काठमाडौं- नेपाल र भारतले प्रस्तावित सप्तकोशी उच्च बाँधको उचाइ घटाउने सहमति गरेका छन्। लामो समयदेखि चर्चामा रहेको तर अघि नबढेको उच्च बाँध आयोजनाको बाँधको उचाइ घटाउन दुवै पक्ष सहमत भएका हुन्।
यस परिमार्जनले विस्थापित वा परियोजनाबाट प्रभावित नेपालीहरूमा रहेको डुबानको डरलाई कम गर्ने अपेक्षासहित नेपाल र भारत दुवै पक्षले बाँधको उचाइ घटाउन सहमति गरेका छन्।
कोशीमा उच्च बाँध नेपालकोभन्दा भारतीय स्वार्थ धेरै भएको भन्दै नेपालका नीति निर्माताहरू खासै अघि बढ्न सकेका छैनन्। लाभको तुलनामा क्षति धेरै हुने भएकाले पछिल्लो समय भारतीय पक्षले नेपाललाई जलमार्गकको ललिपप देखाउँदै आएको छ।
उच्च बाँध बनाएपछि कोशीसम्म जलमार्ग सम्भव हुने भारतीय पक्षले लोभ देखाउँदै आएको छ। २०७४ सालमा केपी ओली प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्रीसँगको भेटमा उच्चबाँधभन्दा पनि जलमार्गालाई प्राथमिकता दिइएको थियो।
हल्दिया–बनारस जलमार्गको कटिया भन्ने ठाउँमा नेपालको कोशी नदी मिसिन्छ। बिहारमा पर्ने कटिहार नेपाली सीमाबाट करिब १५० किलोमिटर तल छ। त्यस्तै नारायणी नदी पटना नजिकै पुगेर गंगामा मिसिन्छ। यहीबाट नेपालसम्म पुग्ने जलमार्ग कोशीमा उच्च बाँधपछिमात्र सम्भव हुने भन्दै परियोजना अघि बढाउन भारतीय पक्षले उत्प्रेरित गरिरहेको छ।
सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण तथा डाइभर्सन आयोजनाको अध्ययन गर्न गठित नेपाल-भारत संयुक्त विज्ञ टोलीको विराटनगरमा असोज ९-११ गते बसेको १७औँ बैठकमा बाँधको उचाइ घटाउने र परिवर्तन गर्न दुवै पक्ष सहमत भएका हुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विज्ञप्तीमार्फत नेपाल र भारतको सहमती भएको जनाएको छ।
नेपाली टोलीको नेतृत्व गरेका विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतका अनुसार ‘बाँधको हाल प्रस्तावित ३ सय ३७ मिटरबाट ३ सय ४ दशमलव ८ मिटर उचाइ झारेर आयोजनाको थप अध्ययन गर्ने सहमति भएको हो।
बाँधको उचाइ घटेसँगै बहुउद्देश्यीय आयोजनाबाट प्रस्तावित जलविद्युत उत्पादनमा पनि कमी आउने छ। आयोजनाको पहिले प्रस्तावित ३ हजार मेगावाट विद्युत उत्पादन क्षमतामा ७ सय मेगावाट घटेर करिब २ हजार ३ सय मेगावाट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।
‘सप्तकोशी आयोजनाले डुबानमा परेको क्षेत्र, सप्तकोशीको माथिल्लो क्षेत्रमा प्रस्तावित र सञ्चालित आयोजना र सामाजिक, वातावरणीय र प्राविधिक पक्षलाई ध्यानमा राखी बाँधको उचाइ घटाउने निर्णय गरिएको हो,’ मन्त्रालयले जनाएको छ।
सप्तकोशी, तमोर, सुनकोशी र दूधकोशीका सहायक नदीहरूमा ठूला भण्डारण जलविद्युत आयोजनाको योजना बनाइएकाले नेपालले सप्तकोशी उच्च बाँध आयोजनाको आकार घटाउने प्रस्ताव नेपाल पक्षले गरेको थियो। प्रस्तावित उच्च बाँधको माथिल्लो भागमा रहेका ठूला भण्डारण आयोजनाहरूले पानी र फोहोरलाई नियमित गर्ने भएकाले बाँधको उचाइलगायत आयोजनाको प्रस्तावित आकार घटाउने निष्कर्ष निकाल्दै उचाइ घटाउने सहमति गरेका हुन्।
तमोर नदीमा ७ सय ५६ मेगावाटको तमोर भण्डारण जलविद्युत आयोजनाको योजना बनाइएको छ भने ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजना पनि पाइपलाइनमा छ। नेपाल र बंगलादेशबीच ६ सय ८३ मेगावाटको सुनकोशी ३ जलविद्युत आयोजना निर्माण गर्न सैद्धान्तिक सहमति भएको छ। उर्जा मन्त्रालयका अनुसार प्रस्तावित रि-रेगुलेसन ब्यारेजलाई स्थानान्तरण गर्न दुवै पक्ष सहमत भएका छन्।
भारतले धेरै अघिदेखि नै कोशी बहुउद्देश्य परियोजनाका लागि सुनसरीको बराह क्षेत्रदेखि उत्तरतिर १.५ किलोमिटर क्षेत्रसम्म २५० मिटर अग्लो बाँध बाँध्ने प्रस्ताव गर्दै आएको थियो। बाँध बनाएर खोला थुन्ने कामको भारतमै पनि बिरोध हुँदै आएको छ।