‘मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँ
स्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’ (तेजबहादुर घिगाल, गणेश गुरुङ र रिमा गुरुङ)
शिरमा सेतो हिमाल, मध्य भाग जंगल अनि फेदमा घलेहरूको बाहुल्य 'घलेगाउँ' विविधताको संगम हो। प्रकृतिले सिँगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ अहिले लमजुङको सुखी गाउँका रूपमा परिचित छ।
जिल्लामा सबैभन्दा बढी पर्यटक यसै गाउँमा आउँछन्। मुलुकमा जनआन्दोलनपछि आन्तरिक पर्यटकको वृद्धि हुन थालेपछि घलेगाउँबासी खुसीले गद्गद छन्। उनीहरू पर्यटकका लागि रातदिन नभनी मेहनत गर्छन्। उनीहरुको पहिलो प्राथमिकता भनेकै गाउँमा आएका पर्यटकलाई खुसी बनाउनु हो।
पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुरका अनुसार सडक, खानेपानी, स्वास्थ्य र शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर आफूले दुई दशकअघि सोचेको योजना अहिले पूरा हुन लागेको बताए। 'म भारतीय सेनामा भर्ती हुन पुगेर पनि गाउँ फर्केँ। स्याङ्जा जिल्लाको सिरुबारीका घरमा पाहुना राख्ने र गाँस र बास दिएबापत पैसा लिने गरेको सुनेँ। के कसरी रहेछ भन्ने जिज्ञासाले अध्ययन गर्न त्यहाँ पुगेँ र मैले पनि गाउँमा पाहुना राख्ने र गाउँलेलाई दुई/चार पैसाको मुख देख्न सक्ने बनाउने योजना बुनेँ ', उनले भने।
घलेगाउँलाई सुखी गाउँसमेत घोषणा गरिसकिएको छ। घले, गुरुङ र दलित समुदायको बसोबास रहेको घलेगाउँमा १ सय २५ घर रहेकामा प्रतिघरको वार्षिक आम्दानी सरदर पाँचदेखि ६ लाख रूपैयाँ र एक लाखदेखि डेढ लाख रूपैयाँसम्म वार्षिक बचत हुने गरेकाले र मापदण्ड पूरा गरेकाले गाउँलाई सुखी गाउँ घोषणा गरिएको समितिको कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिए।
'घरमै बसीबसी आम्दानी भएपछि हामी सबै खुसी र सुखी छौँ', उनले भने। विसं २०५७ बैशाख २३ गते ‘प्रथम घलेगाउँ महोत्सव’ गरी नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ का रूपमा अघि बढ्दै गरेको घलेगाउँका १२ घरमा सुरुमा पर्यटन प्रयोजनका लागि घरबास कार्यक्रम स्थापना भई प्रचारप्रसार भएपछि विसं २०५८ बैशाखमा ‘घलेगाउँ कला महोत्सव’ आयोजना गरिएको थियो। मान्छेहरूको भिडभाड हुने भएकाले सुरुमा तत्कालीन द्वन्द्वमा संलग्न माओवादीहरूले कार्यक्रम गरेको प्रति आपत्ति जनाएकामा पछि पर्यटन प्रवर्द्धनबारे कुरा बुझेपछि कुनै रोकतोक नभएको समितिका अध्यक्ष प्रेमबहादुरले बताए। पछि बिस्तारै घलेगाउँमा पाहुना आउन थाले। प्रकृति, संस्कृति र रहनसहन देखाई गाउँमै उत्पादित खाद्य पदार्थ खुवाएर उनीहरूले आम्दानी गर्न थाले । बिस्तारै घलेगाउँबारे देशविदेशमा प्रचारप्रसार हुँदै गयो।
दक्षिण एसियाली राष्ट्रहरूको संगठन (सार्क) स्थापनापछिको केही समयमै सुरुका सदस्य राष्ट्र हरेकमा नमुना ‘सार्क भिलेज’ घोषणा गरिएअनुसार नेपालको लमजुङ जिल्लाको उत्तरी भेगमा अन्नपूर्ण हिमालका काखमा अवस्थित क्होलासोथर गाउँपालिका वडा नं ३ स्थित ऐतिहासिक घलेगाउँलाई नेपालको नमुना ‘सार्क भिलेज’ मा छनोट गरिएको थियो।
यहाँ सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायत आधारभूत सुविधा पुगेपछि विसं २०७५ पुस १० गते ‘स्मार्ट भिलेज’ अभियान सुरुवात गरिएकामा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७६ मङ्सिर १७ गते विधिवतरूपमा नामकरण गरी शुभारम्भ गरेका थिए। गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेका रूपमा पनि यसलाई पुरस्कृत गर्यो। घलेगाउँकी बासिन्दा एवं घरबास पर्यटन सञ्चालक हेमकुमारी घलेले भनिन्, 'विगतमा यहाँका बासिन्दालाई दुईचार पैसाको मुख देख्नदेखि स्वास्थ्य शिक्षा, यातायात, खानेपानी, इन्टरनेटलगायत समस्या थियो तर अहिले सबै सुविधा उपलब्ध हुँदै गएकाले उनीहरू सुखी हुन थालेका छन्।'
गाउँमा दैनिक आउने पर्यटकमार्फत आम्दानी भइ यहाँका बासिन्दाको आयस्रोतमा वृद्धि हुँदै जाँदा तिनलाई पैसाको अभाव हुँदैन। यहाँका ९० प्रतिशत जनसङ्ख्यालाई आम्दानीका लागि अन्य दुःख गर्नै नपरेको अध्यक्ष प्रेमबहादुर बताउँछन्। अधिकांश वस्तु गाउँमै उत्पादन हुन्छ। समितिका सचिव उमलबहादुर विकका अनुसार अन्य घरका बासिन्दाले भने पर्यटकलक्षित व्यापार व्यवसाय गरेका छन्। स्थानीयवासीले निगालोको चोया, भेडाको ऊन, अल्लोबाट हस्तकलाका सामग्री तयार गरेर बिक्रीवितरण गर्ने छन्।
घरबासमा आएका पर्यटकले ती वस्तु खरिद गरेबाट समेत थप आम्दानी भई आयस्रोत वृद्धि हुँदै गएको स्थानीयवासी बताउँछन्। पर्यटक वृद्धि हुँदै गएको घलेगाउँमा विसं २०७३ माघ २२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले परम्परागत गुरुङ सङ्ग्रहालय उद्घाटन गरेपछि झन् बढी पर्यटक पुग्न थालेका छन्। घरबास सञ्चालकले घरमै बसीबसी पर्यटक आगमन हुँदा महिनामै ४० देखि ७० हजार रूपैयाँ आम्दानी गर्दै आएका छन्।
पर्यटन व्यवसायबाट गाउँलेले बर्सेनि करोडौँ रूपैयाँ आम्दानी गर्दै परिवारको भविष्य बनाउनेदेखि गाउँको विकासमा टेवा पुर्याएका छन्। बाइसे-चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए। स्थानीयवासीका अनुसार घले राजाले शासन गरेको र घले जातिको बाहुल्य भएकाले गाउँको नाम नै घलेगाउँ रहन गएको हो। सात सय वर्ष पुरानो मानिएको घलेगाउँलाई गुरुङ भाषामा ‘कोइम्ली’ भनिन्छ। यहाँ अन्तिम राजा क्याल्बोरोजा क्लेको सालिक निर्माण गरिएको छ। गुरुङ जातिको कर्मकाण्ड, वेद तथा अन्य शास्त्र सिक्ने र सिकाउने पाठशाला ‘क्होइँबो’ पनि यहाँ निर्माण गरिएको छ।
कोइम्लीका अधिकांश घरमा हाल घरबास कार्यक्रम सञ्चालनमा छ। गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ। पर्यटकलाई गुन्द्रक, मकै, भटमास, कोदोको सेलरोटी, चियालगायत परिकार खुवाइन्छ। पर्यटकका लागि गुरुङसंस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपूर मनोरञ्जन दिलाइन्छ। पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्यहरु प्रस्तुत गर्नु घलेगाउँबासीको परम्परा हो। घलेगाउँमा प्रतिव्यक्ति एक रातको १ हजार २ सय ५० रूपैयाँ शुल्क लिइन्छ। सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ। बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन्।
प्रकृतिले सिँगारिदिएको घलेगाउँबाट ६ हजार ९ सय ८६ मिटर उचाइको लमजुङ हिमाल, ७ हजार ९ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार ९ सय ६३ मिटर उचाइकोको माछापुच्छ्रे हिमाल, ८ हजार १ सय ६३ मि उचाइको मनास्लु हिमाल, ७ हजार ८ सय ९३ मि उचाइको हिमालचुली, ७ हजार ८ सय ३५ मि उचाइको ङादीचुली (डा हर्क हिमाल) र ६ हजार ६ सय ७२ मि उचाइको बुद्ध हिमाल देख्न सकिन्छ। सूर्योदय र सूर्यास्तको दृष्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, क्वोइबो धीं, घले राजाको सालिक, सात कुवा, चिया बगान, भीर मौरी, वनझाँक्री छहरालगायत स्थानसमेत घलेगाउँको विशेषता हो।
घलेगाउँको अर्को विशेषता हस्तकला पनि हो। गाउँबासीले दैनिक जीवनमा आवश्यकता पर्ने कतिपय वस्तु आफै तयार गर्छन्। भेंडाबाख्राको ऊनबाट राडीपाखी, बख्खु, अल्लोको धागोबाट भाङ्ग्रा, झोला, थैलो, नियालाको चोयाबाट डोको, नाम्लो, भकारी, थुन्से, घुमजस्ता वस्तु तयार गरिन्छ। धान कुट्ने ढिकी, मकै, कोदो पिस्ने जाँतो, ढुंगा, रातो रङका जस्तापाता र खरले छाएको घरको छाना, भर्याङ, ढोकामा कुँदिएको कला तथा परम्परागत घुमाउरो घरमा प्रयोग भएका स्थानीय सीप पाहुना तथा पर्यटकलाई नौलो लाग्न सक्छ। यहाँ पुराना शैलीका घुमाउरो घर, बाक्लो घले (गुरुङ) बस्ती अनि चौबिसै घण्टा पानी, बिजुली र वाइफाइको व्यवस्था छ।
स्थानीयवासीले यहाँ आउने पर्यटकलाई गाउँघरमै उब्जाइएका जैविक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेंडाको मासुलगायत परिकार खुवाउने गर्छन्। लमजुङ तथा विशेष गरी क्होलासोथर गुरुङ जातिको उद्गमस्थल हो। यही नामबाट क्होलासोथर गाउँपालिका छ। पुर्खौँपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयवासीको आफ्नै मौलिक कला, भाषा, संस्कार, संस्कृति छ। स्वच्छ हावापानीमा रमाएको गुरुङ समुदायको लमजुङमा बाक्लो बस्ती तथा बसोबास छ। एकैठाउँमा गुचमुच्च भएर बस्न रुचाउने गुरुङ समुदायभित्र एकता पनि छ। पहिले रोधी हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा र बाबा समूह, युवा क्लबमार्फत गाउँ विकासमा लागेका छन्।
जिल्ला सदरमुकाम बेँसीसहरबाट पैदलयात्रा गरेमा समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँ ६ घण्टा र सवारी साधनमा गए डेढ घण्टामै पुगिन्छ। काठमाडौंबाट तनहुँको डुम्रे बजार हुँदै बेँसीसहरसम्मको १७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहर ११० किमीको दुरीमा छ। त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ।
घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ। कालोपत्रे गर्दै गाउँसम्म पुर्याउनका लागि काम अघि बढिरहेको छ। केही वर्षभित्रै कालोपत्रे सम्पन्न भएपछि यात्रा अझै सहज र छिटो हुनेछ।