आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

कला संस्कृतिमार्फत पर्यटक आकर्षित गर्दै मुस्ताङवासी

images
शनिबार, असोज २७ २०८०
images
कला संस्कृतिमार्फत पर्यटक आकर्षित गर्दै मुस्ताङवासी

भदौरे, कुमार जात्रा, लामा नाच, थार्तुङ, तिजी र फागुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले पर्यटक आकर्षित गर्न तथा बसाइ लम्बाउन सहयोग मिलेको त्यहाँका घरबास सञ्चालक बताउँछन्।

images
images

म्याग्दी- मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ। धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन्।

images
images
images

मुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका घरपझोङ गाउँपालिका-५ ठिनीस्थित थकाली सामुदायिक होमस्टे (घरबास) का सञ्चालक जुमा थकालीले बताइन्।

images
images

'पृथक भूूगोल, मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहासिक दरबार मात्र नभएर बस्तीअनुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ', उनले भनिन्, 'भदौरे, कुमार जात्रा, लामा नाच, थार्तुङ, तिजी र फागुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले पर्यटक आकर्षित गर्न तथा बसाइ लम्बाउन सहयोग मिलेको छ।'

images
images

ठिनी नजिकै रहेको घरपझोङ गाउँपालिका-५ हुसरकाङ डाँडास्थित कुछप तेरङ्गा गुम्बामा शुक्रबार सकिएको लामा नाच (धेक्याप) अवलोकन गर्न स्थानीयवासीका साथै स्वदेशी र विदेशी पर्यटकको बाक्लो उपस्थिति थियो। कुछप तेरङ्गा गुम्बा संरक्षण समितिका अध्यक्ष कुलबहादुर थकालीले लामा नाच अवलोकन गर्न स्थानीयवासीकै हाराहारीमा स्वदेशी, विदेशी पर्यटक र तीर्थयात्री आएका बताए।

'पहिले पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुन्थे', उनले भने, 'केही वर्षयता परम्परागत नाच प्रदर्शनी अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेको छ।'

सडक यातायातको सुविधा, प्रचारप्रसार आदी कारण परम्परागत सांस्कृतिक मेला पर्वमा पर्यटकको सहभागिता बढेको थकालीको भनाइ छ। मुस्ताङको प्रमुख गुम्बामा वर्षमा एक पटक लामा नाच हुने गर्छ। कुछप तेरङ्गा गुम्बामा लामा नाच प्रदर्शनीका लागि यही असोज २३ गतेदेखि पूजाआजा सुरु भएको थियो।

लामाहरुले उवाको पिठो, घ्यूलगायत सामग्रीको प्रयोग गरेर बनाएको पूजा सामग्रीलाई धार्मिक विधिअनुसार गुम्बामा भित्र्याएर सुरु भएको उक्त नाचको विधि ती सामग्री सेलाएपछि सकिएको गुम्बाका लामा सुवास थकालीले बताए। 

'पद्यसम्भको पाला आठौँ शताब्दीदेखि लामा नाच देखाउने चलन छ। देवताका विभिन्नरुपलाई लामा नाचमा प्रस्तुुत गरिन्छ', उनले भने, 'लामा नाच अवलोकन गरेमा पुण्य प्राप्त हुनुका साथै ग्रह दशा हट्ने र जीवनमा सफलता मिल्छ। तेह्र सय वर्षदेखिको लामा नाचलाई बचाएर राखेका छौँ।'

सो अवसरमा बौद्ध धर्मगुरु पद्यसम्भको जीवनसँग सम्बन्धित सन्देशमूलक १३ प्रकारका नाच प्रदर्शन गरिएको थियो। हसन, टोपी बज्राचार्य, हयग्रीब, गुरु पद्यम सम्भव, क्रोधी गुरु र सिंहमुखी, पञ्चदेवी, महाकाल, क्षेत्रपाल, महाराजा, जरायो, च्याहान दाता, दुष्ट राजा र एक डाकु शिर्षकको नाच प्रदर्शन गरिएको हो।

लामा नाच अवलोकन गर्न आएका भारतको तामिलनाडुका रञ्जित झाले मुस्ताङ भ्रमणका क्रममा प्रकृति र धार्मिकसँगै फरक संस्कृतिको बारेमा जानकारी लिन पाएकामा खुसी व्यक्त गरे। अमेरिकी पर्यटक रेमिनले धेरै वर्ष पुरानो संस्कृति अझै जीवित देख्दा दङ्ग परेको बताए।

यसपालिको लामा नाच सञ्चालन गर्न बेलायतमा रहेका ठिनीवासीले आर्थिक सहयोग गरेका थिए। प्रवासीको सहयोगमा ठिनीदेखि गुम्बासम्म निःशुल्क बस, भक्तजनलाई भोजन र खाजाको व्यवस्थापन गरिएको थियो। बौद्ध धर्ममा माइला छोरा लामा बस्ने चलन छ। ठिनीमा हाल २२ जनाभन्दा बढी लामा छन्। ठिनीका लामाका साथै छिमेकी गाउँका पनि लामा नृत्यका लागि गुम्बामा आएका छन्। कुछप तेरङ्गा गुम्बाको धार्मिक र पर्यटकीय सम्भावना छ।

पर्यटकीय गन्तव्यको रुपमा विकास भएको ढुम्बा तालको नजिकै डाडामा रहेको गुम्बा परिसरबाट जोमसोम, ठिनी, मार्फा, स्याङलगायतका भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। रासस


प्रकाशित : शनिबार, असोज २७ २०८००६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend