शनिबार, साउन १२ गते २०८१    
images
images
images

पर्यटकको पहिलो रोजाइ बन्दै कञ्चनजंघा, बढ्दैछ घुम्न जानेको संख्या

images
शनिबार, कात्तिक ११ २०८०
images
images
पर्यटकको पहिलो रोजाइ बन्दै कञ्चनजंघा, बढ्दैछ घुम्न जानेको संख्या

कञ्चनजंघासँगै अन्य हिमशृङ्खला, हिमाली जनजीवन, यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ। सुन्दर र उपयुक्त गन्तव्य हुँदाहुँदै पनि कम प्राथमिकतामा परेको कञ्चनजंघा अबको महत्वपूर्ण गन्तव्य बन्ने देखिन्छ।

images

फुङ्लिङ- दसैँ तिहारको समयमा ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ। कञ्चनजंघा क्षेत्र घुम्नका लागि अन्तरिक तथा बाह्य पर्यटक पहिलो रोजाइमा पर्दै गएको छ।

images
images

दसैँको समयमा कञ्चनजंघा क्षेत्रमा बाह्य पर्यकको चहलपहल भएको फक्ताङलुङ गाउँपालिका-६ कञ्चनजंघा कञ्चनजंघा प्रवेशद्वारमा अवस्थित घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताए।

images

विश्वको तेस्रो कञ्चनजंघा हिमाल प्रवेशद्वार घुन्सा बस्तीमा पर्यटकको चलहलपहल बढ्दै गएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय घुन्सा चेकपोष्टका पर्यटन सहायक टाँसी तेन्जिङले बताए।

बाह्य पर्यटकले घुन्सा चेकपोष्टमा अनिवार्य आफ्नो विवरण दर्ता गर्नु पर्दछ। तर आन्तरिक पर्यटकले भने आफ्नो विवरण दर्ता गर्नु पर्दैन, त्यसैले कञ्चनजंघा क्षेत्रमा कति अन्तरिक पर्यटकले अवलोकन गरे भन्न तथ्यांक अहिलेसम्म कसैसँग छैन। तर प्रत्येक वर्ष कञ्चनजंघा क्षेत्रमा आन्तरिक पर्यटकको पनि आगमन बढ्दै गएको पर्यटन व्यवसायीको भनाइ छ।

images

घुन्सा चेकपोष्टका तथ्यांकअनुसार असोजयता अमेरिका, क्यानडा, कोरिया, जापान, फ्रान्स, जर्मनी, अस्टेलियालगायतका देशबाट तीन सय ५० जना बाह्य पर्यटक कञ्चनजंघा क्षेत्रमा अवलोकन गर्न पुगेका छन्। असोज, कात्तिक र मङ्सिर गरी तीन महिना यस क्षेत्रमा पर्यटक आउने गर्दछन्। विश्वको अग्लो कञ्चनजंघा हिमाल क्षेत्रमा अवलोकन गर्न आउने बाह्य पर्यटकको चहलपहल सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन्। मौसम खुलेपछि कञ्चनजंघा हिमशृङ्खला टाढैबाट मनमोहक देखिन थालेको छ। बेसक्याम्प क्षेत्र झनै सुन्दर छ। हिमाली क्षेत्रको पदयात्रा गर्ने याम सुरु भएसँगै यो क्षेत्रमा चहलपहल बढ्न थालेको छ।

कोरोनाको प्रकोप हुनुपूर्व बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा हरेक वर्ष बढोत्तरी हुँदै गएको थियो। कोरोनाकालका केही वर्षपछि यो याममा ठूलो सङ्ख्यामा पर्यटक आइपुग्ने अपेक्षा गरिएको घुन्साका पयटन व्यावसायी पेमा शेर्पा बताउँछन्।

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघासँगै अन्य हिमशृङ्खला, हिमाली जनजीवन, यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ। सुन्दर र उपयुक्त गन्तव्य हुँदाहुँदै पनि कम प्राथमिकतामा परेको कञ्चनजंघा अबको महत्वपूर्ण गन्तव्य हुने देखिन्छ।

'घुम्न आउने सिजन सुरु भएको छ। कोरोनापछि योपल्ट धेरै पर्यटक आउने अपेक्षा स्थानीयको छ। आन्तरिक र केही विदेशी पर्यटक आउन थाल्नु भएको छ', घुन्साका पर्यटन व्यवसायी धर्के शेर्पाले भने, 'करिब १८-१९ दिनमा सर्किट नै पूरा गर्न सकिन्छ। घुम्ने अत्यधिक ठाउँ भएकाले यहाँ आउने पर्यटक निकै रमाउनु हुन्छ । हामी स्वागत गर्न आतुर छौँ।'

पदयात्राका लागि यो क्षेत्र निकै महत्त्वपूर्ण र रोचक रहेको छ। कञ्चनजंघाका उत्तरी र दक्षिणी बेसक्याम्प, फक्ताङ्लुङ हिमाल यहाँको अत्यन्त महत्पूर्ण क्षेत्र हो। प्राकृतिक सौन्दर्यता, हिमाली संस्कृतिमा रमाउनका लागि महत्वपूर्ण छ। ‘कञ्चनजंघासहित हिमाल, यहाँको हावापानी, ताल, पोखरी, हिमाली जनजीवन मुख्य विशेषता हुन्।

यस क्षेत्र जाने पर्यटकलाई लक्षित गरेर पदमार्गलाई व्यवस्थित गरिएको छ। होटल, टि हाउस भएकाले कञ्चनजंघा अवलोकन गर्न सहज हुने पर्यटन व्यवसायीको भनाइ छ। यस क्षेत्रमा सडक निकै टाढा भएकाले ट्रेकिङ गर्न उपयुक्त छ। विदेशीहरुले यही भएर बढी रुचाएका छन्। क्रमशः पर्यटकको वृद्धि हुने अपेक्षा कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद्ले राखेको छ।

बस्नका लागि होटल सुविधा रहेको छ। आन्तरिक पर्यटकका लागि पनि महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताउँछन् ट्रेकिङ गाइड फुङ्सो जवेगु। आन्तरिक पर्यटकलाई घुमाउन पटकपटक पुगेका उनले धेरै सम्भावना भए पनि केही ओझेलमा यो क्षेत्र रहेको बताए।

कञ्चनजंघा क्षेत्रमातर्फ उत्तरी र दक्षिणी बेसक्याम्प रहेका छन्। उत्तरतर्फ र दक्षिणतर्फ मात्र पुगेर फर्किन्छन् भने कोही सेसेले पास गरेर सर्किट गर्छन्। आठ हजार पाँच सय ८६ मिटरको हिमालको बेसक्याम्प क्षेत्र घुम्न उत्तिकै रोचक, रमाइलो, उत्सासप्रद हुन्छ। उत्तरतर्फ पाङपेमा र दक्षिण तर्फ ओक्ताङ बेस क्याम्प रहेको छ। घुन्सा र चेराम भन्ने ठाँउ जोड्ने सेलेले पास छ। यहि पास गरेर दुवै बेसक्याम्प क्षेत्र घुम्न सकिन्छ। ताप्लेजुङ सदरमुकामबाट सेकाथुमसम्म गाडीमा गएर उत्तर तर्फ यात्रा गर्न सकिन्छ। दक्षिणतर्फ याम्फूदिनसम्म गाडी पुगेको छ। यहाँबाट पदयात्रा गर्न सकिन्छ।

दुवै वटा बेसक्याम्प उत्तिकै आर्कषक छन्। उत्तरतर्फ लिम्बु समुदायको पवित्र धार्मिकस्थलका रुपमा मानेको फक्ताङ्लुङ (कुम्भकर्ण) हिमाल पर्छ। हेर्दा निकै आकर्षक देखिने यो हिमालको महत्व निकै रहेको पाइन्छ।

काठमाडौंदेखि टाढापर्ने, ताप्लेजुङको सुकेटारको विमानस्थलको भर नपर्ने हुँदा कम पर्यटक आएका हुन सक्छन्। कञ्चनजंघा हिमालका साथमा अन्य हिमशृङ्खला रहेका छन्। कञ्चजनजंघा मध्य, कञ्चनजंघा दक्षिण, फक्ताङ्लुङ, यलुङ्काङ, काङवाचेन, किरात चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभाराजस्ता हिमालहरु रहेका छन्।

साँझमा ठाँउठाँउमा हिमाल पोखरीमा टल्किन्छ। कञ्चनजंघा, कुम्भकर्णजस्ता हिमाल हेर्नलाई अति सुन्दर छन्। बिहानदेखि साझसम्मका हिमालका बद्लिरहने हिमालका दृष्य लोभलाग्दा छन्। बाटोभरि हिमाली संस्कृति, रहनसहन देखिन्छ। हिमालको काखमा चौँरी रमाएका देखिन्छन्। हिमाललाई पृष्ठभूमि बनाएर चौँरीको तस्विर खिच्ने उत्तिकै देखिन्छन्। रासस


प्रकाशित : शनिबार, कात्तिक ११ २०८०११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend