सोमबार, मंसिर १७ गते २०८१    
images
images

बिरुवा बिक्रीबाट खुसी छन् गोविन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ५ २०७८
images
images
बिरुवा बिक्रीबाट खुसी छन् गोविन्द
images
images

रामपुर- रामपुर नगरपालिका-३ गण्डकी ढिक बस्ने ६० वर्षीय गोविन्दप्रसाद दुवाडीले दुई दशक बिरुवा उत्पादनमा बिताए। उमेर ढल्कदै जाँदा उनलाई यो व्यवसायबाट टाढा रहन पटक्कै मन छैन।

images
images
images

विसं २०५५ देखि दुवाडीले निरन्तररुपमा आजसम्म बिरुवा उत्पादन गरिरहनुभएको छ । उनी करिब एक रोपनी जग्गामा हरेक वर्ष प्याज, काउली, बन्दा, गोलभेँडाका बिरुवा उत्पादन गर्छन्। उनी भन्छन्, 'तरकारीका बिरुवा उत्पादन गरेको २४ वर्ष भइसकेछ, समय गएको पत्तो भएन, ग्राहकलाई बिरुवा बिक्री गर्दैमा दिन बितिरहेछ, समय बिताउने माध्यम र आयआर्जन गर्ने बाटो बनेको छ ।'

images

उनले गत वर्ष मात्रै बिरुवा बेचेर दुई लाख रुपैयाँसम्म आम्दानी लिए। यस वर्ष पनि सोही बराबरको आम्दानी हुने उनको अनुमान छ। आफूले निरन्तर यो व्यवसाय गर्दै आए पनि अहिलेसम्म कहीँकतैबाट सहयोग भने नपाएको उनी गुनासो गर्छन्। 'विशेषगरी धान बालीको उत्पादन सकिएपछि मङ्सिर पुसलाई लक्षित गरी नियमितरुपमा २४ वर्षअघिदेखि बिरुवा उत्पादन गरिराखेको छु, यसले समाजमा राम्रो पहिचान बनेको छ, दाम पनि राम्रै हात परेको हुँदा खुसी छु', उनले भने।

images

कुनै पनि तालिम नलिइ दुवाडीले काम गर्दै जाने क्रममा धेरै ज्ञान सीप अनुभव बटुल्दै व्यवसाय धानेका छन्। यस व्यवसायमा उनलाई श्रीमती मतिकलाले पनि सघाएका छन्। अहिले दुवाडी दम्पतीको दैनिकी बिरुवाको रेखदेख र बिक्रीमै बित्ने गरेको छ। बिरुवा उत्पादन हुनुभन्दा अघिदेखि नै विभिन्न स्थानबाट माग आउने गरेको मतिकला बताउँछन्।

यहाँ प्याज दुई रुपैयाँका पाँच वटा बिरुवा धमाधम बिक्री भइरहेका छन्। कृषक दुवाडीले पाल्पासहित काठमाडौँ, सिन्धुपाल्चोक, पोखरा, नारायणघाट, तनहुँ, स्याङ्जा, नवलपुरलगायत विभिन्न स्थानमा ग्राहकको मागअनुसार बिरुवा पठाउँछन्।

रामपुरको बिरुवा राम्रो हुने थाहा पाएपछि यस वर्ष स्याङ्जाको गल्याङ नगरपालिका- ११ बस्ने सूर्य अधिकारी पहिलो पटक बिरुवा खरिद गर्न आउनुभएको छ । उहाँ भन्नुहुन्छ, 'रामपुरको प्याजको बिरुवा राम्रो हुने भन्ने छिमेकी सबैले कुरा गरेको सुनेपछि म पनि पहिलो पटक यहाँ आएर बिरुवा खरिद गरेको छु, बिरुवा हेर्दा असाध्यै राम्रो देखेपछि आफूलाई मात्र नभई छिमेकी तथा आफन्तलाई पनि खरिद गरिदिएको छु ।'

यस्तै रामपुरकै रोजी खातुन पनि यहीँको नर्सरीमा उत्पादन भएको बिरुवा खरिद गरेर लगाउँछन्। उत्पादन राम्रो हुने भएकाले प्याज, काउली, बन्दाका बिरुवा खरिद गरेर लगाउने गरेको उनी बताउँछन्। 'उत्पादन धेरै राम्रो हुन्छ, फल लागेन भन्नु पर्दैन, उन्नत जातको आफूले खोजेजस्तो बिरुवा पाइने हुँदा यहीँबाटै बिरुवा खरिद गरी घरमा लगाउने गरेको छु', उनले भने ।       

रामपुर-६ सातबिसे बस्ने लेखनाथ रेग्मीले पनि विगत सात/आठ वर्षदेखि निरन्तर बिरुवा उत्पादन गर्नुभएको छ। प्याज, काउली, बन्दा, गोलभेँडालगायतका बिरुवा उत्पादन गरी एकयाममै ६० हजार रुपैयाँ आम्दानी लिने गरेको रेग्मी बताउँछन्। 'मङ्सिरमा धानबाली उत्पादन लिएपछि सबैले प्याज, काउली, बन्दाका बिरुवा खोज्नुहुन्छ, यो याममा बिक्री गर्न सहज र आम्दानी पनि राम्रो लिन सकिन्छ, घरको अन्य कामसँगै बिरुवा उत्पादनलाई पनि जोड दिने गरेको छु', उनले भने।

कृषक, कृषक समूह वा कृषि फार्मलाई नर्सरी स्थापनाका लागि प्लाष्टिक टनेल सिट, स्प्रेयर, साना कृषि औजार तथा उपकरण अनुदानमा उपलब्ध गराउँदै आएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए। 'व्यावसायिक तरकारीका बिरुवा उत्पादन गर्ने कृषक वृद्धि हुँदै गएका छन्, नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत तथा वर्ण शङ्कर जातको तरकारीको बीउ कृषकलाई उपलब्ध गराउँदै आएको छ', उनले भने।

थोपा सिँचाइ, मल्चिङ प्रविधिमा कृषकको आकर्षण छ। कम लगानीमा घरमै बसी बिरुवाको व्यापारबाट कृषकले राम्रो आर्थिक लाभ लिइरहेका छन्। अन्यत्र विरुवा खरिद गरेर घरमा लगाउने कृषक हिजोआज आफैँले घरमा नर्सरीमा बिरुवा उत्पादन गर्ने गरेका छन्। रासस


प्रकाशित : आइतबार, मंसिर ५ २०७८११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend