आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सुनको मूल्य किन बढिरहेको छ? 

सोमबार, कात्तिक १३ २०८०
सुनको मूल्य किन बढिरहेको छ? 

हमासले इजरायलमा आक्रमण गरेपछि चर्चिकएको द्वन्द लम्बिनेमात्र होइन आसापासका अन्य मुलुक पनि त्यसमा सहभागी भएर ठूलै युद्धको रुप लिनसक्ने चिन्ता व्यक्त भइरहेको छ। इरानदेखि अमेरिकासम्म यो युद्धमा अग्रसर भइरहेको देखिएको छ। 

काठमाडौं- पछिल्लो हप्ता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले प्रतिऔँस २ हजार अमेरिकी डलरको बिन्दु छोएको छ। 

पाँच महिनापछि सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुको यात्रामा रहेको छ। यही कारणले नेपाली बजारमा पनि सुनको मूल्य तोलाको १ लाख १७ हजार रुपैयाँ पुगेको छ। नेपाली बजारमा मूल्यले उच्च बिन्दु छुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यन पनि मुख्य कारण हो। 

यद्यपि अन्तर्राष्ट्रिय बजारमा भने सुनले फेरि उकालो बाटो तय गर्ने संकेत भने गरेको छ। सुनको मूल्य आकासिन सक्ने केही आधारहरू रहेका छन्। यसमा सबैभन्दा मुख्य भनेको इजरायल र हमासबीचको द्वन्द्व हो। 

हमासले इजरायलमा आक्रमण गरेपछि चर्किएको द्वन्द्व लम्बिनेमात्र होइन आसापासका अन्य मुलुक पनि त्यसमा सहभागी भएर ठूलै युद्धको रुप लिनसक्ने चिन्ता व्यक्त भइरहेको छ। इरानदेखि अमेरिकासम्म यो युद्धमा अग्रसर भइरहेको देखिएको छ।

यो क्षेत्रमा भइरहेको अशान्तिले विश्व अर्थतन्त्र नै प्रभावित हुनसक्ने जोखिम रहेको छ। यस्तो अशान्ति र अनुमानरहित अवस्थामा लगानीकर्ताको आकर्षण सुनजस्तो धातुमा हुन्छ। लगानीका लागि उपयुक्त विकल्प हुने र भविष्यका लागि सुरक्षित हुने भएकाले सुनको मूल्य बढ्नसक्ने धेरैले अनुमान गरेका छन्।

अरब क्षेत्रमा बढ्नसक्ने अशान्तिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गराउनसक्ने जोखिम पनि उत्तिकै छ। यही कारणले गर्दा अर्थतन्त्रमा लगानीका अन्य क्षेत्रभन्दा सुनमा लगानी लाभदायक मानिन्छ। यसकारण पनि सुनको मूल्य बढ्नसक्ने अनुमान गरिएको छ।

सन् १९७० को दशकमा पनि इजरायल र प्यालेस्टाइनबीच युद्ध हुँदा तेलदेखि सुनसम्मको मूल्यमा उछाल आएको थियो। सन् १९७० को दशकमा २ हजार प्रतिशतसम्मले मूल्यवृद्धि भएको थियो। कतिपय विश्लेषकले अहिलेको द्वन्द्वले फेरि सुनमा उच्च मूल्यवृद्धिको सम्भावना औँल्याएका छन्।

कसरी निर्धारण गरिन्छ नेपालमा सुनको मूल्य?

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिइएको छ।

२०६६ साल अघि नेपालमा खुल्लारुपमा सुनको आयात गर्न पाइन्थ्यो। २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनायो। त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न सक्थे।

दैनिक सुन आयातको कोटालाई तलमाथि गर्दै आएको छ राष्ट्र बैंकले। आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ। हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ। 


प्रकाशित : सोमबार, कात्तिक १३ २०८००४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend