बागलुङ- नेपालको एकमात्र सिकार आरक्षसमेत रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा ठूला पूर्वाधारहरु नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म ढोरपाटनको मुहार फेरिएको छैन।
'ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीसमेत पटकपटक आउनुभयो, तर ढोरपाटनका लागि आवश्यक लगानी, नीति तथा कार्यक्रम आएन', बागलुङको ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख कल्याण कायतले भने, 'ढोरपाटन आउने सडक निकै समस्यामा छ, पाहुनालाई राख्ने सुविधासम्पन्न होटलहरुको अभाव छ, प्राकृतिक सुन्दरता हेर्नका लागि आउने पर्यटकहरुलाई पूर्वाधारको कमी छ, अब हामीलाई आश्वासन हैन लगानी आवश्यक छ, ढोरपाटन ठूला लगानीकर्ता पर्खिरहेको छ।'
उनका अनुसार निजी क्षेत्रका उद्यमी तथा व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न केन्द्रीय बैठकले ढोरपाटनमा निजी क्षेत्रको लगानी आउनेमा आशा जागेको छ। ढोरपाटनको विकास निजी क्षेत्रको सहकार्यबिना सम्भावना नहुने भन्दै कायतले नगरपालिकाले यसका लागि पहलकदमी गर्ने बताए।
ढोरपाटन प्रचुर सम्भावना भएरसमेत लगानीकर्ताको नजरमा नपरेको उनले बताए। ठूला होटल, स्थानीय उत्पादनको बजारीकरण, ‘हाइ अल्टिचियुट’ खेल मैदान, कृत्रिम ताल, स्याउ बगैँचा, प्याराग्लाइडिङ र पदयात्रा पर्यटनलगायतको ठूलो सम्भावना रहे पनि हालसम्म लगानी भित्रिन नसक्नु ढोरपाटनका लागि दुःखद् रहेको कायतको भनाइ छ।
निकै सम्भावना भएरसमेत निजी क्षेत्रको ध्यान नपुगेको भन्दै चन्द्रप्रसाद ढकाल नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघले यही असोज १५ र १६ गते केन्द्रीय बैठकसँगै पर्यटनको सम्भावना र लगानीको विषयमा अन्तरक्रिया आयोजना गरेको थियो।
ढोरपाटनमा स-साना होटल सञ्चालनमा आउने क्रम जारी रहेको सन्दर्भमा ठूला होटलको खाँचो रहेको ढोरपाटनका स्थानीय बेदबहादुर विकले बताए। उनले निजी क्षेत्रका उद्यमी तथा व्यवसायीको ढोरपाटन भ्रमणले ढोरपाटनमा लगानीको ढोका खुलेको बताए। 'सामान्य पर्यटकीय स्थलहरुमा ठूलो लगानी गरेको निजी क्षेत्रले ढोरपाटन देख्न सकेको थिएन, अहिले आशावादीसमेत भएका छौँ, देशभर लगानी विस्तार गर्नुभएका उद्यमी चन्द्र ढकालले ढोरपाटनको विकास र लगानी गर्नका लागि इच्छा व्यक्त गर्नुभएको छ', विकले भने, 'विदेशी पर्यटकहरु सोझै हेलिकप्टरमार्फत आउजाउ गर्ने परम्परालाई रोक्न ठूला होटलको नै आवश्यकता छ।'
प्रचुर सम्भावना भएरसमेत निजी क्षेत्रको नजरमा नपरेको ढोरपाटनले लगानी पर्खेर बसेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए। उनले पहाड र हिमाली क्षेत्र मिलेर बनेको सिकार आरक्षमा सिकार खेल्न विदेशी मात्र आउने गरेको र स्वदेशीहरु सिकार आरक्षको कार्यालय वरपर मात्रै घुम्ने गरेकाले सिकार आरक्षभित्र पैदलयात्रामार्फत पर्यटक घुमाउन सके आरक्ष र स्थानीय दुवैलाई फाइदा पुग्ने बताए।
'बागलुङसँगै पूर्वी रुकुम र म्याग्दीसम्म फैलिएको सिकार आरक्षको टकसेरा गाउँ, जलजला लगायतको प्रचार प्रसारसमेत हुन सकेको छैन, कम्तीमा ढोरपाटन आएका पर्यटकलाई जलजला पुर्याउन आवश्यक छ, यहाँको नाउर, झारलको संरक्षण र सिकार, स्थानीयको आर्थिक जीवनस्तर सुधार गर्न धेरै पर्यटक आउन आवश्यक छ', कँडेलले भने, 'यहाँ आउन सडक यात्रा सहज बनाउने, सुरक्षित होटल तथा पर्यटकलाई चाहिने अन्य सुविधा थप्ने हो भने पर्यटकहरुको आगमन बढ्ने देखिन्छ।'
ढोरपाटन उपत्यका, सिकार आरक्ष सङ्ग्रहालय, ढोरबराह मन्दिर, छेन्तुङ गुम्बा, स्यालपाखे लगायतको क्षेत्र पर्यटकका लागि घुम्न लायक क्षेत्र हुन्। यो क्षेत्र धार्मिक हिसाबले समेत अत्यन्तै पवित्र क्षेत्र रहेको ढोरपाटन पुगेका जगन्नाथ आचार्यले सुनाए।
पवित्र उत्तरगंगा नदी र ढोरबराह मन्दिर धार्मिक आस्थाको केन्द्र रहेको आचार्यको भनाइ छ। ढोरपाटन जैविक विविधितायुक्त पर्यटकीयस्थल भएकाले यस क्षेत्रमा आतिथ्यतासम्बन्धी व्यवसायमा निजी क्षेत्र इच्छुक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए।
'यहाँ आउने सडक सुधार गर्न सरकार लाग्ने हो भने ठूला होटल लगायतको क्षेत्रमा आफूहरुले लगानी गर्ने सम्भावना रहेको छ, ढोरपाटनमै केन्द्रीय बैठक आयोजना गर्नु र आफ्नो गृह जिल्लासमेत भएका कारण ढोरपाटनमा केही न केही लगानी निजी क्षेत्रबाट हुन्छ', ढकालले भने, 'हालसम्म ढोरपाटन पछि पर्नुमा निजी क्षेत्रले नदेखाएको चासो भन्ने लाग्दछ, अथाह सम्भावना छ।'
ढकालले निजी क्षेत्रको लगानीका आधारमा नेपालका थुप्रै पर्यटकीयस्थलहरुको विकास भइरहेको जनाउँदै ढोरपाटनमा निजी क्षेत्रका व्यक्तिहरु लगानीका लागि आकर्षित भएको सुनाए। उनका अनुसार विदेशी सिकारीले चिनेको ढोरपाटनमा सिकारीको बसाइ जंगलमै हुने भएकाले सिकारीसँगै ढोरपाटनमा अन्य विदेशी पर्यटकसमेत ल्याउने योजना निर्माण गर्न आवश्यक रहेको छ। ढोरपाटनमा वार्षिक सरकारले तोकेको कोटाका आधारमा दुई याममा नाउर, झारल र बँदेलको सिकार हुने गर्दछ।
यस वर्षको पहिलो सिकार याममा आरक्षमा अमेरिकाका मात्रै पाँच सिकारीसँगै विकसित देशका आठ सिकारीले सिकार खेल्न यहाँ आउन अनुमति पाइसकेका छन्। पहिलो याममा आठ नाउर, आठ बँदेल र चार नाउरको सिकार हुँदैछ।