आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एसएमईले ऋण तिर्न नसक्दा रिटेल कारोबार गर्ने बैंकको नाफा घट्यो, कृषि विकास बैंक ८८ करोडले ऋणात्मक 

शुक्रबार, कात्तिक १७ २०८०
एसएमईले ऋण तिर्न नसक्दा रिटेल कारोबार गर्ने बैंकको नाफा घट्यो, कृषि विकास बैंक ८८ करोडले ऋणात्मक 

ऋणको साँवा ब्याज भुक्तानी नहुँदा यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्ने अधिकांश वाणिज्य बैंकहरु समस्यामा परेका छन्। एसएमईलाई कर्जा दिने अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ। कतिपय होलसेल कारोबार गर्ने वाणिज्य बैंकहरुको नाफा पनि रिटेल कारोबारमा आश्रित बैंकलाई गाभेकाले घटेको छ।

काठमाडौं- लघु, घरेलु, साना तथा मझौला उद्योगी व्यवसायीले कर्जा भुक्तानी गर्न नसक्दा रिटेल कारोबार गर्ने वाणिज्य बैंक र बैंकहरुको रिटेल कारोबारमा परेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिटेल क्षेत्रमा कर्जा प्रवाह गर्ने अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेकाले खुद नाफा घटेको छ।

उच्च ब्याजदरका कारण कर्जा प्रवाह न्यून हुँदा त्यसको सबैभन्दा ठूलो असर साना तथा मझौला उद्योगी व्यवसायीलाई परेको छ। कर्जा प्रवाह न्यून हुँदा अर्थतन्त्रमा माग घटेको र आपूर्ति पक्षमा मूल्यवृद्धि हुँदा साना तथा मझौला व्यवसायी नराम्रोसँग प्रभावित भएका छन्।

अर्थतन्त्रमा माग नभएकाले कतिपय उद्योग व्यवसाय बन्द भएका छन् भने कतिपयले उत्पादन कटौती गरेका छन्। उत्पादन घटेकाले वस्तुको मूल्य बढेको छ। आर्थिक मन्दीको असर उपभोक्तमा पनि देखिएकाले उपभोक्ताले उपभोग घटाएका छन्। उपभोगमा आएको कमीले उनीहरुको वस्तु बिक्री घटेको छ। वस्तु बिक्री घटेकाले साना तथा मझौला व्यवसायीले बैंकबाट लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न सकिरहेका छैनन्।

ऋणको साँवा ब्याज भुक्तानी नहुँदा यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्ने अधिकांश वाणिज्य बैंकहरु समस्यामा परेका छन्। एसएमईलाई कर्जा दिने अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ। कतिपय होलसेल कारोबार गर्ने वाणिज्य बैंकहरुको नाफा पनि रिटेल कारोबारमा आश्रित बैंकलाई गाभेकाले घटेको छ।

यसको सबैभन्दा ठूलो असर कृषि विकास बैंकमा देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा करिब २२ करोड खुद नाफा गरेको यस बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८८ करोडले ऋणात्मक भएको छ। कृषि विकास बैंकको ऋणको ठूलो हिस्सा साना तथा मझौला व्यवसायी तथा कृषकहरुलाई दिएको छ।

कृषक तथा साना मझौला व्यवसायीहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानी उल्लेख्यरुपमा बढ्न नसक्दा बैंक घाटामा गएको हो। यसै पनि पहिलो त्रैमास कृषकले बाली लगाउने समय भएकाले विगतमा पनि यस समयमा बैंकको नाफा कम हुने गरे पनि ऋणात्मक भएको थिएन।

कात्तिक-मंसिरबाट कृषकले बाली उठाउने समय भएकाले दोस्रो क्वाटरबाट कृषि विकास बैंकको नाफा बढ्ने गरेको थियो। पहिलो त्रैमासमा बैंकको नाफा ऋणात्मक भए पनि दोस्रो त्रैमासबाट बढ्ने अपेक्षा बैंकले गरेको छ।

अन्य बैंकहरुले ब्याजदर बढाएका बेला अर्थ मन्त्रालयले ब्याजदर घटाउन दबाब दिएकाले पनि बैंकको नाफा घटेको जानकारहरुले बताउने गरेका छन्।

यस अवधिमा बैंकको खराब कर्जा बढेर ५.३३ प्रतिशत पुगेको छ। ५ प्रतिशतभन्दा माथि बैंकको खराब कर्जा पुगेमा राष्ट्र बैंकले बैंकको शाखा विस्तारमा रोक लगाउने व्यवस्था रहेको छ।

यस्तै रिटेल कारोबार गर्ने निजी क्षेत्रको बैंक एनआईसी एसिया बैंकको पनि नाफा ४३ प्रतिशतले घटेको छ। गत वर्षको तुलनामा यस बैंकको पनि खराब कर्जा उल्लेखनीयरुपमा बढेको छ। कर्जा विस्तार हुन नसक्दा बैंकको ब्याज आम्दानी उल्लेख्यरुपमा बढ्न सकेको छैन। यस्तै ब्याजदर बढेकाले यस अवधिमा बैंकको ब्याज खर्च उल्लेख्यरुपमा घटेको छ।

रिटेल कारोबार गर्ने सिद्धार्थ बैंक, नेपाल बैंक लिमिटेड, नबिल, एभरेष्ट, सिदार्थ, माछापुच्छ्रे, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स इन्टरनेशनल बैंक लगायतका दर्जन बैंकको खराब कर्जा बढ्दा बैंकको नाफामा गिरावट देखिएको छ। 

नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यवसायीको समस्यालाई ध्यानमा राखेर कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना सुविधाको म्याद आगामी पुस मसान्तसम्म थप गरेको छ। यस्तै बैंकहरुको असल कर्जामा लोन लस प्रोभिजनिङ १.३० प्रतिशतबाट घटाएर १.२५ प्रतिशत कायम गरेको छ।


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८०११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend