सोमबार, असार ३० गते २०८२    
सोमबार, असार ३० २०८२
images
images

फूलखेतीबाट मनग्य आम्दानी गर्दै स्थानीय

images
शनिबार, कात्तिक १८ २०८०
images
images
फूलखेतीबाट मनग्य आम्दानी गर्दै स्थानीय

८० हजार रूपैयाँको लगानीमा गरिएको फूल खेतीबाट यस वर्ष पाँच लाखसम्म आम्दानी हुने अनुमान गरेको बाबुराम केसीले बताए।

images
images

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१ का लक्ष्मी चालिसेले पाँच कट्ठा जमिनमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ। बिहान-बेलुका उनले यिनै फूलको गोडमेलमा सयम बिताउने गरेकी छिन्।

images
images

फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि चालिसेले धान खेती छाडेर विगत पाँच वर्षदेखि फूल व्यवसाय सुरु गरेकी हुन्। धान खेतीभन्दा फूलबाट मनग्य आम्दानी भएको उनको भनाइ छ। 'पहिलो वर्ष आधा कट्ठा बाँझो जमिनमा फूल लगाएर बिक्री गर्दा ४० हजार रूपैयाँ आम्दानी भयो', उनले भनिन्, 'अर्को वर्ष धान रोप्ने पाँच कट्ठा जमिनमा फूल खेती गर्न थालेको हो, धानभन्दा फूलबाट मनग्य आम्दानी भयो, अहिले निरन्तर फूल नै लगाउने गरेको छु।'

images
images

वार्षिक ३० हजार रूपैयाँको धान उत्पादन हुने जमिनबाट अहिले खर्च कटाएर एक लाख रूपैयाँ बचत गर्ने गरेको चालिसेले सुनाइन्। 'धान त ३० हजार रूपैयाँको किन्यो भने वर्षदिनलाई खान पुग्छ, फूल लगाउन थालेपछि आम्दानी बढेको छ', उनले भनिन्, 'बिक्रीका लागि कुनै समस्या छैन्, गत वर्षकै ग्राहकहरूले माग गर्नुभएको छ।'

images
images
images

तिहार आउन केही दिन बाँकी हुँदा बगैँचामा फुलेको फूलले छुट्टै रौनक बढाएको छ। फूल खेतीबाट किसानले राम्रो आम्दानीसमेत गरेका छन्। जिल्लामा पछिल्लो समय व्यावसायिक फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ।

कावासोतीका नगरपालिका-९ का ६८ वर्षीय विष्णु पोख्रेलको दैनिकी पनि अहिले फूल बगैँचामा बित्ने गरेको छ। बाँझो रहेको जमिनलाई भाडामा लिएर कावासोती पशुपक्षी कृषि फर्म दर्ता गरी पोख्रेलले फूल खेती सुरु गरेका हुन्। उनको बगैँचामा तिहारका लागि सयपत्रीसँगै अन्य फूल पनि ढकमक्क फुलेका छन्। 'पहिले यो जमिन बाँझो थियो, जग्गा भाडामा लिएर फूल रोप्ने काम गर्‍यौँ', पोख्रेलले भने, 'गत वर्षको बजार मूल्यअनुसार यस वर्ष पाँच लाख रूपैयाँ आम्दानी हुने अनुमान गरेका छौँ।'

कावासोती-९ मा जग्गा भाडामा लिएर स्थानीयले सामूहिक फूल खेती गरेका छन्। ८० हजार रूपैयाँको लगानीमा गरिएको फूल खेतीबाट यस वर्ष पाँच लाखसम्म आम्दानी हुने अनुमान गरिएको बाबुराम केसीले बताए। फूल खेती गरी आत्मनिर्भर बनाउन र आयातलाई कमी गर्ने उद्देश्यले फूल खेती सुरु गरिएको केसीको भनाइ छ।

'करिब तीन हजार पाँच सय बिरुवा लगाएका छौँ, एक हजारदेखि दुई हजार माला बिक्री गर्ने लक्ष्य रहेको छ', उनले भने, 'अर्को वर्ष जमिन थप गरी फूल खेती गर्ने सोच बनाएका छौँ।' गाउँका स्थानीय एकजुट भइ निर्माण गरिएको समूहले फूल बिक्रीबाट भएको नाफालाई सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरिएको केसीले बताए।

सयपत्री फूल किन्नका लागि अन्य जिल्लाबाट समेत ग्राहक यहाँ आउने गरेका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट, कावासोती, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकालगायत क्षेत्रमा लगाइएका फूल व्यवसायीको आम्दानीको स्रोत भएको व्यापारी बताउँछन्। रासस


प्रकाशित : शनिबार, कात्तिक १८ २०८००९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend