आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

दसैँमा ३० अर्बले कर्जा बढेपनि प्रणालीमा अझै ४ खर्ब ९० अर्ब तरलता, ३८ अर्बले बढ्यो निक्षेप

शुक्रबार, कात्तिक ३ २०८०
दसैँमा ३० अर्बले कर्जा बढेपनि प्रणालीमा अझै ४ खर्ब ९० अर्ब तरलता, ३८ अर्बले बढ्यो निक्षेप

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा निक्षेपको अनुपातका आधारमा ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन्।

काठमाडौं- दसैंको समयमा सरकारले खर्च बढाउँदा बैंकिङ प्रणालीमा ३८ अर्बले निक्षेप थपिएको छ। असोजको ३० गतेसम्ममा बैंकिङ प्रणालीमा ५९ खर्ब १५ अर्ब कायम भएको छ।

असोज २९ भन्दा अगाडी बैंकिङ प्रणालीमा ५८ खर्ब ७७ अर्ब निक्षेप रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।निक्षेपसँगै कर्जा लगानी पनि ३० अर्ब बढेको छ।

असोज ३० गतेसम्म बैंकिङ प्रणालीबाट कुल ५० खर्ब कर्जा लगानी भएको छ। यसअघि प्रणालीमा ४९ खर्ब ७० अर्ब कर्जा प्रवाह भएको थियो। 

बैंकिङ प्रणालीमा निक्षेप तथा कर्जा बढेसँगै बैंक तथा वित्तीय संस्थाको औषत कर्जा निक्षेप अनुपात(सीडी) ८१.७१ प्रतिशतबाट ८१.७४ प्रतिशत कायम भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले कर्जा निक्षेपको अनुपातका आधारमा ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन्। 

बैंकिङ प्रणालीमा कर्जा प्रवाह बढेसँगै अन्तर बैंक ब्याजदर पनि बढ्न थालेको छ। असोज २९ गतेभन्दा अगाडी १.९२ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर असोज ३० पछि १.९९ प्रतिशत कायम भएको छ। 

यस्तै सीडी अनुपातका आधारमा हाल बैंक तथा वित्तीय संस्थाहरुसँग करिब ४ खर्ब ९० अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। 

सरकारले असोज १ गतेदेखि कार्तिक २ गतेसम्ममा करिब १ खर्ब ६७ अर्ब रुपैयाँ खर्च भुक्तानी गरेको छ। खर्चको तुलनामा सरकारले राजस्व असुली कम गरेकाले अर्थतन्त्र चलायमान भएको छ।

जसले अर्थतन्त्रमा नगद प्रवाह बढी भएको छ। निजामति कर्मचारी, सेना, प्रहरी, सशस्त्र र शिक्षकको असोज महिनाको तलब भत्ता, दसैँ पेस्की, सामाजिक सुरक्षा भत्तालगायतको भुक्तानी दिएकाले पनि बैंकिङ प्रणालीमा निक्षेप थपिएको छ। 

यस्तै सरकारले यसै अवधिमा रोकिएको स्थानीय तहको वित्तीय समानिकरण अनुदान र निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिएको छ। निजी क्षेत्र विभिन्न उद्योग, व्यवसाय, कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले दसैँको तलब भत्ता लगायतको भुक्तानी दिएकाले प्रणालीमा निक्षेप थपिएको हो।

बैंक तथा वित्तीय संस्थाले कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। जसले गर्दा मंसिर महिनादेखि ब्याजदर घट्ने भएकाले आगामी समयमा कर्जा प्रवाह गर्ने अपेक्षा बैंक तथा वित्तीय संस्थाले लिएका छन्।


प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८०१५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend