काठमाडौं- दिगो विकासका लक्ष्य प्राप्तिका लागि सक्रिय सहभागिताका लागि निजी क्षेत्र सदैव तयार रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्।
सन् २०३० सम्मका लागि राष्ट्र संघले तय गरेको विकास लक्ष्य भेटाउन कठिन भइरहेको छ। यस्तोमा निजी क्षेत्र ठूलो हिस्सेदार पनि हो।
राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न राज्य र निजी क्षेत्र तथा अन्य विकास साझेदारबिच सहकार्य र नवप्रवर्तनको आवश्यकतामा जोड दिए।
उनले गरिबी न्यूनीकरण, जलवायु परिवर्तनलगायतमा साझेदारीको आवश्यकता रहेको बताए। उनले निजी क्षेत्र वित्तीय योगदानकर्ता मात्र नभइ आर्थिक वृद्धि, रोजगारी सृजना र प्राविधिक प्रगतिको संवाहक पनि भएको बताए।
अध्यक्ष ढकालले रोजगारी सृजना, स्वास्थ्य सेवा र शिक्षामा लगानी, लैङ्गिक समानता, पूर्वाधार विकास, जलवायु परिवर्तन न्यूनीकरण र वातावरण संरक्षणमा निजी क्षेत्रले विशेष योगदान पुर्याइरहेको बताए।
महासंघलाई पनि साझेदारीका लागि छनौट गरिएको र देशभित्रको कार्यान्वयमा आगामी दिनमा अर्थपूर्ण सहभागिता हुनुपर्ने उनले बताए।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रामकुमार फुयालले लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले स्थानीयकरण गरेको सँगै गाइडलाइन बनाएर कार्यान्वयन गरिरहेको बताए।
निजी क्षेत्र, नागरिक समाज तथा अन्य साझेदारहरूलाई समेटेर सरकार अघि बढिरहेको उनको भनाइ छ।