काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दाताको सानो ऋणकै कारण अर्थतन्त्रका समस्या भएको भए फिर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आग्रह गरेका छन्।
महासंघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै दातृ निकायको सुझाव लिनुसम्म ठीकै भएपनि निर्देशनकै स्तरमा हुन नहुने बताए।
पछिल्लो समय अन्तर्राष्ट्रिय मुद्रा कोषको ईसीएफ ऋण सुविधासँगै आएका सर्तले गर्दा राष्ट्र बैंकले कसिलो नीति लिएको भन्दै उद्योगी व्यवसायीले विरोध गर्दै आएका छन्।
प्रधानमन्त्री उपस्थिति भएको कार्यक्रममा बोल्दै ढकालले डेढ वर्षदेखिको मन्दी अझ गहिरिँदै गएको बताए। समस्या समाधानका लागि बजेटले पनि सम्बोधन नगरेको र मौद्रिक नीतिले त निराश बनाएको उनले बताए। राष्ट्र बैंकको कसिलो नीतिदेखि विद्युत प्राधिकरणको सूचनासम्मले कस्ने काम गरेको उनले बताए।