शनिबार, साउन १२ गते २०८१    
images
images
images

साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्यटकले भरिभराउ बन्दै कुश्मा

images
आइतबार, कात्तिक १२ २०८०
images
images
साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्यटकले भरिभराउ बन्दै कुश्मा

दसैँ सकिएसँगै पर्यटकको चहलपहल बढ्न थालेको छ। हिउँदयामसमेत सुरु भएकाले पर्वत सदरमुकाममा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन्। 

images

पर्वत- साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्लो केही समययता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ। विभिन्न संघसंस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएका छन्।

images
images

कुश्माबजारमा बनेको विश्वकै दोस्रो अग्लो बन्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जिपलाइन, नेपालकै अग्ला र लामा झोलुंगे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो।

images

दसैँ सकिएसँगै कुश्मामा पर्यटकको चहलपहल बढ्न थालेको हो। दसैँ तिहारजस्ता चाडबाडका कारण पनि पर्यटक बढी भित्रिएका हुन्। सरकारी वा सार्वजनिक बिदालाई पछिल्लो समय नेपालीले घुमघाम र मनोरञ्जन लिएर बिताउन थालेका छन्। हिउँदयामसमेत सुरु भएकाले पर्वत सदरमुकाममा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन्। 

विगतका वर्षमा आन्तरिक पर्यटक मात्र आउने कुश्माका पर्यटकीयस्थलमा पछिल्लो समय बाह्य पर्यटकको सङ्ख्यासमेत बाक्लिन थालेको होटल ड्रागनका सञ्चालक सुरेश केसीले जानकारी दिए। पर्यटकको सङ्ख्या बढेसँगै कुश्माबजारका होटल भरिभराउ हुन थालेका छन्।

images

पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन्। सोह्रश्राद्ध, दसैँलगायतका कारण हिमालपारीको जिल्ला मुस्ताङको कागवेनीमा श्राद्ध गर्न जाने तथा उपल्लो मुस्ताङ र कोरल्ला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलपहल बढ्न थालेको हो।

मुस्ताङ जाने दर्शनार्थी र अन्य पर्यटकले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए। चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल, कपिलवस्तुलगायतका क्षेत्रबाट शैक्षिक संघसंस्था, सहकारी संस्था, विभिन्न सामुदायिक संघ संस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउनेक्रम बढ्दो रहेको उनले बताए। कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ म्याग्दीतर्फसमेत जाने गरेको होटल व्यवसायीको भनाइ छ।

पछिल्ला केही दिनयता सदरमुकामका सुविधा सम्पन्न मानिने बन्दना, बेन्जुु, माउन्टेन भ्यू, फ्रेण्डली, धौलागिरि, मुस्ताङ, ओरियन्ट, ड्रागनलगायतका होटल भरिभराउ रहेको सञ्चालकले बताएका छन्। यता बन्जीजम्प र जिपलाइनमासमेत एक हप्ताअघिदेखि नै टिकट बुक भइरहेको सञ्चालकले बताएका छन्। अन्य दिनभन्दा शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाका दिनमा पर्यटकको चाप बढी हुने गरेको भए पनि यतिबेला लामो सरकारी बिदा भएकाले नियमितजसो भीडभाड हुन थालेको छ।

यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्यमात्रामा आउन थालेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए। दैनिक एक सयभन्दा बढीले बन्जी तथा स्वीङ गर्ने गरेको र त्यसकै हाराहारीमा पिङ, रकक्लाइम्बिङ, साइकलिङ गर्ने गरेको कार्कीको भनाइ छ।

पर्यटकको चलहपहलसँगै कुश्मा बजार नजिकै कालीगण्डकी नदीको सानो बगरमा झन्डै २० करोड रूपैयाँ लगानीको एडभेन्चर रिसोर्टसमेत बिहीबारदेखि सञ्चालनमा आएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक १२ २०८००७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend