बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल एयरलाइन्सको बजेट २३ प्रतिशतले बढ्यो, पौन २ अर्ब नाफा कमाउने लक्ष्य

मंगलबार, मंसिर ७ २०७८
नेपाल एयरलाइन्सको बजेट २३ प्रतिशतले बढ्यो, पौन २ अर्ब नाफा कमाउने लक्ष्य

निगमले चालु आवको लागि २३ अर्ब २७ करोड  ९४ लाख  ६९ हजार  रुपैयाँ बराबरकोक बजेट स्वीकृत गराएको छ।

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वीकृत गरेको छ। केही दिनअगाडि बसेको निगम सञ्चालक समितिले चालू आवको बजेट आर्थिक वर्ष सुरु भएको ४ महिनापछि पारित गरेको हो।

सञ्चालक समिति सचिव अशोक सिग्देलका अनुसार निगमले चालु आवको लागि २३ अर्ब २७ करोड  ९४ लाख  ६९ हजार  रुपैयाँ बराबरको बजेट स्वीकृत गराएको छ।

चालु आवको बजेट गत आवको भन्दा २३ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०७७/०७८ मा निगमले १७ अर्ब ८९ करोड ६४ लाख ६१ हजार रुपैयाँ विनियोजन गरेको थियो।

चालु आवको बजेट गत आवको भन्दा ५ अर्ब ३८ करोड रुपैयाँले बढी हो। निगमले चालु आवमा सञ्चालन आम्दानीबाट  १९ अर्ब ६२ करोड ४ लाख ८२ हजार रुपैयाँ आय गर्ने लक्ष्य लिएको छ।

यसैगरी ग्राउन्डह्यान्डिलिङ सेवाबाट ३ अर्ब ६१ करोड १७ लाख १४ हजार रुपैयाँ र भाडा तथा अन्य आम्दानीबाट ४ करोड ७२ लाख ७४ हजार आय गर्ने लक्ष्य सहित कुल २३ अर्ब २७ करोड ९४ लाख ६९ हजार रुपैयाँको बजेट निगम सञ्चालक समितिबाट स्वीकृत भएको छ।

निगमले चालु आवमा  सञ्चालन खर्चतर्फ १७ अर्ब ७ करोड ३४ लाख ७५ हजार र पुँजीगत खर्च ४ अर्ब ५० करोड ४५ लाख २ हजार रुपैयाँ गरी २१ अर्ब ५७ करोड ७९ लाख ७७ हजार खर्च हुने जनाएको छ।

यसरी कुल आम्दानीबाट कुल खर्च कटाइ १ खर्ब ७० करोड १४ लाख ९३ हजार रुपैयाँ चालु आवमा नाफा गर्ने लक्ष्य लिएको छ।

निगम गत आर्थिक वर्ष २०७७/०७८ मा भने आर्थिक वर्ष २०७६/०७७ को तुलनामा १३ प्रतिशत कम गर्दै १७ अर्ब ८९ करोडको बजेट ल्याएको थियो।निगमले आव २०७६/०७७ मा भने २० अर्ब ४६ करोड २९ लाख रुपैयाँ बजेट ल्याको थियो।

निगमले अहिले अन्तर्राष्ट्रिय उडान तर्फ ४ वटा जहाजले उडान गर्दै आएको छ भने आन्तरिक उडान तर्फ २ वटा टि्वनअटर जहाजबाट उडान गर्दै आएको छ।

७ जना सञ्चालकमा ४ जनाबाटै बजेट स्वीकृत

निगम सञ्चालक समितिमा ७ जना रहेका छन्। तर बजेट स्वीकृत भएको दिन ४ जना मात्रै उपस्थित भएर बहुमतबाट बजेट पारित गरेका हुन।

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी, निजीक्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यवसायी किशोर प्रधान, पर्यटन मन्त्रालयका सहचिव लक्ष्मी कुमारी बस्नेत र अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने महेश आचार्य मात्रै उपस्थित भएको बैठकले बजेट स्वीकृत गरेको छ। अन्य ३ जना सञ्चालक ईश्वरी पौडेल, फुर्वा ग्याल्जे शेर्पा र डिम प्रकाश पौडेलको भने उपस्थिति रहेको थिएन।


प्रकाशित : मंगलबार, मंसिर ७ २०७८०४:२९
  • सम्बन्धित विषय:

  • # नेपालएयरलाइन्स
  • # NAC


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend