काठमाडौं- सरकारले क्रसर उद्योगको अनुमतिको दर्ता तथा नियमनसम्बन्धी प्रक्रिया तथा मापदण्ड २०८० स्वीकृत गरेको छ।
स्वीकृत मापदण्ड उद्योग विभागले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ।
भदौ ८ गते स्वीकृत मापदण्ड विभागले असोज २१ गते मात्रै सार्वजनिक गरेको हो। मापदण्डमा क्रसर उद्योग सञ्चालनका लागि उद्योगको स्वामित्वमा रहेको कम्तीमा ४० रोपनी जग्गा आवश्यक पर्ने उल्लेख छ। तर उद्योगो आफ्नै स्वामित्वमा जग्गा नभएमा लिज भएको भए कम्तीमा ५ वर्षको सम्झौता आवश्यक पर्ने मापदण्डमा उल्लेख छ।
क्रसर उद्योगको अनुमतिको लागि निवेदनसाथ पेस गर्नुपर्ने आवश्यक कागजात
- रीतपूर्वकको निवेदन।
- परियोजनाको विवरण।
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा विदेशी नागरिक भए राहदानीको प्रतिलिपि।
- निवेदक फर्म वा कम्पनी भएमा फर्म वा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि।
- प्रतिनिधि नियुक्त गरेको भए अख्तियारीपत्र र अख्तियारवालाको परिचय खुल्ने कागजात।
- साझेदारीमा उद्योग स्थापना गर्न चाहेको भए साझेदारबीच भएको सम्झौता।
कम्पनीको हकमा
- कम्पनी दर्ता प्रमाणपत्र।
- स्वीकृत प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि।
- सञ्चालक समितिको निर्णय।
- अद्यावधिक सेयर लगत।
- अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र।
- उद्योग स्थापना गर्ने क्षेत्रको गाउँपालिका वा नगरपालिकाको सिफारिस।
- उद्योग रहने स्थानको टोपो सिट तथा कित्ता नापीनक्सामा अक्षांश देशान्तर खुलेको कम्पाइल नक्सा।
- दुरी प्रमाणित गर्ने निकायबाट उद्योग दर्ता सम्वन्धमा प्रचलित ढुंगा, गिट्टी, वालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डमा उल्लेख भएको कसर उद्योग सञ्चालनका लागि तोकिएको दुरीसम्बन्धी मापदण्ड बमोजिमको दुरी खुल्ने प्रमाणित कागजात।
- उद्योग रहने स्थलको जग्गाधनी प्रमाण पुर्जा/लिज लिएको भए सम्झौताको प्रति।
- प्राविधिक समितिको स्थलगत निरिक्षण प्रतिवेदन।
क्रसर उद्योग दर्ताका लागि निवेदनसाथ पेस गर्नुपर्ने आवश्यक कागजात
- उद्योग दर्ता निवेदन फाराम।
- अनुमति पत्र।
- स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन।
- हाल अनुमति प्राप्त गरिसकेका उद्योगको हकमा दुरीसम्बन्धी मापदण्डको अनुगमन प्रतिवेदन।
- उद्योगको स्वामित्वमा भएको ४० रोपनी जग्गा विवरण तथा ५ वर्षे लिज सम्झौता।
- क्रसर उद्योगले उद्योग सञ्चालनमा आएपछि उद्योग विभागमा उद्योग सञ्चालनमा आएको जानकारी गराउनुपर्ने।
- उद्योग विभागले क्रसर उद्योग सञ्चालनमा आएपछि समय-समयमा अनुगमन गरी प्रतिवेदन प्राप्त गर्ने ।
क्रसर उद्योगको लागि दुरीसम्बन्धी मापदण्ड
नेपाल सरकारद्वारा जारी गरिएको प्रचलित ढुंगा, गिट्टी, वालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डमा उल्लेख भएको क्रसर उद्योग सञ्चालनका लागि तोकिएको दुरीसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
दुरीसम्बन्धी मापदण्ड निम्नानुसारको निकायबाट प्रमाणित गरी पेस गर्नुपर्नेछ र सोही प्रमाणित कागजातका आधारमा उद्योग विभागले अन्य प्रक्रिया सुरु गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
अन्य व्यवस्था
- वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत हुनुपर्ने।
- प्रारम्भिक वातावरणीय परीक्षण आईईको हकमा उद्योगको अनुमति प्राप्त भएपश्चात् क्रसर उद्योगले ४५ दिनभित्र प्रारम्भिक वातावरणीय परीक्षणसँग सम्बन्धित कार्यसूची तयार गरी स्वीकृतिको लागि उद्योग विभागसमक्ष पेस गर्नपर्ने।
- उद्योग विभागले वातावरण संरक्षण नियमावली बमोजिम त्यस्तो कार्यसूची १५ दिनभित्र निर्णय गर्नुपर्ने।
- क्रसर उद्योगले कार्यसूची स्वीकृत भएको दश महिनाभित्र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन उद्योग विभागसमक्ष पेस गर्नुपर्ने।
- उद्योग विभागले वातावरण संरक्षण नियमावली बमोजिम त्यस्तो प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन सम्बन्धमा १५ दिनभित्र आवश्यक निर्णय गर्नुपर्ने।
- प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतको लागि दिन गणना गर्दा कुनै विषयमा थप स्पष्ट गर्न लेखि पठाएको वा थप कागजात माग गरेकोमा माग बमोजिमको विषयमा स्पष्ट भइ आएको वा थप कागजात प्राप्त भएको मितिबाट गणना गर्नुपर्ने।
- उद्योग विभागले दर्ता अनुमतिको म्यादभित्र प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृत सम्बन्धी निर्णय गर्नुपर्ने।
- दुरी सम्बन्धमा स्थलगत अनुगमन भएको प्राविधिक समितिको प्रतिवेदन।
- समयभित्र कार्यसूची तथा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पेस नगरेमा क्रसर उद्योगको अनुमति स्वतः खारेज हुने।