शनिबार, साउन १२ गते २०८१    
images
images
images

तनावमुक्त बनाउने आलडाँडा : यातायात र होटल सुविधाले बढ्दैछ पर्यटकको आउजाउ

images
बुधबार, कात्तिक १५ २०८०
images
images
तनावमुक्त बनाउने आलडाँडा : यातायात र होटल सुविधाले बढ्दैछ पर्यटकको आउजाउ

राम्चेदेखि तीस मिनेट, करबाकेही, फूलबारी र मोहरेडाँडादेखि एक घण्टा, पुनहिलदेखि दुई घण्टा पैदल हिँडेपछि आलडाँडा पुग्न सकिन्छ। राम्चे हुँदै आलडाँडा जोड्ने सडक पनि छ।

images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको आलडाँडा केही वर्षअघिसम्म सुनसान थियो। समुन्द्री सतहदेखि दुई हजार ६ सय २० मिटर उचाइमा रहेको आलडाँडा सडक, यातायात, पदमार्ग र खानेबस्ने व्यवस्थासँगै पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ।

images
images

स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आलडाँडाको सौन्दर्यका बारेमा प्रचारप्रसार र पूर्वाधार निर्माणसँगै पर्यटक आउन थालेको बताए। 'यहाँसम्म आउने सडक, पदमार्ग र होटलको सुविधा भएपछि पर्यटकको चहलपहल बढेको छ', पुर्जाले भने, 'आलडाँडा अन्नपूर्ण गाउँपालिकाको धेरै पर्यटकीय स्थल जाने बीच बाटोमा पर्ने भएकाले पनि यसको सम्भावना छ।'

images

डाँडाका सम्म फाँटको बीचमा रहेको आलडाँडा वरपरको गुराँसको जंगलको बीचमा छ। एकान्त वातावरण, पृष्ठभूमिमा लहरै देखिने हिमशृङ्खलाले मोहित बनाएको आलडाँडाको भ्रमणमा आएका पर्वत ज्ञादीका बिमल ढकालले बताए।

'तरतिरका ग्रामीण बस्ती, बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न पाउँदा झनै रमाइलो भयो,' उनले भने, 'सहरबजारको कोलाहल र व्यस्तताबाट तनावमुक्त हुनका लागि आलडाँडा उपयुक्त ठाउँ रहेछ।'

images

आलडाँडामा हिमालयन भ्यू एन्ड गेष्ट हाउसमेत सञ्चालन गरेका पुर्जाका अनुसार हाल दैनिक ४० देखि ५० जनाको हाराहारीमा पाहुना आलडाँडाको बाटो भएर विभिन्न पर्यटकीयस्थलमा आवतजावत गर्छन्। आलडाँडाको पृष्ठभूमिमा सिस्ने, गुर्जा, धवलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ।

हिमाल र पृष्ठभूमिमा देखिने सूर्योदय र सूर्यास्तको मनमोहन दृश्यले मोहित बनाएको आलडाँडाको भ्रमणमा गएका लेकफाँटका मदन पौडेलले बताए। गुराँसको जंगलका साथै विभिन्न प्रजातिका वनस्पति, जडीबुटी, वन्यजन्तु र पक्षीहरूको पनि अवलोकन गर्न पाइने उनले बताए।

करबाकेली इको र अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आलडाँडा करबाकेही, राम्चे, नागी, मोहरेडाँडा, कालीदह, फूलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्य भागमा पर्छ। एकदेखि अर्को ठाउँमा जाने पर्यटकका लागि आलडाँडा केन्द्र मानिन्छ। म्याग्दी, पर्वत र बागलुङका पहाडका साथै बस्तीहरुको अवलोकन गर्न सकिन्छ।

राम्चेदेखि तीस मिनेट, करबाकेही, फूलबारी र मोहरेडाँडादेखि एक घण्टा, पुनहिलदेखि दुई घण्टा पैदल हिँडेपछि आलडाँडा पुग्न सकिन्छ। राम्चे हुँदै आलडाँडा जोड्ने सडक पनि छ। बस्तीदेखि टाढा रहेको आलडाँडामा पुग्ने पर्यटकको सुविधाका लागि राम्चेका भक्तबहादुर पुर्जाले होटल सञ्चालन गरेका छन्।

होटलको छानोमा राखिएको जस्तापाताबाहेक अन्य सबै संरचना काठका हुन्। दुईतले भवनमा बीस जना बास बस्न सक्ने दश वटा कोठा छन्। ४१ लाख रूपैयाँको लागतमा पुर्जाले स्थापना गरेको होटलका कोठाबाटै हिमाल, सूर्योदय, सूर्यास्त र जंगलको अवलोकन गर्न सकिन्छ। प्रतिरात बास बस्न एक जनालाई करिब एक हजार रूपैयाँ बजेट आवश्यक पर्छ।

बाझिएर खेर गएको पाखोबारीमा होटल बनाएका पुर्जा पर्यटकको चहलपहल बढ्न थालेपछि उत्साही भएका छन्। दश वर्ष साउदीमा रोजगारी गरेर फर्केका पुर्जाले यसअघि राम्चेमा घरबास ‘होमस्टे’ सञ्चालन गरेका थिए।

स्थानीय जातका कुखुरा, खरायोको मासु, कोदो, फापरको रोटी, ढिँडो, च्याउको तरकारी, आलुका परिकार होटलका पाहुनाले चाख्न पाउँछन्। अन्नपूर्ण गाउँपालिका-८ राम्चेका वडाअध्यक्ष खम गर्बुजाले आलडाँडालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पूूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको बताए।

गत वर्ष ३० लाख रूपैयाँ बजेटमा करबाकेलीदेखि आलडाँडा हुँदै मोहरेडाँडा जाने पदमार्ग र त्यसअघि १५ लाख रूपैयाँ बजेटमा राम्चेदेखि आलडाँडा हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको वडाअध्यक्ष गर्बुजाले बताए। रासस


प्रकाशित : बुधबार, कात्तिक १५ २०८०१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend