काठमाडौं- दसैँ बिदाको बेला पारेर नेपाल वायुसेवा निगमले खुसुक्क जहाज खरिदको टेन्डर सूचना निकालेको छ। निगमले तीन वटा स्टल जहाजका लागि टेन्डर निकालेको छ। ५० अर्ब रुपैयाँभन्दा बढी ऋण तिर्न नसकेको निगमले थप भार पर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको जोडबलमा जहाज खरिद प्रक्रिया अगाडि बढाएको हो।
निगमले ३५ दिनभित्र आवेदन पर्नेगरी डिसेम्बर ५ सम्मको सूचना प्रकाशन गरेको छ। दुर्गम क्षेत्रमा उडान गर्नेगरी निगमले टेन्डर प्रकाशन गरेको छ। जसको अहिले पनि ३ अर्ब हाराहारी मूल्य पर्दछ।
निगमले विगतमा किनेका चार ठूला जहाज खरिदको किस्तासमेत तिर्न नसकेको बेला कमिसनको लोभमा नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाएको छ।
निगम नेतृत्वले जहाज खरिदमा चासो दिने तर पुराना जहाज मर्मतमा ध्यान नदिने गरेका छन्। ११ वर्षदेखि निगमको एउटा जहाज ह्यान्गरमा थन्किएर बसेको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान भर्ने ट्वीनअटर डीएचसी ६–३०० कलसाइन एबीएक्स जहाज २०६९ साल भदौ ९ गते लुक्लाबाट काठमाडौं अवतरण गर्ने क्रममा पंखामा सामान्य समस्या आएपछि ग्राउन्डेड गरियो। त्यसयता नेपाल वायुसेवाले दर्जनौँको संख्यामा नेतृत्व फेर्यो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दर्जनौँ सचिव फेरिए। दर्जनौँ मन्त्रीसमेत फेरिए। तर उडिरहेको क्यानडियन ट्वीनअटर जहाज बनाउनेमा कसैको नजर गएन।
जुन जहाज ११ वर्षदेखि निगमको ह्यांगरमा थन्क्याएर राखिएको छ। जहाजको इन्जिनको साइकल बाँकी नै छ। विङको लाइफ सकिएको छ। साथै अब सबै वडी तथा पार्ट्सको परीक्षण गर्न जरुरी छ। त्यसको लागि निगमकै इन्जिनियरहरुसमेत योग्य छन्। जहाज मर्मत गरेमा दैनिक ८ वटासम्म उडान तथा अवतरण गर्न सक्छ।
हाल निगमले खरिद गर्न लागेको ३ वटा जहाजको मूल्य ३ अर्ब रुपैयाँ हाराहारी पर्नेछ। सोही जहाज ११ वर्षदेखि ग्राउन्डेड गरिएको जहाज मर्मतमा ४५ लाखदेखि ६० लाख रुपैयाँ लाग्ने अनुमान रहेको छ। तर निगमले स्टल उडान गर्ने जहाज भनेपनि ट्वीनअटर भनेर किटान गरेको भने छैन। तर ट्वीनअटर नै खरिद हुने बुझिएको छ।
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पनि मर्मत सम्भार विभागका इन्जिनियरहरुले पटक पटक भेटेर जहाज मर्मतको लागि चासो दिन आग्रह गरेका छन्। जहाज मर्मत गरेर तीन वटा जहाजले उडान भर्दा दैनिक २४ वटा उडान तथा अवतरण दुर्गम क्षेत्रमा गर्न सकिने भन्दै सुझाव नै दिएका थिए।
तर अधिकारीको चासो नयाँ जहाज खरिदमा भएकाले मर्मतमा जाँगर नदिएको निगमका अधिकारीहरु बताउँछन्। हाल आन्तरिक उडानका लागि ११ वर्ष अगाडि खरिद गरिएका चिनियाँ ६ थान जहाज ग्राउन्डेड गरिएको छ। अहिले चिनियाँ जहाजको केही टुंगो छैन।
कमिसनका लागि नयाँ जहाज खरिद
निमग व्यवस्थापनले कमिसनको लोभमा स्टल उडानका लागि भन्दै ३ वटा जहाज खरिद प्रक्रिया अगाडि बढाएको छ। जहाज खरिदका लागि निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधीर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन गरेको थियो।
निगमसँग अहिले भएका ३ वटा ट्वीनअटर जहाज उडान योग्य बनाउँदै फूलफेजमा सञ्चालन गर्ने हो भने दैनिक २४ वटा ल्याण्ड तथा टेकअफ गर्न सक्छ। ३ वटा जहाजलाई केही रकम खर्च गरे उडान योग्य बनाउनुको सट्टा कमिसनको लोभमा जहाज खरिद गर्न खोजिएको छ।
३ वटा ट्वीनअटर जहाज उडानका लागि चाहिने प्राविधिकलगायत सबै कर्मचारी निगमसँग छ। ३ वटा उडान फूलफेजमा सञ्चालनका लागि चाहिने प्रशिक्षक पाइलट २ जनासहित अहिले पनि ५ जना क्याप्टेन र ४ जना को-पाइलट छन्। ३ वटा ट्वीनअटर जहाज उडानका लागि अधिकत ७ जना क्याप्टेन तथा ७ जना नै को-पाइलट भए पुग्छ।
यता निगमले जहाज खरिदमा लिएको ऋणसमेत तिर्न सकेको छैन। जहाज खरिदमा लिएको ऋण बढेको बढ्यै छ। महालेखाले समेत निगमको जहाज खरिदमा लिएको ऋणको विषयमा प्रश्न उठाइरहेको छ।