आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मर्जरपछि नाफा बढाउँदै यी ५ वाणिज्य बैंक, २ महिनामै कमाए १ अर्बभन्दा माथि

बुधबार, कात्तिक १ २०८०
मर्जरपछि नाफा बढाउँदै यी ५ वाणिज्य बैंक, २ महिनामै कमाए १ अर्बभन्दा माथि

सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंक रहेका छन्। पछिल्लो दुई महिनामा माछापुच्छ्रे बैंकले ३७ करोड ६४ लाख रूपैयाँ र नेपाल एसबिआई बैंकले २७ करोड २९ लाख रूपैयाँ खुद नाफा गरेका छन्। 

काठमाडौं- मर्जरमा गएका वाणिज्य बैंकले मर्जरको लाभ लिन थालेका छन्। मर्जरमा गएका ५ वाणिज्य बैंकले २ महिनामा नै अर्बभन्दा बढी नाफा कमाएका छन्।

राष्ट्र बैंकको वाणिज्य बैंक मर्जर नीतिपछि जनता बैंक र बैंक अफ काठमाडौंसँग मर्जर गरेको ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै नाफा गरेको छ। यस बैंकले साउन र भदौ महिनामा १ अर्ब ७५ करोड ५८ लाख रूपैयाँ खुद नाफा गरेको छ।

बंगलादेश बैंकलाई आफूमा गाभेको नबिल बैंकले ग्लोबल आईएमईपछि सबैभन्दा धेरै नाफा गरेको छ। यस बैंकले चालु आर्थिक वर्षको दुई महिनामा १ अर्ब ५६ करोड ४५ लाख रूपैयाँ खुद नाफा गरेको छ। 

मेघा बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर भएर बनेको नेपाल मेगा इन्भेष्टमेन्ट सबैभन्दा धेरै नाफा गर्ने वाणिज्य बैंकको सूचीमा तेस्रो स्थानमा रहेको छ। यस बैंकले पछिल्लो दुई महिनामा १ अर्ब ४८ करोड ६५ लाख रूपैयाँ नाफा गरेको छ। सिभिल बैंकसँग मर्जर गरेको हिमालयन बैंकले पनि १ अर्ब २३ करोड रूपैयाँ नाफा गरेको छ। 

एनसीसी बैंकसँग मर्जर गरेर बनेको कुमारी बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंकको पाँचौँ स्थानमा रहेको छ। यस बैंकले १ अर्ब १४ करोड रूपैयाँ खुद नाफा गरेको छ। यस्तै लक्ष्मी र सनराइज मर्जर भएर बनेको लक्ष्मी सनराइज बैंकले ८१ करोड ४१ लाख रूपैयाँ खुद नाफा गरेको छ।

सेन्चुरी बैंकलाई गाभेको प्रभु बैंकले भने चालु आर्थिक वर्ष खुद नाफा बढाउन सकेको छैन। यस बैंकले चालु आर्थिक वर्षको दुई महिनामा  ६६ करोड ४२ लाख रूपैयाँ  मात्रै नाफा गरेको छ।

मर्जरमा नगएका बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गरेको छ। यस बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ८७ करोड ५ लाख रूपैयाँ खुद नाफा गरेको छ।

यस्तै, मर्जरमा नगएका बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा गर्नेमा प्राइम कर्मिसियल बैंक रहेको छ। यस बैंकले ८३ करोड ६६ लाख रूपैयाँ खुद नाफा गरेको छ। यसबाहेक एनआईसी एसिया बैंकले ८० करोड रूपैयाँ, एनएमबि बैंकले ७६ करोड ७० लाख रूपैयाँ, एभरेष्ट बैंकले ७१ करोड २५ लाख रूपैयाँ, नेपाल बैंक लिमिटेडले ७० करोड ७१ लाख रूपैयाँ, कृषि विकास बैंकले ६१ करोड ५६ लाख रूपैयाँ, सिद्धार्थ बैंकले ५८ लाख ६५ लाख, सानिमा बैंकले ५१ करोड २१ लाख रूपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख रूपैयाँ,सिटिजन्स इन्टरनेशनल बैंकले ४४ करोड ३२ लाख रूपैयाँ नाफा गरेका छन्।

सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंक रहेका छन्। पछिल्लो दुई महिनामा माछापुच्छ्रे बैंकले ३७ करोड ६४ लाख रूपैयाँ र नेपाल एसबिआई बैंकले २७ करोड २९ लाख रूपैयाँ खुद नाफा गरेका छन्। 


प्रकाशित : बुधबार, कात्तिक १ २०८००६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend