आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बागलुङको बेलढुंगा

images
शुक्रबार, कात्तिक १० २०८०
images
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बागलुङको बेलढुंगा

हरेक वर्ष हजारौँ पर्यटक पुग्ने यस ठाउँमा काठेखोला गाउँपालिकाले पनि पर्यटन पूर्वाधारका लागि बर्सेनि बजेट बिनियोजन गर्दै आएको छ।

images
images

ढोरपाटन- बेलढुंगा बागलुङ र म्याग्दीको सिमानामा पर्छ। उच्च पहाडी क्षेत्रमा रहेको बेलढुंगा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ। 

images
images
images

स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरिरहेको छ । बाह्रै महिना बेलुंगामा पर्यटक आए पनि यस याममा अझ बढी आउने अपेक्षा गरिएको छ। बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा ओखलेको र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको शिरमा रहेको यस क्षेत्रमा मोटरबाटो तथा पदमार्गमार्फत सहजै पुग्न सकिने हुँदा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ।

images
images

एक दशक अगाडिसम्म सुनसान रहेको बेलढुंगा अहिले चर्चित बन्दै गएको छ। हरेक वर्ष हजारौँ पर्यटक पुग्ने यस ठाउँमा काठेखोला गाउँपालिकाले पनि पर्यटन पूर्वाधारका लागि बर्सेनि बजेट बिनियोजन गर्दै आएको छ।

images
images

पर्यटन पूर्वाधार निर्माणपछि पर्यटक बढ्ने क्रम जारी छ। समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढुंगामा दसैँ र तिहार बीचमा बढी पर्यटक आउने गरेको पाइन्छ। विद्यार्थी प्राध्यापक तथा अन्य सरकारी तथा गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी बढी आउने गरेको स्थानीयको भनाइ छ।

मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरधाम र बागलुङको कालिका मन्दिर, पञ्चकोट तथा शालिग्राम सङ्ग्रहालय नजिकै रहेको हुँदा पर्यटक दैनिक बेलढुंगा पुग्ने गरेका छन्। आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँमा ओझेलमा थियो। जब सडक सञ्जालले बेलढुंगा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ पर्‍यो। हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरुले बेलढुंगामा चहलपहल निकै हुने गर्छ। अहिले पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको सङ्ख्या अझ बढ्दो छ।

बेलढुंगा नजिकै ओखले गाउँमा सामुदायिक घरबास ‘होमस्टे’ छ। जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ। हरेक दिन पर्यटक बेलढुंगा आउने गरे पनि असोज अन्तिम सातादेखि भीड नै लाग्ने गरेको स्थानीय गोपाल श्रीसले बताए। पछिल्लो केही दिनयता दैनिक दुई सयभन्दा बढी पर्यटक बेलढुंगा आउने गरेको उनको भनाइ छ।

अधिकांश पर्यटक दिउँसो आउने र साँझ फर्कने हुँदा ओखले गाउँमा रहेको सामुदायिक घरबासमा कम पाहुना मात्रै बस्ने गरेको उनले बताए। 'पहिले-पहिले बेलढुंगामा यस्तो चहलपहल हुँदैनथ्यो, अहिले त विकास भएर पनि होला, प्रचार पनि धेरै भएर होला, घुम्न आउनेको सङ्ख्या प्रत्येक वर्ष बढिराखेको छ, यस वर्ष निकै बढी आएको पाएका छौँ', उनले भने, 'अहिले यो ठाउँ निकै व्यवस्थित पनि भएको छ, बागलुङ र म्याग्दी दुई तिरबाट मान्छेहरु आउने गर्छन्, दुई जिल्लाबाहेक पोखरा, काठमाडौंलगायत ठाउँबाट पनि यहाँ घुम्न आउँछन्, यो ठाउँ निकै सुन्दर रहेको हुँदा कहिलेकाहीँ विदेशी पर्यटक पनि फाटफुट आउने गरेका छन्, केही दिन भयो दैनिक दुई सयभन्दा बढी पर्यटक यहाँ आइरहेका छन्।'

स्थानीय घरबास सञ्चालक मायाकुमारी छन्त्याल श्रीसले दसैँदेखि पाहुनको चाप पनि बढ्न थालेको बताए। पाहुनालाई स्थानीय उत्पादन कोदोको सेलरोटी, लोकल कुखुराको मासु, आलुलगायत परिकार खुवाउने गरेको श्रीसको भनाइ छ। घरबास सञ्चालनमा आएपछि बेलढुंगा आउने पर्यटकलाई निकै सहज भएको उनले बताए। पछिल्लो केही दिनयता पाहुन नभएको रात नै नभएको उनको भनाइ थियो।

उनले भने, 'बेलढुंगामा पर्यटक बढेपछि हाम्रो होमस्टे पनि राम्रो चलेको छ, पहिले कम मात्रै पर्यटक आउँदा हामीहरुलाई होमस्टे चलाउन गाह्रो थियो, यहाँ आउने पाहुनाले स्थानीय उत्पादनका परिकारको माग गर्नुहुन्छ, यहाँ उपलब्ध परिकार उहाँहरुलाई दिने गरेका छौँ, दिनदिनै पर्यटक आउने क्रम जारी छ, हरके दिन पर्यटकको सङ्ख्या बढ्दै गएको छ।'

दसैँतिहारका लागि क्याम्पस बिदा भएको हुँदा बेलढुंगा घुम्न आएको पर्वतका निशान कार्कीले बताए। सामाजिक सञ्जालमा बेलढुंगाको फोटो र भिडियोहरु निकै भाइरल भएको हुँदा १३ जनाको समूह बनाएर यहाँ घुम्न आएको उनको भनाइ थियो। बेलढुंगादेखि सूर्योदय पनि देखिने हुँदा एक दिन बागलुङ र अर्को दिन म्याग्दीमा बास बसेर अवलोकन गर्ने कार्कीको भनाइ छ। बेलढुंगाको अवलोकनपछि ढोरपाटन पुग्ने योजना रहेको उनले बताए। 

'बिदाको समय घुमौँ भनेर एक हप्ताको यात्रा तय गरेका छौँ, यसपालि बागलुङ, म्याग्दी र पर्वतका पर्यटकीय ठाउँ घुमौँ भन्ने छ, दोस्रो दिन बेलढुङ्गा पुगेको निकै रमाइलो रहेछ, हिमालहरु नजिकैबाट देख्न पाइँदोरैछ, वातावरण पनि शान्त,' उनले भने, 'पहिले पनि यहाँ आउने चाहना थियो तर समय नमिलेको हुँदा आउन सकेको थिएन, यसपालि चैँ मज्जाले घुमियो, ठाउँ हेरियो।'

बेलढुंगाबाट धौलागिरि, माछापुच्छ्रे अनगिन्ती हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ। बागलुङ, पर्वत, कास्की, गुल्मीलगायत ठाउँहरु पनि सहज रुपमा देख्न सकिन्छ। काठेखोला गाउँपालिकाले पनि बेलढुंगाको प्रवद्र्धन गर्न थालिरहेको छ।

गत वर्ष विनियोजन गरेको दुई लाख ५९ हजारबाट बेलढुंगालाई फराकिलो र व्यवस्थित बनाइएको छ भने गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा देउराली डाँडादेखि यहाँसम्म जोड्ने दुई सय ६० मिटर स्लेट ढुंगा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ। बागलुङ नगरपालिका-६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल मार्गसमेत बनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १० २०८००७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend