शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

तरकारी खेतीबाट पुष्करले पूरा गरे करोडपति बन्ने सपना, वार्षिक २० लाखसम्म हुन्छ आम्दानी

images
images
images
तरकारी खेतीबाट पुष्करले पूरा गरे करोडपति बन्ने सपना, वार्षिक २० लाखसम्म हुन्छ आम्दानी

कृषक पुष्करनाथ बञ्जाडेले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन्। वार्षिक २० लाखसम्म आम्दानी लिन्छन्।

images
images

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र काँक्रो मात्रै अहिले एक हजार आठ सय बोट लगाएका छन्। सबै बोटमा लटरम्मै काँक्रो फलेको छ।

images
images
images

हाइटेक प्रविधिबाट टमाटर खेती सुरु गरेका उनले एउटा हाइटेक प्रविधिबाट र स्थायी टनेलमा लगाएको काँक्रो खेतीबाट यो याममा सात लाख रूपैयाँ बराबरको काँक्रो उत्पादन गर्ने लक्ष्य लिएका छन्। दैनिक तीन/चार क्विन्टल फलेका काँक्रोले बजार पनि राम्रो पाएको छ। प्रतिकेजी ८० देखि ९० रूपैयाँसम्म थोक मूल्यमा काँक्रा बिक्री गर्नाका साथै दैनिक दश हजार रूपैयाँ बराबरको अन्य तरकारी पनि सन्धिखर्क बजारमा बञ्जाडेले बिक्री गरिरहेका छन्।

images

उनले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन्। अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा २० लाख रूपैयाँ आम्दानी हुँदै आएको छ। बञ्जाडेले गरेको देखासिकीबाट सिंगो गाउँवासी नै अहिले तरकारी खेतीमा लागेका छन्।

images

'अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेको मान्छे भन्थे तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन्', उनले भने।

images
images

बञ्जाडे जिल्लाकै नमूना कृषक हुन्। सामान्य परिवारमा जन्मिएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन। महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो। जागिरभन्दा उत्पादनमूलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपैयाँ कमाउँदै आएका छन्।

'गरेपछि जुन काममा पनि सफलता मिल्छ, निरन्तर काम गरिरहनुपर्छ', उनी भन्छन्। अहिले उनको बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन्। सुरुमा सानो लगानीबाट तरकारी खेती सुरुवात गरेका उनलाई पाँच करोड रूपैयाँभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ।

किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ। तरकारीबाट वर्षमा १०/१५ लाख सजिलै कमाएपछि बञ्जाडेले तीन करोड रूपैयाँभन्दा बढीको घर र घडेरी जोडिसकेका छन्। यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए।

पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साह्रै समस्या छ। बारीमा आकाशे पानी संकलन गर्न ५० हजार लिटरको पानी संकलन गर्ने पोखरी ४० हजार लिटरको ट्यांकी बञ्जाडेले बनाएका छन्। त्यहीँबाट सिँचाइ हुन्छ। गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिइएकाले  धेरै यतातिर तानिएका छन्।

बर्सातको समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो। 'अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा बढी गर्व भयो,' पुष्करनाथले भने, 'पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पुर्‍याए।' रासस

images

प्रकाशित : बुधबार, असोज २४ २०८००७:०१

प्रतिक्रिया दिनुहोस