फुङ्लिङ- कञ्चनजंघा हिमालको आधार शिविर (बेस क्याम्पसम्म) पदमार्ग क्षेत्रमा हिउँले बाटो नदेखिने समस्या समाधान गर्न सांकेतिक चिह्न ‘स्नो पोल’ राखिएको छ। हिउँ पर्ने याममा पर्यटकले बाटो भुल्ने भएकाले पदमार्गमा यस्तो व्यवस्था गरिएको हो।
हिउँले पदमार्ग छोपिएका बेला एउटा पोलदेखि अर्को पोलसम्म देखिने गरी सङ्केत चिन्ह राखिएको छ। कोभिड-१९ का कारणले दुई वर्ष प्रायः सुनसान जस्तै हरेको कञ्चनजंघा क्षेत्रमा गत महिनादेखि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पर्यटकहरूले बाटो नभुलुन् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
सांकेतिक बोर्डहरू नभएका र हिउँ पर्दा पर्यटक हराउने वा बाटो भुलेर दुःख पाउनेजस्ता समस्या समाधान गर्न पोल राखिएको हो। पर्यटकहरूको भ्रमणलाई सहज तुल्याउनका लागि रङ लगाएर पदमार्गको बेस क्याम्पसम्म स्नो पोल गाडिएको छ। वित्त तथा दीर्घकालीन पर्यटन विकास कार्यक्रम र समृद्ध पहाडको प्राविधिक सहयोगमा १ सय २० वटा स्नो पोल र एक सय वटा साइन बोर्ड राखिएको हो।
कञ्चनजंघा क्षेत्रमा रहेका स्थानीय समुदायको जीवनस्तरमा प्रत्यक्ष टेवा पुर्याउने उद्देश्यले समृद्ध पहाडको सहयोगमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा स्नो पोल खारिएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक जितेन लिम्बूले बताए।
कञ्चनजंघा हिमालका उत्तर र दक्षिण गरी दुई बेस क्याम्प छ। दुवैतिर पर्यटकलाई सजिलो होस् भन्ने हिसाबले उत्तरदेखि आधार शिविर जाने पदर्मागमा ८० वटा र दक्षिणदेखि कञ्चनजंघा आधार शिविर जाने पदमार्गमा ४० वटा स्नो पोल राखिएको उनको भनाइ छ।
घुन्सादेखि उत्तरी बेस क्याम्प पाङपेमा बेस क्याम्पसम्म पोल गाडिएको छ। रानीपुलदेखि भरियालाई बोकाएर ती सामान लगिएको थियो। खम्बाचेन, लोनाक हुँदै बेस क्याम्पसम्म पोल राखिएको छ। पाङपेको बेस क्याम्प पाँच हजार १४० मिटर उचाइमा पर्दछ।
'हिउँ पर्न थालेपछि बाटो छोपिन थाल्छ। पर्यटकले बाटो भुल्ने खतरा हुन्छ। यस किसिमका अग्ला पोल राख्दा बाटो पहिल्याउन सजिलो हुन्छ,' फक्ताङलुङ गाउँपालिका-६ घुन्साका पर्यटन व्यवसायी पेमा शेर्पाले भने। कञ्चनजंघा पदयात्रा पर्यटकको रोजाइमा पर्ने भए पनि यहाँका पर्याप्त पूर्वाधारको विकास भने सोही अनुरूप हुन सकेको छैन र पदमार्ग पनि व्यवस्थित गर्न सकिएको छैन।
कार्यक्रम सहायक लिम्बूका अनुसार घुन्साबाट र सेलेले पासबाट दक्षिणी बेस क्याम्प जाने ठाउँमा पनि यस्ता पोल राखिएका छन्। गत वर्ष हिउँको याममा पर्यटकले यो पदमार्ग भएर पार गर्न सकेका थिएन।
उत्तरी बेस क्याम्प पुगेर घुन्सा झरेका पर्यटक सेलेले पुगेर चार हजार पाँच सय मिटरको उचाइमा रहेको दक्षिणी बेस क्याम्प पुग्छन्। सेलेले पास निकै जटिल मानिन्छ। केही वर्ष अगडि फागुन-चैतको याममा हिँउले बाटो पुर्दा केही पर्यटकले सेलेले पास गर्न नसकेको घुन्साका टासी तेन्जिङ शेर्पाले बताए। उनका अनुसार पोल भएपछि अहिले सहज भएको छ।
आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज तुल्याउनाका लागि योजनाअनुसार नै स्नो पोल राखिएको समृद्ध पहाड परियोजना ताप्लेजुङका कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताए। पदयात्रीलाई बाटो देखाउन तथा आवश्यक जानकारी प्रदान गर्ने हेतुले साइनेज तथा इन्फर्मेसन बोर्ड राखिएको उनको भनाइ थियो। हिउँ पर्ने याममा हिउँले बाटो छोप्ने भएकाले स्नो पोल राखिएको हो। नेपालमा रहेका हिमालमध्ये दुईवटा भ्यू हेर्न सकिने एक मात्र हिमाल कञ्चनजंघा हो।
लामो समय कोभिडका कारणले पर्यटकको आगमन सुनसान बनेको कञ्चनजंघा क्षेत्रमा अहिले क्रमिक रुपमा पर्यटकको चहलपहल बढ्दै गएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले बताए।
पर्यटकको आगमन बढ्दै गएसँगै ठाउँठाउँमा होटेल तथा टी-हाउस खुल्ने क्रम बढे पनि पदमार्ग विकास गर्ने र अन्य सुविधाको विस्तार गर्ने काम भने भएको छैन। बिरामी हुँदा स्वास्थ्योपचार, टेलिफोन सम्पर्क, इन्टरनेट र सुरक्षा व्यवस्थाको अभाव छ। बाटोलाई पर्यटक हिँड्ने किसिमको बनाउन आवश्यक रहेको छ।
कञ्चनजंघा संरक्षण क्षेत्र दक्षिण एसियाकै पहिलो समुदायमा हस्तान्तरित संरक्षण क्षेत्र हो। ताप्लेजुङमा रहेको सुकेटार विमास्थल तथा सदरमुकाम फुङलिङदेखि हाङद्रुङसम्म गाडीमा जान सकिन्छ।
ताप्लेजुङ सदरमुकामदेखि नै उत्तरी बेस क्याम्पसम्म रहेका आठवटा क्याम्पमा पैदलै यात्रा गर्नुपदर्छ। सुविधा कम भए पनि पर्यटक बढ्ने क्रममा छ। गत वर्ष १२ विदेशी पर्यटकले कञ्चनजंघा भ्रमण गरेका थिए। यस वर्षको कात्तिकमा मात्र ६५ विदेशी पर्यटक र १०० नेपाली पर्यटकले कञ्चनजंघा हिमाल क्षेत्रको भ्रमण गरेको पर्यटन सहायक शेर्पाले बताए। रासस