शनिबार, साउन १२ गते २०८१    
images
images
images

दसैँपछि टीकापुर पार्कमा बढे पर्यटक

images
बुधबार, कात्तिक १५ २०८०
images
images
दसैँपछि टीकापुर पार्कमा बढे पर्यटक

सुदूरपश्चिममा सबैभन्दा बढी पर्यटक पुग्ने ठाउँ टीकापुर पार्क हो। एकै दिनमा डेढ सयदेखि पाँच हजार जना पार्क अवलोकन गर्न आउने गरेका छन्। पार्कमा बर्सेनि एक लाखदेखि डेढ लाखसम्म पर्यटक आउँछन्।

images

टीकापुर- कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दसैँपछि पर्यटक बढेका छन्। पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन्। दसैँ सुरु भएदेखि नै पार्कमा पर्यटक बढेका हुन्। पार्कमा आन्तरिक पर्यटक वनभोज र अन्य जिल्लाका पर्यटक अवलोकनका लागि आउने गरेका छन्।

images
images

पार्कमा हरेक वर्ष यो याममा पर्यटक बढ्ने गर्छन्। बर्खामा पर्यटकको सङ्ख्या घटेको टीकापुर पार्कमा चाडपर्वसँगै पर्यटक पनि भित्रिन थालेका छन्। पार्कमा कात्तिकको १५ गतेसम्म १० हजार पर्यटकले पार्क अवलोकन गरेका छन्। पार्कमा सबैभन्दा बढी कात्तिक ८ गते एक हजार आठ सय र ९ गते एक हजार पाँच सय पर्यटक भित्रिएका छन्। कात्तिकमा मात्रै पार्कमा पर्यटकबाट दुई लाख ५० हजार राजस्व संकलन भएको पार्क इञ्चार्ज अर्जुन कुँवरले जानकारी दिए।

images

'दसैँपछि पर्यटक बढेका छन्, पिकनिक खाने, फोटो खिच्ने, केही समय शान्त वातावरणमा रमाउनेहरु आउँछन्', उनी भन्छन्, 'देशका सबै जिल्लाका मानिस पार्क पुगेको तथ्यांक छ। सुदूरपश्चिम छिरेकाहरू एकपटक पार्क पुगौँ भन्छन् र घुमेर जान्छन्।'

कुँवरका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी पर्यटक पुग्ने ठाउँ टीकापुर पार्क हो। एकै दिनमा डेढ सयदेखि पाँच हजारले पार्क अवलोकन गर्न आउने गरेका छन्। पार्कमा बर्सेनि एक लाखदेखि डेढ लाखसम्म आउँछन्। धेरै मानिसहरूले पार्कमै पकाउने, पार्कमै खाने, पार्कमै रमाउने गरी आउँछन् जसले गर्दा पार्कको वातावरण सधैँ रमाइलो भइरहने स्थानीय टीका चौधरीले बताए।

images

टीकापुर विकास समिति हटेपछि विसं २०६४ मङ्सिर ५ गते टीकापुर नगरपालिकाको स्वामित्वमा पार्कलाई हस्तान्तरण गरिएको हो। नगरपालिकाको स्वामित्वमा पार्क सञ्चालन भएपछि बजेट अभावमा पार्कमा कार्यरत कर्मचारी कटौती गरिँदा र विकासका थप पूर्वाधार निर्माण गर्न नसक्दा पार्कको सौन्दर्यमा कमी आउन थालेको गुनासो छ। हाल पार्कमा १३ जना सरसफाइकर्मी र कर्मचारी कार्यरत छन्।

टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ। पार्क ८५ बिघा क्षेत्रफलमा फैलिएको छ। बंगला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ।

टीकापुर विकास समितिले नै पार्क क्षेत्रमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम वाटिका, ऐश्वर्य उद्यानलगायत पूर्वाधार खडा गरेको छ। शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी/बेमौसमी फूलहरू टीकापुर पार्कका आकर्षण हुन्। राजा महेन्द्रले २०२४ सालमा टीकापुरमा आएर करिब डेढ महिना शयन गरेका थिए। टीकापुर बसेर राज्य चलाउन अप्ठ्यारो भएपछि राजा काठमाडौं फर्किए र टीकापुर क्षेत्रमा सहर विकास गर्न र कर्णाली किनारमा पार्क बनाउन उनले निर्देशन दिएका थिए।

विसं २०२८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत टीकापुर विकास समिति स्थापना गरी तीन हजार एक सय ७३ बिघा जमिन दिएर सहर विकास गर्ने अधिकार सरकारले दिएको थियो। लाखौँ लगानी भएका र करोडौँ खर्च भइसकेका यी पूर्वाधारहरू टीकापुर विकास समिति हटेपछि नगरपालिकाको स्वामित्वमा छन्। त्यतिखेर विकास समितिले आफूसँग भएको जग्गा घडेरीका रूपमा बिक्री गर्दै पार्क संरक्षणका लागि खर्च जुटाउँदै आएको थियो। तर नगरपालिकाको स्वामित्वमा गएपछि बजेटको अभावमा लगानी हुन सकेको छैन।

पार्कमा बनाइएको काठका रेलिङ कुहिनु र भत्किनाका साथै आरोग्य गृह र विश्राम वाटिका पनि जीर्ण हुँदै गएपछि हरेक वर्ष नगरपालिकाले मर्मतमा लाखौँ खर्चिने गरेको छ। तर पार्क जीर्ण बन्दै गएकाले पार्कको इतिहास जोगाउनेतर्फ ध्यान दिनुपर्ने स्थानीय निर्मला कडायतको सुझाव छ। 'पार्कमा भएको हराभरा हराएको छ, पार्क एक ताका गुलाबको बगैँचाका रुपमा चिनिन्थ्यो', उनी भन्छन्, 'पालिकाले त्यो जोगाउन सकेको देखिएन, पालिकाले केन्द्रीय बजेट ल्याउन सकेको पनि देखिएन। नगरपालिकाले लगानी गर्न नसक्दा पार्क जीर्ण बन्दै जान थालेको छ।'

टीकापुरकै ऐतिहासिक महत्त्व बोकेको ठाउँ टीकापुर पार्क हो। पार्क स्व राजा महेन्द्रको इतिहाससँग जोडिएको छ। पार्क संरक्षणका लागि खासै काम हुन नसके पनि पार्कको संरक्षणका लागि पालिका, स्थानीय सबै लाग्नुपर्ने टीकापुर नगरपालिका-५ का वडाध्यक्ष बलवीर थारू बताउँछन्।

'बजेट अभावमा पालिकाले सक्दो संरक्षण गरेको छ। यो पार्क देशकै पहिचान हो', थारू भन्छन्, 'पार्क संरक्षणमा पालिका मात्रले सम्भव छैन। यसमा स्थानीयको सहयोग, सरकारको विशेष लगानी आवश्यक छ।'

पार्क क्षेत्र पूरै घेरबार नभएकाले स्थानीयलगायत केही पर्यटक टिकट नकाटेर भित्रिने जोखिम रहेकाले राजस्वमा असर परेको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend