काठमाडौं- मोबाइल नेटवर्कको आधुनिक प्रविधि फाइभजीको विस्तार अपेक्षाभन्दा तीव्र देखिएको छ। जुन देशले सुरुवात गरेका छन् त्यस्ता देशमा विस्तार तीव्र देखिएको विभिन्न आँकडाले देखाएका छन्।
पछिल्लो चार वर्षमा फाइभजीको नेटवर्क विस्तार अहिले जति भएको छ यो अनुमानभन्दा धेरै बढी हो। सयुक्त राज्य अमेरिका, चीन, दक्षिण कोरिया युरोपमा यो प्रविधिको नेटवर्क विस्तारका लागि टेलिकम कम्पनीहरूले लगानी पनि आक्रामकरुपमा थप गर्दे आएका छन्।
नेटवर्क अपग्रेडकै लागि भनेर संसारभका कम्पनीहरूले सयौँ अर्ब डलर लगानी गरेका छन्। विभिन्न क्रेडिट रेटिङ कम्पनी तथा बजार अनुसन्धान संस्थाहरूको पछिल्ला अध्ययन तथा अनुसन्धानले लगानीमा तीव्र विस्तार भएको देखाएको छ।
फाइभजीको तीव्र विस्तार त्यस्ता देशमा भएको छ जहाँ टेलिकम उपकरण तथा प्रविधिका उपकरण निर्माण गर्ने कम्पनी छन्। जस्तो चीनमा हुवावे तथा जेटटीई जस्ता कम्पनी छन् र चीनमा संसारकै धेरै अर्थात् ६० प्रतिशत पहुँच विस्तार भएको छ। त्यस्तै सामसङ भएको देश दक्षिण कोरियामा ५९ प्रतिशत पहुँच विस्तार भएको छ।
अमेरिकामा ४३ प्रतिशत रहेको छ भने युरोपमा ५६ प्रतिशतभन्दा माथि पुगेको छ।
फाइभजीको तीव्र विस्तार भएका देश चीन र दक्षिण कोरिया एसियाकै देश हुन्। तर एसियाकै कयौँ गरिब तथा विकासोन्मुख मुलुकहरूमा भने विस्तार कि सुस्त छ कि सुरूवात नै भएको छैन।
कयौँ अफ्रिकन देश तथा एसियन देशमा १ प्रतिशतभन्दा न्यून पहुँच रहेको छ। यसको पछाडि लागत उच्च हुनु नै हो। यो तथ्यांकअनुसार सबैका लागि फोरजी, केहीका लागि फाइभजी भन्नेजस्तो देखिएको छ। विकासोन्मुख देशहरूमा भारतमा सबैभन्दा धेरै लगानी भएको छ।
फाइभजीका लागि ठूलो लगानी आवश्यक हुने तर त्यसको उपयोगिताका लागि बजार तयार नभएको भन्दै कम्पनीहरू हच्किएका छन्। नयाँ प्रविधिको उपकरण पनि उत्तिकै महँगो भएकाले उनीहरूले यसलाई धान्न सकेका छैनन्। यो आधुनिक प्रविधिले धनी र गरिब देशबीचमा फेरि डिजिटल असमानताको खाडल बढाउने देखिएको छ।
सयौँ अर्ब डलर लगानी भयो, तर पहिलेजस्तो देखिएन तरंग
वायरलेस नेटवर्कको प्रविधिमा पुस्तान्तरण भइरहन्छ। भ्वाइस कलमात्र हुने प्रविधिबाट उच्चस्तरको भिडियो सेयरिङ हुनेदेखि अहिलेको प्रविधिसम्म आइपुग्दा धेरै रुपान्तरण भएको छ।
प्रविधिमा मोबाइल नेटवर्कको हरेक पुस्तान्तरणसँगै बजारमा डिस्ट्रप्सन हुन्थ्यो। कयौँ स्थापित बिजनेस लोप हुने र नयाँ सम्भावनाको उदय हुने। बजारमा लामो समयदेखि राज गरिरहेका कम्पनीहरूको टाट पल्टिन्थे, केवल प्रविधिको पुस्तान्तरणकै कारणले गर्दा। यसअघिका नेटवर्कको पुस्तारणमा देखिएको यो परिवर्तन फाइभजीमा भने अहिलेसम्म कुनै संकेत नमिलेको विश्लेषकहरूले उल्लेख गरेका छन्। तीव्र विस्तार र उच्च लगानीका बाबजुद भनिएजस्तो रुपान्तरणको छनक नमिलेको धेरैको मत छ।
संसारकै ठूलो वायरलेस सेवाप्रदायक चाइना टेलिकमबाहेक संसारका अन्य अपरेटरकोमात्र १.२१ ट्रिलियन डलर ऋण पुगेको छ सन् २०२२ को अन्त्यसम्म। जुन चार वर्षअघि जम्मा १ ट्रलियन रहेको थियो। मुडिसका अनुसार टेलिकम कम्पनीले विगतको तुलनामा धेरै पैसा खर्चिएका छन् नेटवर्क अपग्रेडका लागि।
गएको चार वर्षमा भएको सयौँ अर्ब डलर संसाभर यही प्रविधिका लागि लगानी भएको छ। लगानी र नेटवर्क विस्तार तीव्र भएपछि यसअघि जसरी प्रविधिले अर्थतन्त्रमा रुपान्तरण गर्थ्यो त्यस्तो भने यसबाट भएको छैन।
जहाँ विस्तार भएको छ र नेटवर्क उपलब्ध छ त्यहाँका उपभोक्ताले महसुस हुनेगरि गतिमा भिन्नता पाउन सकेका छैनन्। घरेलु उपभोक्ताले नै यसमा फरक महसुस गरेका छैनन्।
तर फाइभजीलाई औद्योगिक प्रयोजनका लागि मुख्य प्रविधि मानिएको थियो। चार वर्षअघि प्रविधिका बारेमा भनिएको थियो कि यसको प्रयोगको इपिसेन्टर उद्योग हुनेछ। तर अहिलेसम्म निजी नेटवर्क, उत्पादन प्लान्टमा अझै गति लिन सकेको छैन।
लगानीकर्ता, उपभोक्तामा एउटा अन्योल र दुविधा पैदा गराएको छ। के भनिएजस्तो यो क्रान्तिकारी प्रविधि हो? के यसले साँच्चिकै न्यूनतम लेटेन्सीमा काम गर्न सक्छ? प्रश्न यसकारण पनि उठेको छ कि यसले अहिलेसम्म प्रतिफल दिन सकेको छैन। अर्थतन्त्र र समाजलाई प्रभावित पार्न सकेको छैन।
स्वचालित कार, टेलिमेडिसिन जस्ता एड्भान्स प्रणाली बाहेक भविष्यको फ्याक्ट्री भनेर अटोमेडेट फ्याक्ट्रीको कन्सेप्ट तीन वर्षअघि नै आएको थियो। भोडाफोन र फोर्ड मिलेर यसको विकास पनि गरेका थिए। तर पनि यो अझै अवधरणामै सीमित रहेको छ। फोर्डले अझै पनि हाइटेक वायरलेस प्रविधिको प्रडक्सन लाइन उपयोग गरेको छैन।
अहिलेसम्म संसाभर ७ सय ५० भन्दा बढी निजी नेटवर्क बनेका छन्। तर पनि यसको उपयोगिता फोरजीकै सरह रहेको छ। फ्याक्ट्रीहरूले निजी नेटवर्कमा लगानी गर्छन् भन्ने जुन अनुमान थियो अहिलेसम्म यसको अभ्यास देखिएको छैन।
घरेलु तथा औद्योगिक उपयोगितामा फाइभजीले अहिलेसम्म सम्भावना देखाउन नसक्नुमा इकोसिस्टम तयार नभएको केहीको तर्क छ। निजी नेटवर्क, नेटवर्क सञ्चालनका लागि आवश्यक उपकरण र त्यसको सञ्जाल, उपयोगमा विश्वासनीयताजस्ता कुरामा समय लाग्ने धेरैको मत रहेको छ।
नेपालमा भने अझै पनि फाइभजी परीक्षणमै सीमित रहेको छ। टेलिकम उपकरण तथा प्रविधिको कारोबार गर्ने बहुराष्ट्रिय कर्पोरेटहरूले नेपालमा आफ्नो पक्षमा लविङ बढाएका छन्। लविङ बढे पनि आन्तरिक रुपमा कम्पनीहरू अझै तयार देखिएका छैनन्।