आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

राष्ट्र बैंकले जारी गर्ने असर्फी र सिक्का कहाँबाट कसरी किन्न पाइन्छ?

आइतबार, कात्तिक १९ २०८०
राष्ट्र बैंकले जारी गर्ने असर्फी र सिक्का कहाँबाट कसरी किन्न पाइन्छ?

सुनका असर्फी तथा चाँदीका सिक्का जारी गर्ने राष्ट्र बैंकले सर्वसाधारण तथा संस्थाहरूको माग अनुसार बिक्री वितरण गर्दै आएको छ। विशेष अवसरमा जारी गरिएका यस्ता सिक्का नेपाल  बैंकको टक्सार महाशाखाबाट पाइन्छ। 

काठमाडौं- नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले मौद्रिक नियमन तथा व्यवस्थापन गर्छ। बैंक तथा वित्तीय क्षेत्रको नियमन पनि गर्ने राष्ट्र बैंकले नेपालमा आधिकारिक मुद्रा जारी गर्ने विशेष अधिकार पाएको छ। 

ऐनबाट मुद्रा जारी गर्ने अधिकार पाएको राष्ट्र बैंकले कागजी नोटसँगै धातुका सिक्का पनि जारी गर्छ। दैनिक कारोबारमा उपयोग हुने नियमित मुद्रासँगै राष्ट्र बैंकले विशेष अवसरमा विशेष सिक्का पनि जारी गर्दै आएको छ। 

प्रायजसो लक्ष्मिपूजाको अवसरमा राष्ट्र बैंकले सिक्का तथा असर्फी जारी गर्दै आएको छ। यो वर्ष पनि राष्ट्र बैंकले सर्वसाधारणका लागि यस्ता सिक्का बिक्री गरिरहेको छ। 

संस्थागत उत्सव, पहिले राजपरिवारको विशेष दिवसमा सिक्का जारी गर्दै आएको राष्ट्र बैंकले ख्याति प्राप्त व्यक्तिको चित्र तथा नामांकित सिक्का पनि जारी गर्दै आएको छ। 

राष्ट्र बैंकले प्रकाशित गरेको एक दस्तावेज अनुसार यस्ता विशेष सिक्काको प्रकाशन पहिलोपटक विस २०४१ सालमा भएको थियो। राष्ट्र बैंकले महालेखा परीक्षकको रजत जयन्तीको अवसरमा चाँदी, तामा लगायतका धातुको सिक्का जारी गरेको थियो। उक्त सिक्का २५ रुपैयाँ अंकित थियो। 

नेपालका सिक्का तथा मुद्राको संकलन गरी राष्ट्रिय मुद्रा नामको किताब नै प्रकाशित गरेका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा पनि राष्ट्र बैंकले सिक्का जारी गरेको छ। 

सुनका असर्फी तथा चाँदीका सिक्का जारी गर्ने राष्ट्र बैंकले सर्वसाधारण तथा संस्थाहरूको माग अनुसार बिक्री वितरण गर्दै आएको छ। विशेष अवसरमा जारी गरिएका यस्ता सिक्का नेपाल  बैंकको टक्सार महाशाखाबाट पाइन्छ। 

सर्वसाधारणले कार्यालय खुलेको दिन महाशाखाको बबरमहल परिसरमा रहेको काउण्टरबाट सिक्काहरू खरिद गर्न सक्छन्। महाशाखामा उपलब्ध भएका सिक्का खरिद गर्न पाइन्छ। तर  यसरी विशेष अवसरमा जारी भएका सिक्का सीमित मात्रामा हुने र धेरै माग भएमा पहिलै सकिएमा बिक्रीका लागि उपलब्ध हुँदैन। 

टक्सारबाट खरीद गरिएका सुन तथा चाँदीको असर्फी/सिक्का पुनः सोही महाशाखामा बिक्री गर्न भने पाइँदैन । अर्थात्, नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सुन तथा चाँदीका सिक्का बिक्री मात्र गर्दछ, खरिद गर्दैन। यस्ता सिक्का सम्झनाका लागि कसैले खरिद गर्नसक्ने भएपनि त्यसको पुन: कारोबार हुँदैन। 


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend