आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

बेमौसमी सुन्तला फलाउँदै खड्का

images
बिहीबार , कात्तिक २ २०८०
images
बेमौसमी सुन्तला फलाउँदै खड्का

सुन्तला गाउँका रुपमा परिचित बागलुङको सिगानामा मौसमी सुन्तला बिक्रीबाटै तीन करोड रूपैयाँ वार्षिकरुपमा गाउँ भित्रिँदै आएको छ।

images
images

बागलुङ- सिगानामा दसैँअगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी एक सय रूपैयाँका दरले बिक्री गरे। उन्सु जातको सुन्तला उत्पादन गर्दै आएका खड्काले ‘सिजन’मा तीन लाख रूपैयाँको सुन्तला बिक्री गर्छन् भने ‘अफसिजन’मा अर्थात् असोजमा उन्सु जातको सुन्तलाको परीक्षण उत्पादन गर्दै आएका छन्।

images
images
images

उनले गतवर्ष बेमौसमी जातको सुन्तला बिक्रीबाट ५० हजार रूपैयाँ आम्दानी गरेको र अहिले सुन्तलाको उत्पादन घटेकाले २० हजार रूपैयाँको बिक्री गरिसकेको र अन्य सुन्तला आफन्तलाई कोसेली पठाएको बताए।

images
images

'परीक्षणका लागि ६ वर्षअघि उन्सु जातको सुन्तला लगाएको थिए', खड्काले भने, 'अहिले दसैँ खर्च बेमौसमी सुन्तलाबाटै हुँदै आएको छ।' सुन्तला गाउँका रुपमा परिचित बागलुङको सिगानामा मौसमी सुन्तला बिक्रीबाटै तीन करोड रूपैयाँ वार्षिकरुपमा गाउँ भित्रिँदै आएको छ। अगुवा सुन्तला किसान टोपबहादुर खड्काले सुन्तला बगानमा बेमौसमी जातका सुन्तला फलाउँदै आएका छन्।

images
images

खड्काले चार वर्षदेखि बेमौसमी सुन्तलासमेत उत्पादन गर्दै आएका छन्। तर मौसमी जातको तुलनामा १० प्रतिशत मात्रै बेमौसमी सुन्तला उत्पादन हुने गरेको उनको भनाइ छ। सामान्यतः सुन्तलाको सिजन मंसिरबाट सुरु भए पनि उनले ५० बोटमा बेमौसमी सुन्तला फलाएका छन्। खड्काको सुन्तला बगैँचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ। बेमौसी सुन्तलाको बोट भने सानो हुने र रोपेको कम समयमै फल्ने गर्दछ। 

बागलुङ नगरपालिका-८ सिगानामा खड्काले परीक्षणका रुपमा लगाएको बेमौसमी सुन्तला असोजमै पाक्ने गरेको छ। उक्त सुन्तला घरमा खपत र कोसेलीका रुपमा पठाएपछि बाँकी रहेको बिक्री गर्छन्।

अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यसोधा र पोंकान भने एक महिनापछि पाक्छन्। 'बेमौसी सुन्तला व्यावसायिकरुपमा भन्दा पनि परीक्षण्का लागि हो, असोजमा उन्सु जातको सुन्तला टिपियो, अब एक/एक महिनाको फरकमा यसोधा र पोंकान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो भन्ने हो', खड्काले भने, 'मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँचवटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ।'

बगैँचा सजावटका लागि पनि उक्त जातको सुन्तला प्रयोग गरिन्छ। खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने गरेको बताए। विसं २०३२ सालदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका खड्का बेमौसमी जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउँछन्।

६ वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फल्न थालेका छन्। उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ।

नेपालमा अधिकांश सुन्तला कात्तिकदेखि मंसिरको अवधिमा पाक्छन्। खड्काले भने भदौदेखि असोजको समयमा पाक्ने जापानीज जातका सुन्तला लगाएका हुन्। खड्काले पाँच रोपनी क्षेत्रफलको सुन्तला बगैँचामा हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाएका छन्। खड्काले मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची र तरकारी खेती गर्दै आएका छन्। रासस


प्रकाशित : बिहीबार , कात्तिक २ २०८०११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend