मंगलबार, फागुन २२ गते २०८०    

मर्दीमा पर्यटक बढ्दा व्यवसायीलाई भ्याइनभ्याइ, होटल रेष्टुरेन्ट भरिभराउ

images
images
मर्दीमा पर्यटक बढ्दा व्यवसायीलाई भ्याइनभ्याइ, होटल रेष्टुरेन्ट भरिभराउ

पोखराबाट २२ किमी दुरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपयात्रापछि मर्दी पदयात्रा सुरु हुन्छ। त्यहाँबाट जंगलको बाटो हुँदै उकालो चढेर दुई हजार नौ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ।

images

कास्की- कास्की जिल्लामा अवस्थित विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको यतिबेला घुइँचो लागेको छ। दसैँअघिदेखि नै यस पदयात्रामा पर्यटकको आगमन बढ्दा होटल तथा रेष्टुरेन्ट भरिभराउ भएका छन्।

images
images

घटस्थापनादेखि आन्तरिक तथा बाह्य पर्यटक आगमन सुरु भएकामा दसैँको टीकाको भोलिपल्टदेखि पर्यटक आगमन ह्वात्तै बढेको व्यवसायीले बताएका छन्।

images

मर्दी पदयात्रा छोटो समयमा गर्न सकिने उत्कृष्ट पदयात्राभित्र पर्दछ। पोखराबाट तीन दिन दुई रातमा पदयात्रा सकेर फर्किन सकिने भएकालेसमेत अधिकांशको रोजाइमा पर्ने गरेको छ।

images

हातले समाउन सकिएलाझैँ लाग्ने गरी आँखैअघि ठडिएका हिमशृङ्खला अनि हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजंगल, सुन्दर डाँडाकाँडा र बस्तीले पर्यटक तानेको छ।

images

प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले पर्यटक लोभिने गरेका छन्। कुमारी माछापुच्छ्रे हिमालसहित मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गंगापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बर्सेनि बढ्ने गरेको छ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले दैनिक चार सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकले अहिले मर्दी पदयात्रा गर्ने गरेको बताए। उनका अनुसार पर्यटक आगमन बढेसँगै व्यवसायीलाई उनीहरुको स्वागत सत्कार र आतिथ्यतामा भ्याइनभ्याइ छ।

'कोभिडले थला परेको पर्यटनलाई अहिलेको पर्यटक आगमन बढ्दा उत्साहित भएका छौँ। दसैँको भोलिपल्टदेखि हामीलाई पर्यटकको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ', तामाङले भने।

मर्दी पदयात्रामा ६० वटा होटल तथा रेष्टुरेन्ट रहेका छन्। यहाँ दैनिक पाँच सय ५० हाराहारीमा पर्यटकलाई बास बस्नसक्ने क्षमता छ। कुनै दिन पर्यटक आगमन दैनिक पाँच सयभन्दा बढी हुने गरेको बताइन्छ।

दुई दिनअघि मर्दीको पदयात्रा गरेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले मर्दीको पदयात्रा गर्दा आफू रोमाञ्चित बनेको बताए। ‘भ्यू प्वाइन्ट’बाट देखिने सुन्दर दृश्यावलोकनले पदयात्रामा भोग्नुपरेका सबै थकान र कष्ट एकै क्षणमा भुलिने उनले सुनाए।बरालले भने, 'मर्दी ट्रेकिङ नेपालीहरुको प्रमुख रोजाइको पदयात्रा गन्तव्य बनेको छ। यसबाट आर्थिक गतिविधिमा योगदान दिएको छ, त्यहाँ गएर बस्न खान कुनै समस्या छैन। पारिवारिक यात्राको राम्रो गन्तव्यसमेत बनेको छ।'

‘भ्यू प्वाइन्ट’मा शौचालयको अभावका कारण पर्यटक समस्यामा परेको देखिएको बताउँदै प्रदेशसभा सदस्य बरालले समस्या समाधानका लागि प्रदेश सरकारसँग पहल गर्ने बताए।

पोखराबाट २२ किमी दुरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपयात्रापछि मर्दी पदयात्रा सुरु हुन्छ। त्यहाँबाट जंगलको बाटो हुँदै उकालो चढेर दुई हजार नौ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ।

माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाटसमेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन्। लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार पाँच सय मिटर उचाइको मर्दी आधार शिविर (एमबीसी) पुगिन्छ। ‘भ्यू प्वाइन्ट’बाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमालसहित पोखरा उपत्यकालगायत स्थानको दृश्यावलोकन गर्न सकिन्छ।

अधिकांश पर्यटक मर्दी हिमाल बेसक्याम्प पुगेर, घलेल, क्यानोनिङ हुँदै चिया गाउँका रुपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन्। मर्दी पदयात्रा छोटो समयको पदयात्राका रुपमा रहेकाले एक/दुई दिनको बिदाको समयमा समेत पूरा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको पदयात्रा क्षेत्रमा पर्ने होटल कालीमाटीका सञ्चालक शिव भण्डारीले बताए। रासस


प्रकाशित : शनिबार, कात्तिक ११ २०८००९:३९

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ