काठमाडौं- गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको आरम्भ चोकमाथिको बहाव क्षेत्र छुट्याउने काम काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्ने भएको छ।
चावहिल, कपन क्षेत्रको रुद्रमती (धोबीखोला) बाट आरम्भचोक सम्मको खोला उत्खनन्को काम काठमाडौं महानगरपालिकाको नेतृत्वमा गरिएको थियो। आरम्भचोकसम्म खोलिएको खोलालाई त्यसमाथिको भागमा खोलेर आरसीसी ढलान गर्ने कामका लागि प्राधिकरणले ठेक्का गरी काम अघि बढाएको छ। यसका लागि प्राधिकरणले २३ करोडको ठेक्का गरेको हो। ड्रागन आरबि कम्पनीले ठेक्का पाएर काम अघि बढाउन लागेको महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामाले जानकारी दिए।
प्राधिकरणले ठेक्का गरेर काम अघि बढाएपछि महानगरपालिकाले आरम्भ चोकमै यो काम छोडेको छ। खोला छुट्याउने कामसँगै आरम्भचोकसम्म जग्गाको नापजाँच पनि गरिएको छ।
काठमाडौं उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर सडक बनाइ घर बनाउन थालिएको थियो। यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र चाहिलको सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको थियो। आरम्भचोकसम्म खोला खोलेपछि असोज दोस्रो साता भएको वर्षादमा आएको बाढीले कपन क्षेत्र डुबानमा नपरेको पनि वडा अध्यक्ष लामाले जानकारी दिए।
यसबाट स्थानीयवासी खुसी हुनुका साथै यज्ञडोलसम्म नै खोला खोलेर खुला बनाउनुपर्ने आवाज उठाउन थालेका छन्। केही जग्गा व्यवसायीको स्वार्थमा खोला पुर्ने कामले समस्यामा परेको बुझेपछि अहिले स्थानीयवासी खोला खोल्नुपर्ने अभियानमा एकबद्ध भएको स्थानीयवासी चुडामणि कोइरालाले बताए।
महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको थियो। तर बूढानीलकण्ठ नगरपालिका वडा नं. १० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ। खोलाको दायाँबायाँ चार/चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भएपनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ।
महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमलकुमार होडा नापी कार्यालयले यस क्षेत्रको नापी गरी सक्ने र पूर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तीका रुपमा कायम गरिने बताउँछन्।
यसका लागि प्राधिकरणसँग पनि समन्वय गरेर काम गर्न लागिएको उनले सुनाए। नापजाँच गरेर आएको पर्ती जग्गामा महानगरले आकर्षक बगैँचा बनाएर खुला क्षेत्रका रुपमा स्थापित गर्ने जनाइएको छ। यसरी बनेको खुला क्षेत्र भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला पनि उपयोगमा ल्याउन सकिने वडा कार्यालयले जनाएको छ। रासस