काठमाडौं- औद्योगिक उत्पादन एकद्वार व्यापार हो। कम्तिमा आजका मितिसम्म संसारभर औद्योगिक उत्पादन एकतर्फी मात्र छ। सामान्यत: औद्योगिक उत्पादनका क्रममा कच्चा पदार्थ जम्मा भएर फ्याक्ट्रीमा जान्छ र प्रक्रिया पूरा भएपछि तयारी वस्तुका रुपमा बजारमा आउँछ।
कुनै पनि वस्तु उत्पादन भएर फ्याक्ट्रीबाट बाहिर गएपछि उत्पादकको ध्येय भनेको बिक्री गर्नुमात्र हुन्छ। त्यसपछिको अवस्थाका बारेमा कुनै पनि चासो हुँदैन। बाध्यकारी कानूनी व्यवस्था भएको बाहेक अरुमा उत्पादकले उत्पादित वस्तुको उपयोगपछिको अवस्थाका बारेमा टाउको दु:खाउन पर्दैन पनि।
यसरी उत्पादन भएर आफ्नो साइकल पार गरेपछि धेरैजसो त्यो फोहरका रुपमा बिसर्जन हुन्छ। कति जलाइन्छ भने कति ल्यान्डफिल साइटमा फालिन्छ र अन्तत: यस्तै उत्पादित फोहरका कारण धर्ती प्रदूषण भइरहेको छ। पछिल्लो ५० वर्षमा कच्चा पदार्थको खपत चार गुणाले(१ खर्ब टन) बढेको हालै प्रकाशित एक प्रतिवेदनमाउल्लेख गरिएको छ। यसरी खपत भएको कच्चा पदार्थको पुन: प्रयोग दर जम्मा ९ प्रतिशत मात्र छ। अर्थात् सय किलो कच्चा पदार्थ खपत हुँदा ९ किलो मात्र फेरि उपयोगमा आउने गरेको छ।
औद्योगिक उत्पादनलाई पनि चक्रीय अर्थतन्त्रसँग जोड्ने र कुनै पनि कच्चा पदार्थलाई पुन: प्रयोगमा ल्याउने भनेर कयौं ठूला उद्योगपति तथा उद्योगीले बहस भने गर्न छाडेका छैनन्। आफ्नो ब्रान्ड ख्यातिलाई बलियो बनाउनका लागि भएपनि उद्योगपतिहरूले यस्तो गफ गरिरहेका छन्। तर चक्रीय अर्थतन्त्र, चक्रीय औद्योगिक उत्पादन भने अझै माथि उठ्न त के सुरू नै खासै भएको छैन।
तर यसको सुरुवात गर्नसक्ने र निकट भविष्यमै औद्योगिक उत्पादनमा नयाँ मानक स्थापित गर्नसक्ने सबैभन्दा सम्भाव्य क्षेत्र उदाएर आएको छ। ती हुन् गिगाफ्याक्ट्री(विद्युतीय सवारीका लागि ब्याट्री उत्पादन गर्ने कारखाना)।
संसारका हरेक कार उत्पादक देशले अहिले गिगाफ्याक्ट्री खोजिरहेका छन्। किनभने अबको सवारी साधनको बजारमा मुख्यधार विद्युतीय सवारी हुँदैछ। बिजुलीबाट चल्ने सवारी साधनको माग र आकर्षण र सरारी प्रबर्द्धन नीति बढ्दै गर्दा उत्पादक कम्पनी पनि यसमै लागिरहेका छन्। तर आजका मितिसम्म विद्युतीय सवारीको सबैभन्दा मुख्य र महंगो पार्ट्स भनेकै ब्याट्री हो।
यस्ता ब्याट्री महंगा मात्र छैनन् यसमा प्रयोग हुने कच्चा पदार्थ पनि उत्तिकै दूर्लभ र महंगा पनि छन्। लिथियम, कोबल्ट, म्याग्नेस तथा निक्कल जस्ता पदार्थको उपयोग यसमा हुन्छ। यस्ता पदार्थको आपूर्ति पनि उत्तिकै जटिल छ। त्यही भएर ब्याट्री उत्पादक कम्पनीले आफ्ना आधुनिक कारखानाको जडान नै यसरी गरिरहेका छन् कि जसमा पुन:प्रयोग गर्न सकियोस्।
ब्याट्री उत्पदान गर्ने कारखाना परम्परागत एकहोरो उत्पादन होइन यसमा चक्रीय उत्पादन प्रक्रिया सुरु गर्ने खालका छन्। यो अवधारणमा गाडीमा उपयोग भएका ब्याट्रीको अवधि सकिएपछि फेरि कारखानामा जान्छन् र त्यसको पुन:प्रयोग गरिन्छ।
यी ब्याट्री उत्पादन गर्ने कारखानाले चक्रीय अर्थतन्त्र तथा औद्योगिक उत्पादनको आधार खडा गरिरहेका छन्।
स्वीडिस ब्याट्री उत्पादक कम्पनी नर्थभोल्टले सन् २०३० सम्म १५० गिगावाटआवर ब्याट्री उत्पादन गर्ने लक्ष्य लिएको छ। यो भनेको २० लाख गाडीका लागि पुग्ने ब्याट्रीको संख्या हो। यो कम्पनीले त्यतिबेलासम्म आफूले उत्पादन गर्ने कूल ब्याट्रीमा आवश्यक कच्चा पदार्थको ५० प्रतिशत पूराना ब्याट्रीबाट जुटाउने लक्ष्य लिएको छ।
संसारमा यो मात्र यस्तो ब्याट्री उत्पादक कम्पनी होइन चिनियाँ कम्पनी क्याट्लले पनि ब्याट्रीको कार्वन उत्सर्जन फुटप्रिन्ट शून्य बनाउनका लागि यही अवधारणामा जाने भएको छ। ब्याट्री उत्पादन मात्र नभएर कार उत्पादक कम्पनीले पनि आफ्नो उत्पादनलाई चक्रीय बनाउनेगरि काम अघि बढाएका छन्।