काठमाडौं- चुनाव हारेपछि गैरआवासीय नेपाली संघ एनआरएनमा फुटको घोषणा राजेन्द्र कुमार (आरके) शर्माले आफैलाई अध्यक्ष घोषणाा गरेका छन्। यो सँगै ११ औँ महाधिवेशनबाट एनआरएनए फुटेको छ। महाधिवेशनबाट बद्री केसी निर्वाचित भएका थिए। तर शर्माले नमान्ने भन्दै आफ्नै नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरेका छन्।
शर्माले कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन्। त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन्।
महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन्। त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन्।
कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन्। यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन्।
शनिबार साँझ ललितपुरमा पत्रकार सम्मेलन गर्दै ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए।
बद्री केसी अध्यक्षमा विजयी भएका थिए। बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भए। केसीले १३७८ मत ल्याएका थिए। शर्माले १२८१ र श्रेष्ठले १२२५ मत ल्याएका थिए।
छ जना उपाध्यक्षमा डा. हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिमखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र डा। विनोद श्रेष्ठ निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा रोजिना प्रधान, युवा उपाध्यक्षमा रोसन थापाले विजयी भएका छन्। संघको महासचिवमा गौरीराज जोशी निर्वाचित भएका छन्। उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ विजयी भएका छन्।
सचिवमा भिम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणी पोखरेल र स्वतन्त्र प्रताप शाह विजयी भएका छन्। महिला सचिवमा टिक गुरुङ, कोषाध्यक्षमा सुदन थापा विजयी भएका छन्।
सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना, अभिमन्यू बस्नेत र तिलक प्रसाद गैरे विजयी भएका छन् भने महिला सहकोषाध्यक्षमा अमृत थापा विजयी भएका छन्। अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान विजयी भएकी छन्।