आइतबार, मंसिर ९ गते २०८१    
images
images

किन धमाधम बाहिरिँदै छन् बैंकका संस्थापक सेयरधनी?

images
सोमबार, असोज २९ २०८०
images
images
किन धमाधम बाहिरिँदै छन् बैंकका संस्थापक सेयरधनी?

अर्थतन्त्रमा देखिरहेको अनिश्चिताले बैंक तथा वित्तीय संस्थाहरुको प्रतिफल निरन्तररुपमा घटिरहेकाले संस्थापक लगानीकर्ताले लगानी झिकेको भाष्य निर्माण गरिएको छ।

images
images

काठमाडौं- पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका स्थापक सेयरधनीहरुले धमाधम सेयर बिक्री गर्न थालेका छन्।

images
images
images

गत बुधबार माछापुच्छ्रे बैंकले संस्थापक लगानीकर्ता सुरेन्द्र महतोको नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीका लागि ३५ दिने सूचना निकालेको छ। उक्त सेयर बैंकले जारी गरेको सेयरका आधारमा ९.६६ प्रतिशत र ५१ प्रतिशत संस्थापक सेयरको आधारमा करिब १९ प्रतिशत हो। 

images

यस्तै असोज २३ गते प्रभु बैंकले संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको करिब १ लाख ५३ हजार कित्ता सेयर बिक्रीका लागि सूचना निकालेको छ। असोज १९ गते प्रभु बैंकका तीन संस्थापक लगानीकर्ताको सेयर बिक्री नभएपछि सर्वसाधारणसमेतलाई लगानीका लागि पुन: आव्हान गर्दै सूचना प्रकाशित गरेको हो। 

images

गत असार २९ गते प्रभु बैंकले नीति अग्रवालको नाममा रहेको ४ हजार २२६ कित्ता सेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको थियो। उक्त समय अवधिमा बैंकका कुनै पनि संस्थापक लगानीकर्ताले अग्रवालको नाममा रहेको सेयर खरिद गर्न आवेदन नदिएपछि संस्थापक सेयरधनी बाहेकका लगानीकर्तालाई समेत लगानी गर्नका लागि आव्हान गरिएको छ। 

साउन १६ गते सुसिलादेवी सिंघानियाको नाममा रहेको १० हजार ९९५ कित्ता र राजन श्रेष्ठको नाममा रहेको संस्थापक सेयर खरिद गर्न संस्थापक सेयरधनीका लागि बोलपत्र आव्हान गरेको थियो। बैंकले तोकेको ३५ दिनको अवधिभित्र संस्थापक सेयरधनीले उक्त सेयर खरिद गर्न इच्छुक नभएपछि संस्थापक लगानीकर्ताबाहेकाका लगानीकर्तालाई समेटेर सूचना जारी गरिएको छ।

यस्तै कुमारी बैंकका संस्थापक लगानीकर्ताहरु कुमारीमाया गुरुङको नाममा रहेको २ हजार ३०५ कित्ता, कृष्ण तारुम थापा मगरको नाममा रहेको ३ हजार ४५३ कित्ता र भरतबहादुर बुढाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता सेयर बिक्रीका लागि आव्हान गरेको छ। 

वाणिज्य बैंक मात्रै नभएर इन्स्योरेन्स कम्पनीहरुले पनि आफ्नो संस्थापक सेयर बिक्री गरेको देखिन्छ। हिमालयन इन्स्योरेन्स कम्पनीका ६ संस्थापक लगानीकर्ताको नाममा रहेको ३ लाख ७७ हजार २३९ कित्ता २५५ रुपैयाँका दरले विक्रीका लागि ३५ दिने सुचना निकालेको छ।

यस्तै नेपाल पुर्नबिमा कम्पनीले १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर ३५५ रुपैयाँका दरले बिक्रीका लागि ३५ दिने सूचना निकालेको छ। कातिक २३ गतेसम्ममा उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाको लगानीकर्ताले धमाधम संस्थापक सेयर बिक्री गरिरहेको यी पछिल्लो उदारणहरु हुन्। माछापुच्छ्रे बैंकको ठूलो मात्रामा संस्थापक सेयर बिक्रीका लागि सूचना जारी हुनुले लगानीकर्ताको बैंकप्रति आकर्षण घटिरहेको विश्लेषण हुन थालेको छ।

अर्थतन्त्रमा देखिरहेको अनिश्चिताले बैंक तथा वित्तीय संस्थाहरुको प्रतिफल निरन्तररुपमा घटिरहेकाले संस्थापक लगानीकर्ताले लगानी झिकेको भाष्य निर्माण गरिएको छ। बैंकहरुमाथि राष्ट्र बैंकले अधिक नियमन गर्दा नाफामा कमी आएकाले संस्थापक लगानीकर्ता निरुत्साहित भएको बताइएको छ। 

राष्ट्र बैंक भने ऋण तिर्न समस्या भएका संस्थापक लगानीकर्ताहरुले सेयर बिक्री गरेर बाहिरिन खोजेको बताउँछ। बैंकबाट ऋण लिएर लगानी गरेको र पछिल्लो समय कर्जा प्रवाहमा समस्या भएपछि पुँजी बचेर ऋण भुक्तानी गर्नका लागि उनीहरुले सेयर बिक्री गरेको राष्ट्र बैंक स्रोतको दाबी छ। 

'ऋण तिर्न समस्या भएपछि केही केही बैंकका ठूला संस्थापक लगानीकर्ता बाहिरिन खोजेका छन्। पछिल्लो समय अर्थतन्त्रमा प्रतिकुल असर देखिएपछि बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा कडाई गरेका छन्। कर्जा प्रवाह नहुँदा समस्यामा परेका लगानीकर्ताहरुले सेयर बिक्री गरेर भएपनि ऋण तिर्न खोजेको देखिन्छ', स्रोतले भन्यो। 

यता वित्तशास्त्री अनलराज भट्टराई भने संस्थापक सेयर बिक्रीका लागि बोलपत्र आव्हान हुनु सामान्य विषय भएको बताउँछन्। साधारण सेयर दैनिक बिक्री हुने भएकाले त्यसको चर्चा कम हुने र संस्थापक सेयर बिक्री वर्षमा १ पटक हुने भएकाले त्यसको चर्चा बढी हुने उनको तर्क छ।

प्रतिफलको कमी, आफ्ना दैनिक आवश्यकताहरुको टार्न वा अन्य कुनै व्यक्तिगत प्रयोजनका लागि संस्थापक सेयर बिक्री हुनेगरे पनि यसलाई लगानीको समान्य प्रकृयाका रुपमा लिनुपर्ने उनको तर्क छ। 'बैंक तथा वित्तीय संस्थाको सेयरलाई साधारण सेयर र संस्थापक सेयरका रुपमा विभाजन गरिएको छ। ५१ प्रतिशत संस्थापक सेयर हुने र ३० प्रतिशत साधारण सेयर हुने गर्दछ। ३० प्रतिशत साधारण सेयर दैनिक नेप्सेमा कारोबार हुन्छ, त्यसका बारे खासै चर्चा हुँदैन। तर, ५१ प्रतिशत संस्थापक सेयरमध्ये थोरै सेयर कारोबार भयो भने यसको बढी चर्चा हुन्छ। ३ खर्ब संस्थापक सेयरमध्ये वर्षमा १० प्रतिशतसम्म खरिदबिक्री हुनु समान्य विषय हो', उनले भने। 

संस्थापक सेयर बिक्रीका लागि आव्हान गरेपछि केही लगानीकर्ताले बिक्री गरेपनि केहीले खरिद गर्ने भएकाले यसले खासै ठूलो अर्थ नराख्ने उनको तर्क छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ ले २ प्रतिशतभन्दा बढी संस्थापक सेयर बिक्री गर्दा राष्ट्र बैंकको अनिवार्यरुपमा स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। जसले गर्दा संस्थापक सेयर बिक्री गर्न समय लाग्ने गर्दछ। संस्थापक सेयर सेयर बजारमा कारोबार हुँदैन।

संस्थापक सेयर खरिद बिक्रीको छुट्टै प्रकृया छ। यसका लागि बैंक तथा वित्तीय संस्थाले ३५ दिने सुचना राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन गर्नुपर्दछ। संस्थापक सेयर खरिद गर्ने पहिलो प्राथमिकता संस्थाभित्रै अन्य संस्थापक लगानीकर्तालाई हुन्छ। संस्थाभित्र संस्थापक लगानीकर्ताले खरिद नगरेमा मात्रै सर्वसाधारणका लागि बिक्री आव्हान गरिन्छ।


प्रकाशित : सोमबार, असोज २९ २०८००४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend