काठमाडौं- २०४८ सालको उदारीकरणपछि टुटेको सुधारको कडी जोड्नका लागि नेपाल उद्योग वाणिज्य महासंघले उच्तस्तरीय संयन्त्र बनाउनुपर्ने प्रस्ताव गरेको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक उदारीकरणपछि केही सुधार भए पनि त्यसपछि हुनुपर्ने नयाँ पुस्ताको सुधार आवश्यक भएको र त्यसका लागि उच्चस्तरीय कानूनी हैसियतसहितको संयन्त्र बनाउन सरकारसँग माग गरेका छन्। महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहसका क्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो संयन्त्र बनाउनुपर्ने प्रस्ताव गरेका हुन्।
अहिले जसरी अर्थतन्त्रमा मन्दी गहिरिँदै गएको छ, यसको समाधान अब सानातिना सुधारले नहुने र गम्भीर परिवर्तनको आवश्यकता देखिएको अध्यक्ष ढकालको भनाइ छ।
‘अर्थतन्त्रमा अब सानोतिनो परिवर्तनले सुधार सम्भव छैन। सेयर बजार लक्षित केन्द्रीय बैंकको नीतिलगत्तै घटेको बजारले पनि यसलाई पुष्टि गरेको छ। हामीले समयमा सही नीति लिन सकेनौँ', उनले भने, 'अब टालटुले नीतिले तत्काल सुधार सम्भव छैन। अब नयाँ पुस्ताको आर्थिक सुधारको तत्काल घोषणा गर्नु आवश्यक छ। अहिलेको अर्थव्यवस्थाको जग विसं २०४८ ताका थालिएको सुधारले अब थेग्न सक्दैन।’
आर्थिक सुधार आयोग वा अन्य कुनै उच्चस्तरीय कानूनी हैसियत भएको संयन्त्र गठन गर्नुपर्ने र त्यस्तो संयन्त्रको नेतृत्व प्रधानमन्त्रीले गर्नुपर्ने उनको प्रस्ताव रहेको छ। त्यस्तो संयन्त्रमा निजी क्षेत्रका छाता संगठनका अध्यक्ष अनिवार्यरुपमा समावेश हुनुपर्ने, अर्थ तथा उद्योग मन्त्रालय, योजना आयोग र नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायबाट प्रतिनिधित्व हुनुपर्ने अध्यक्ष ढकालको प्रस्ताव छ।
संयन्त्र सञ्चालनका लागि किफायती मापदण्ड बनाउन सकिने र सकेसम्म अवैतनिक योगदानको व्यवस्था हुनुपर्ने महासंघले प्रस्ताव गरेको छ। कर्मचारी व्यवस्थापनका लागि अहिलेकै संरचनाबाट तान्ने र कार्यकारी नेतृत्व योजना आयोगको उपाध्यक्ष वा मुख्यसचिव हुनेगरि संयन्त्र बनाउन सकिने महासंघले प्रस्ताव गरेको छ। यस्तो संयन्त्रले मुलुकका तत्कालीन समस्याका बारेमा गहन छलफल गर्ने तथा संरचनागत सुधारका लागि निरन्तर काम गर्ने महासंघको प्रस्ताव रहेको छ।
‘हामी सबै पक्ष मिलेर काम गर्यौँ भने सबै समस्याको समाधान सम्भव छ। नेपालको निजी क्षेत्र दरिलो छ। नेपालको निजी क्षेत्र कोभिडलगत्तै झन्डै ६ प्रतिशतको आर्थिक वृद्धि दिनसक्ने क्षमताको हो। त्यसैले निजी क्षेत्रको मनोबल बढाउने विषयमा सरकार सकारात्मक हुनुपर्छ’ अध्यक्ष ढकालले भने।
सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पमकल दाहाल 'प्रचण्ड'ले महासंघको प्रस्तावमा सहमति जनाएका छन्। महासंघले ल्याएको प्रस्ताव आफ्नै योजनासँग मेल खाने भएकाले यसलाई कार्यान्वयन गर्न आफू सकारात्मक भएको उनको भनाइ छ।
‘म आफै पनि अहिलेको नीति र निमय तथा संरचनाबाट हामीले खोजेको विकास र समस्याको निकास सम्भव छैन भन्ने कुरामा प्रष्ट छु। मेजर अपरेसनको आवश्यकता मलाई पनि महसुस भएको छ। त्यस्तो सुधारको काम गर्नका लागि संयन्त्र बनाउने महासंघको यो प्रस्ताव मलाई राम्रो लागेको छ’, उनले भने।
अर्थमन्त्री विदेशबाट फर्किएपछि सरकारले यसबारेमा छलफल गर्ने र तत्काल कार्यान्वयनमा लिइने उनले आश्वासन दिए।