आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

तरलता व्यवस्थापन गर्न १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

बुधबार, असोज २४ २०८०
तरलता व्यवस्थापन गर्न १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

हालसम्म बैंकले विकास ऋणपत्रमार्फत ८२ अर्ब ३१ करोड रूपैयाँ सरकारलाई आन्तरिक ऋण उठाइसकेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले थप १ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई बोलपत्र आह्वान गरेको छ। ८ वर्ष अवधि तोकिएको यस विकास ऋणपत्रमा लगानी गर्न इच्छुक संस्थाहरुले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन्। 

२०८० असोज २६ गते जारी हुने विकास ऋणपत्र २०८८ असोज २६ गते परिपक्व हुनेछ। उक्त ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

हालसम्म बैंकले विकास ऋणपत्रमार्फत ८२ अर्ब ३१ करोड रूपैयाँ सरकारलाई आन्तरिक ऋण उठाइसकेको छ।

बैंकिङ प्रणालीमा करिब ४ खर्ब ७० अर्ब अधिक तरलता रहेको र उच्च ब्याजदरका कारण बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्न नसकिरहेको अवस्थामा राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत प्रणालीबाट तरलता खिचिरहेको छ।

बैंकिङ प्रणालीमा अधिक तरलताका कारण अन्तरबैंक ब्याजदर ४.५ प्रतिशत भन्दा तल आएमा राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्नुपर्ने भए पनि राष्ट्र बैंकले दीर्घकालीन विकास ऋणपत्र र ३६४ दिनको ट्रेजरी बिलमार्फत सरकारलाई आन्तरिक ऋण उठाइरहेको छ। हाल अन्तरबैंक ब्याजदर घटेर १.७५ प्रतिशतमा आइपुगेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको भए पनि राष्ट्र बैंकले तालिका नै संशोधन गरेर ८७ करोड ३१ लाख रूपैयाँ आन्तरिक ऋण उठाइसकेको छ।

अब थप १० अर्ब रूपैयाँ आन्तरिक उठाउने तयारी गरिएसँगै दोस्रो त्रैमासमा आन्तरिक ऋण उठाउने लक्ष्य अझै घट्ने देखिएको छ। राष्ट्र बैंकले दोस्रो पटक कार्यतालिका संशोधन गर्दै दोस्रो त्रैमासमा ५५ अर्बको सट्टा ३० अर्ब रूपैयाँ मात्रै आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो।

आगामी समयमा राष्ट्र बैंकले अर्थ मन्त्रालयको सहमति लिएर आन्तरिक ऋण उठाउने कार्यतालिका थप संशोधन गर्दै तेस्रो त्रैमास र चौथो त्रैमासको लक्ष्य संशोधन गरेर दोस्रो त्रैमासमा आन्तरिक ऋणको लक्ष्य बढाउने देखिएको छ।


प्रकाशित : बुधबार, असोज २४ २०८००५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend