काठमाडौं- उद्योग विभागले गत आर्थिक वर्ष २०७९/०८० मा उद्योग विभाग मार्फत आएको लगानी प्रतिबद्धता र दर्ता उद्योगको अन्तिम विवरण सार्वजनिक गरेको छ।
विभागले गत आवमा ३ सय २३ वटा नयाँ उद्योग दर्ता भएको जनाएको छ। नयाँ ३ सय २३ वटा उद्योगमा कुल २ खर्ब १४ अर्बको लगानी प्रतिबद्धता आएको छ।
दर्ता भएको उद्योगमा २३ हजार ३ सय ६७ जनाको लागि रोजगारीको प्रस्ताव भएको छ। विभागमा अनुसार कृषि तथा वन तर्फ १० वटा नयाँ उद्योग दर्ता भएको र १ अर्ब ६७ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।
यसैगरी निर्माण क्षेत्र तर्फ १ उद्योगमा १३ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ भने सबैभन्दा बढी उर्जा तर्फ ४५ वटा उद्योगमा १ खर्ब १२ अर्बो लगानी प्रतिबद्धता आएको छ।
विभागका अनुसार सूचना प्रविधि क्षेत्र तर्फ १६ उद्योगमा १ अर्ब ७ करोड, खनिज तर्फ ४ उद्योगमा ७६ करोड र उत्पादन मुलक उद्योग तर्फ १ सय १४ उद्योगमा ४१ अर्ब ९५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।
यसैगरी सर्भिस तर्फ ६६ वटा उद्योगमा ३० अर्ब ८२ करोड र पर्यटन उद्योग तर्फ ६७ वटामा २५ अर्ब ६७ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।