्मेवारीमा राखेपछि रकम ह्याक नभइ सेटिङमा हिनामिना भएको आशंका उत्पन्न भएको छ।'

images

दुई करोड रुपैयाँ गुमेको जानकारी भएको पनि दुई महिना भइसकेको छ तर अधिकारीले दुबई स्टेसनमा रहेका तीन जना कर्मचारीलाई कुनै पनि कारबाही गरेका छैनन्। रकम हिनामिना गर्ने कर्मचारीलाई नै स्टेसनको तालाचाबी बुझाएर बसेका छन्। 

images
images

निगमभित्रै कारबाही नभएको विषय उठान हुन थालेपछि अधिकारीले आन्तरिक छानबीन समितिको रिपोर्ट  पर्याप्त नभएको कारण कारबाही गर्न नसकेको भन्दै पन्छिएका छन्। तर उनले स्टेसन प्रमुखलाई कारबाही नगर्नुको कारण भने उनी सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको भतिजी हुनुसँग सम्बन्धित छ।

images
images

उनै न्यायाधीश सुवेदीको बेन्चबाट अधिकारीले पद जोगाउन अन्तरिम आदेश लिएका थिए। कात्तिक २० गते अधिकारीको निलम्बन भएको विषयमा अन्तिम फैसलाको लागि पेसी तोकिएको छ। अधिकारीले सोही फैसलामा प्रभाव पर्ने भन्दै लापरबाही गर्ने कर्मचारीलाई कुनै कारबाही गरेका छैनन्। 

छानबीन समितिले अधिकारीलाई रिपोर्ट बुझाएको पनि एक साताभन्दा बढी भइसकेको छ तर अधिकारीले कुनै कारबाही प्रक्रिया सुरु गरेका छैनन्। छानबीन समितिका एक सदस्यका अनुसार ह्याक भएको रकम आउने सम्भावना अति नै न्यून रहेको भन्दै रिपोर्ट बुझाइएको छ।

'रकम ह्याकमा सहभागी कर्मचारीलाई किन अहिले पनि त्यही जिम्मेवारी दिएको हो? दुई करोड रुपैयाँ कुनै कर्मचारको लापरबाहीकै कारण अनाधिकृत खातामा जान्छ तर किन उसलाई सामान्य कारबाही समेत हुँदैन? के ती कर्मचारी पठाउँदाको सेटिङ भत्कने डरमा कारबाही नभएको हो? भनेर प्रश्न सोध्दा अधिकारी नजावफ छन्,' ती सञ्चालकले भने।

अधिकारीको काम गराइको प्रवृति हेर्दा रकम ह्याक नभइ सेटिङमा हिनामिना गर्न ह्याक भएको नाटक भएको शंका उत्पन्न भएको छ। रकम ह्याक भएको विषय अधिकारीले अहिलेसम्म सञ्चालक समितिमा समेत पेस गरेका छैनन्। कर्मचारीलाई किन कारबाही नगरेको भन्ने बिषयमा केही प्राविधिक समस्या रहेको भन्दै अधिकारीले टार्ने गरेको ती सञ्चालकले बताए।

'सामान्यता कुनै कर्मचारीले संस्थालाई हानी गर्ने गरी कुनै काम गरेको अवस्थामा तत्काल उक्त जिम्मेवारीबाट हटाएर आन्तरिक छानबीन गरेर सोही अनुसार कारबाही गर्नुपर्ने हो। तर तीन महिना हुँदासम्म लापरबाही गर्ने कर्मचारीलाई नै सोही जिम्मेवारीमा राख्नुको पछाडि केही न केही शंका उत्पन्न भएको छ,' एक सञ्चालकले भने।

तीन किस्तामा गरी करोड ह्याक

नेपाल वायुसेवा निगमका कर्मचारीले ठगीका सामान्य विषयसमेत नबुझ्दा निगमको दुई करोड रूपैयाँ ह्याकरले लिएको पुष्टि भएको थियो। निगमको दुबई स्टेसनका कर्मचारीको लापरबाहीका कारण ह्याकरले करिब दुई करोड रूपैयाँ लगेको हो। 

ह्याकरले निमगको दुबई स्टेसनको इमेल आईडी ह्याक गरी क्याटरिङ कम्पनीको खाता नम्बर परिवर्तन भएको र यो खाता नम्बरमा रकम हाल्न भन्दै रकम ठगी गरेको हो। ह्याकरको खातामा दुबई स्टेसन प्रमुख अस्मिता सुवेदीले ३ पटकसम्म गरी दुई करोड रकम हालेकी हुन्। 

पहिलो किस्ताबापतको रकम हालेपछि पनि स्टेसन प्रमुख सुवेदीले क्याटरिङ कम्पनीसँग रकम हालेर पाए/नपाएको कुनै चेकजाँच नगरी ३ किस्तासम्म गरी रकम हालेको पुष्टि भएको हो। 

सुवेदीले अगस्ट १ मा १ लाख १५ हजार १ सय ५३ दुबई दिराम, अगस्ट ९ मा २ लाख २० हजार ६ सय २ दिराम र अगस्ट २५ मा २ लाख १ सय दिराम गरी तीन किस्तामा कुल ५ लाख ३५ हजार ९ सय १२ दिराम ह्याकरको खातामा रकम हालेकी  प्रमाणित भएको छ। प्रति १ दिराम बराबर ३६ रूपैयाँको हिसाबमा १ करोड ९२ लाख ९२ हजार रूपैयाँ ह्याक भएको हो।

रकम ह्याकरको खातामा गएको सुरुको दिनको हिसाबमा साढे २ महिनाभन्दा बढी भइसकेको छ। अन्तिम किस्ता हालेको भने ५० दिनभन्दा बढी भइसकेको छ। तर लापरबाही गर्ने कर्मचारीलाई अझैसम्म पनि स्टेसनको जिम्मेवारीमा नै राखिएको छ। लापरबाही गर्ने कर्मचारीलाई निलम्बन गर्नुपर्नेमा अधिकारी आफै ढाकछोप गर्न दुबई पुगेका थिए।

ह्याकरले रकम लगेको अगस्ट २७ मा मात्रै थाहा भएको थियो। ह्याकरको खातामा गएको रकमको अवस्था के छ अहिलेसम्म स्टेसलने कुनै जानकारी पाउन सकेको छैन। दुबईको बैंकले व्यक्तिको विवरण दिन नमिल्ने भनिरहेको छ।  गुमेको रकम फिर्ता आउने अवस्था देखिएको छैन। 

सानो रकमको आदानप्रदानमा समेत दोहोरो जाँच गरेर खाता नम्बर यकिन भएपछि मात्रै भुक्तानी गर्नुपर्ने विषय सामान्य आर्थिक चेतना हो। कर्मचारीले लेनदेनको सामान्य चेतनासमेत प्रयोग नगर्दा अन्तराष्ट्रिय लज्जाको विषय हुनेगरी निगम ठगिएको छ। निगमको दुबई स्टेसनले क्याटरिङ सेवा दिइरहेको कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम झुक्यानमा पारी ह्याकरले उडाइदिएको हो।

निगमले 'इमिरेट्स इन फ्लाइट क्याटरिङ'बाट क्याटरिङको सेवा लिइरहेको छ। सेवा लिएबापत निगमले उक्त कम्पनीलाई किस्तामा रकम भुक्तानी गरिरहेको थियो। ह्याकर समूहले दुबई स्टेसनको ई-मेल आईडी ह्याक गरी क्याटरिङ कम्पनीको खाता नम्बर परिवर्तन भएको र नयाँ खातामा रकम जम्मा गरिदिन भन्दै खाता विवरण पठाएको थियो। स्टेसनका कर्मचारीले उक्त ई-मेलबारे बुझबुझारत नगरी भनिएकै नयाँ खातामा रकम हालिदिँदा निगमको झन्डै दुई करोड रूपैयाँ गुमेको हो। 

उक्त खाताबाट ह्याकरले रकम झिकिसकेको छ। स्टेसनका कर्मचारीले रकम हालिदिएको खातामा अहिले एक रूपैयाँ पनि छैन। सामान्य विषयमा समेत दोहोरो जाँच नगरी यति ठूलो रकम गुमेको विषयमा कर्मचारी जोगाउने गरी काम भइरहेको छ।

कसैले ई-मेलमार्फत विवरण पठाएकै भरमा भेरिफाइ नगरी रकम हालिदिँदा निगम समस्यामा परिरहेको छ। 'कसैले बैंक खाता परिवर्तन भएको भनेर मेल पठाएपछि भुक्तानी गर्नुपर्ने कम्पनीसँग खाता भेरीफाइ गर्नुपर्नेमा स्टेसनका कर्मचारीले भेरिफाइ नै नगरी रकम हालिदिँदा रकम गुमेको हो', निगम स्रोतले भन्यो, 'यसमा संलग्न कर्मचारीहरू नै शतप्रतिशत दोषी छन्, उनीहरूलाई निलम्बन गरेर अनुसन्धान गर्नुपर्छ।'

यस्तो गम्भीर लापरबाही गर्ने कर्मचारीलाई निलम्बन गरी छानबिन गर्नुपर्नेमा अहिलेसम्म निगम व्यवस्थापनले कुनै काम गरेको छैन। अध्यक्ष अधिकारीले आफू निकट कर्मचारीलाई नै दुबई स्टेसन पठाएकाले पनि उनी घटना लुकाउने प्रयासमा लागिरहेका छन्।


प्रकाशित : सोमबार, कात्तिक २० २०८००१:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend