शनिबार, साउन १२ गते २०८१    
images
images
images

दसैँमा घुम्न जाने बढ्दा पर्यटकले भरियो मनाङ, चलायमान बन्दै व्यापार व्यवसाय

images
आइतबार, कात्तिक १२ २०८०
images
images
दसैँमा घुम्न जाने बढ्दा पर्यटकले भरियो मनाङ, चलायमान बन्दै व्यापार व्यवसाय

हिउँद लाग्ने बेलामा र वर्षायाम सुरुवातको समयमा गरी दुई सिजनमा मनाङ घुम्न अनुकूल समय मानिन्छ।

images

मनाङ- हेटौँडाका अमृत ताम्राकार दसैँ बिदाको समय सदुपयोग गर्न मनाङ भ्रमणमा आएका छन्। उनी भन्छन्, 'लामो समयदेखि मनाङ आउने योजना थियो, बल्ल यसवर्ष आउने समय मिल्यो।' 

images
images

मनाङ आएर यहाँको प्रकृतिसँग रमाउनुको मज्जा नै बेग्लै रहेको ताम्राकारको भनाइ छ। 'हामी धेरै पछाडि छौँ, प्रकृतिसँग खेल्न र प्रकृतिलाई बुझ्न सकेका छैनौँ, यहाँको सुन्दरता छाडेर विदेश घुम्ने योजना बनाउँछौँ,' उनले भने, 'पहिले आफ्नो देशको प्रकृतिलाई बुझ्न सक्नुपर्छ, अनि विदेश भ्रमण गर्ने हो, यहाँ छ असली प्रकृति र संस्कार, संस्कृति, हामीले घुमेर र बुझेर नै प्रवर्द्धन गर्न सक्नुपर्छ।'

images

ताम्राकार जस्तै नुवाकोटका हरि तामाङ पनि मनाङको प्राकृतिक सौन्दर्यसँग रमाउन व्यस्त छन्। 'मनाङ बाहेक अरु कुन ठाउँ हुनसक्छ स्वर्ग यही हो, एक पटक आउनै पर्ने ठाउँ नै मनाङ हो, जीवितमै स्वर्ग पुगेको आभास भइरहेको छ', तामाङले भने। 'मरेपछि स्वर्ग पुगिन्छ पुगिँदैन, जिउँदै आएका छौँ, हामी त स्वर्गमा, यस ठाउँमा एक पटक सबै नेपाली आउनुपर्छ, प्रकृतिको असली स्वर्ग घुम्न जरुरी छ।'

चिसो बढ्दै गरेको अवस्था र जोखिम बढी हुने क्षेत्र भएकाले यहाँ आउँदा भने जानकारी लिनु पनि आवश्यक रहेको तामाङको बुझाइ छ। तिलिचो ताल, सकेसम्म थोराङ्ला भञ्ज्याङ पुग्ने योजना भएको उनले बताए। मनाङ विभिन्न तालतलैया, संस्कार, संस्कृति र परम्परालाई अनुभवसँगै मनाङीको आतिथ्य सत्कारलाई भरपुररुपमा आनन्द लिइरहेको उनले बताए।

images

यहाँका बाटोमा आउँदा झरना, विभिन्न तालतलैयामा भरपुर रुपमा घुम्दै एक हप्ता सकाउने योजना रहेको उनको भनाइ छ। 'यहाँ आएपछि त फर्किन नपरोस् जस्तो पो लाग्ने रहेछ, यहाँका प्रकृतिसँग रमाउँदै बस्न पो मन लाग्ने रहेछ', तामाङले भने, 'यहाँ आएर हिमालको एकदम नजिक पुगेजस्तो भइरहेको छ।'

बिदाको समय सदुपयोगसँगै नयाँ ठाउँको भ्रमण र प्रवर्द्धनमा टेवा पुग्ने उनीहरुको भनाइ छ। यसले प्रष्ट हुन्छ कि नेपालीमा भ्रमण गर्ने प्रचलन बढेको छ। नेपालीमा विस्तारै भ्रमण गर्ने योजनासहित नयाँ स्थानको भ्रमण तथा अवलोकन गर्ने प्रचलन बढ्दै गएको छ। बिदाको समयलाई नेपालीले भरपुर सदुपयोग गर्न थालेका छन्। 

यसमा हिन्दूको महानपर्व बडादसैँ र तिहार यसवर्ष एउटै महिनामा परेको छ। अहिले नेपालीले बिदाको समय पूर्णरुपमा भ्रमणमा सदुपयोग गरिरहेका छन्। दसैँ र तिहार मनाउनका लागि विदेशबाट स्वदेश फर्किएका नेपाली र कलेज, क्याम्पस अध्ययनरत विद्यार्थी लामो बिदाको सदुपयोग गर्दै मनाङ भ्रमणमा निस्कने गरेको पाइन्छ। अहिले नेपालका विभिन्न स्थानबाट हिमाली जिल्ला मनाङ आउने आन्तरिक पर्यटक बढेका छन्।

दसैँ र तिहार बिदामा पर्यटकीय क्षेत्र मनाङको भ्रमणमा आउने बढेको स्थानीय बताउँछन्। विगतको तुलनामा आन्तरिक पर्यटक बढ्नुले नेपालीमा भ्रमण तथा अवलोकनमा निस्कने प्रचलन बढेको नासों गाउँपालिका-१ का वडाध्यक्ष थुतेन लामाले बताए। उनका अनुसार दसैँको बिदामा दैनिक रुपमा मनाङ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेको छ। आन्तरिक पर्यटक बढ्दै गर्दा कोभिडका कारण सुस्ताएको व्यवसाय उकासिने अपेक्षासहित व्यावसायीमा खुसी छाएको छ। होटल व्यावसायी बाबुराम तामाङ भन्छन्, 'आन्तरिक पर्यटक आगमन हुँदा रात परेको थाहै भएन, काम गर्न भ्याइनभ्याइ छ।'

दसैँको बिदामा दैनिकरुपमा आन्तरिक पर्यटक एक हजार पाँच सय जति आउने गरेका तामाङले बताए। 'हामीलाई भ्याइनभ्याइ भएको छ, होटल तथा पर्यटन व्यवसायीलाई त पर्यटकको स्वागतमा नै व्यस्त हुँदा दसैँ आउँदा खुसी छाएको छ', उनले भने। अहिले मनाङका सबैजसो होटल भरिभराउ रहेको उनले बताए।

आन्तरिक पर्यटकले मनाङलाई गन्तव्य बनाएर आउँदा होटल तथा पर्यटन व्यवसायीमा बन्द व्यापार चलायमान भएको बताउँछन्। बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको आगमनले दुई वर्ष कोभिडले थलिएको व्यापारमा उत्साह थपिएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए।

'यसवर्ष मनाङ पर्यटकीयस्थल हो भनेर आभास भएको छ, नभए दुई वर्ष त सिजनमा पनि सुनसान भएको थियो, यसवर्ष आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकको आगमन बढेको छ', उनले भने।

पर्यटकले बासस्थानको लागि भने आवश्यक जानकारी लिनुपर्ने उनको सुझाव छ। चिसो मौसममा होटल नपाउने समस्या हुनसक्ने अवस्था रहेकाले आवश्यक जानकारी लिएर आउन उनको भनाइ छ। गुरुङले भने, 'विगतमा बाह्य पर्यटकको मात्रै आगमन हुने यस सिजनमा यसवर्ष आन्तरिक पर्यटकको पनि उल्लासमय आगमन भइरहेको छ।' यसले गर्दा सुस्ताएको व्यापारमा आशा पलाएको उनले बताए।

सिजन भएकाले सबै प्रकारका होटलमा पर्यटकको रहेका अध्यक्ष गुरुङले जानकारी दिए। आन्तरिक पर्यटकको तथ्यांक राख्ने काम नभए पनि उल्लेख्य आगमन भएको उनले बताए। 'जुनसुकै होटलमा कम भए पनि पर्यटक रहेका पाइन्छन्', उनले भने।

हिउँद लाग्ने बेलामा र वर्षायाम सुरुवातको समयमा गरी दुई सिजनमा मनाङ घुम्न अनुकूल समय मानिन्छ। यसै समयलाई मध्यनजर गरी मनाङमा पर्यटक घुम्न आउने गर्दछन्। पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी कोही मुस्ताङ त कोही पोखरा पुग्दछन्। अन्नपूर्ण पदमार्गमार्फत पदयात्रा गरी पर्यटक आ-आफ्नो गन्तव्यतर्फ जाने गर्दछन्।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौतारा हो। पर्यटकले यहाँबाट सुरु गरिएको यात्रा विशेष गरी मुस्ताङ पुग्ने गर्दछन्। अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ। काठमाडौं, पोखरा, चितवन, बुटवललगायतका स्थानदेखि बेँसीसहरसम्म सवारीसाधनमार्फत मनाङ आउन सकिन्छ। पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुवात गर्दछन्। रासस


प्रकाशित : आइतबार, कात्तिक १२ २०८०१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend