शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर कर्जाको सीमा बढ्दा पनि बजारमा देखिएन उचाइतर्फको संकेत

३५ अंकको गिरावट, १ अर्ब ८० करोडको कारोबार

images
आइतबार, असोज २१ २०८०
images
सेयर कर्जाको सीमा बढ्दा पनि बजारमा देखिएन उचाइतर्फको संकेत
images
images

काठमाडौं- सेयर बजारमा उच्च बिन्दुको यात्रामा बाधक मानिएको सेयर कर्जाको सीमा बढ्दा फाइदा पुग्ने र वृद्धितर्फ लाग्ने विश्लेषणविपरित बजारले सुधारतर्फ संकेत गर्न सकेको छैन। लामो समयदेखि उतारचढावमा रहिरहेको बजार आइतबारको कारोबारमा ओरालोतर्फ नै देखिएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकले सेयर धितोमा राखेर दिइने मार्जिन कर्जाको अधिकतम सीमा संशोधन गरेपछि त्यसले बजारलाई फाइदा पुग्ने विश्लेषणहरू भइरहेका थिए। तर सेयर धितो कर्जाकै कारण बजारलाई असर गरिरहेको अनुमानबीच अहिलेको परिस्थिति भिन्न देखिएको छ।

images
images

गएको शुक्रबार राष्ट्र बैंकले सेयर कर्जाको सीमामा यसअघिको १२ करोडको सीमा हटाउँदै व्यक्तिगततर्फ १५ करोड र संस्थागत लगानीकर्ताका लागि २० करोडको सीमा तोकेको थियो। सेयर कर्जाको सीमा बढाउन वा हटाउन आइरहेको दबाबबीच गरिएको संशोधनले पनि बजारमा लगानीकर्ताहरू विश्वस्त देखिएका छैनन्। 

images
images

आइतबार ३५.६७ अंकले घटेर बजार १९२१.२४ बिन्दुमा झरेको छ। १ अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैयाँको कारोबार हुँदा १६ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेका छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति र तरलता अभावसँगै बजार गिरावटतिर लाग्यो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ। उत्साह देखिएको बजार घट्नुमा धेरै कारण भएपनि आम लगानिकर्ताले सेयर कर्जा सीमालाई नै कारण मानिरहेका थिए। 

सेयर कर्जाको सीमामा गरिएको संशोधनपछि तत्कालै सुधार नदेखिए पनि बजारले अब सुधारको गति लिने विश्वास संगठित लगानिकर्ताहरूको छ। यसअघि पनि उच्च बिन्दुमा पुगेर बियरिसमा झरेपछि बजारले नयाँ उचाइ लिन समय लागेको थियो। नेप्से परिसूचक २०७३ साउनमा त्यस समयको उच्च बिन्दु १८८० को बिन्दुमा पुगेपछि बजारले बियरिस ट्रेन्ड समातेको थियो। ओरालो लागेको बजार २०७६ मंसिर १० गते ११०२.४७ अंकसम्म झरेको थियो।

यसअघिका अनुभवले बियरिस ट्रेन्ड समाप्त भएपछि बजार केही समय स्थिर भएरमात्र बुलिस ट्रेन्डतर्फ अघि बढ्छ, जुन अंग्रेजी वर्णमालाको ‘यू’ आकारमा अघि बढ्ने गरेको छ। २०५२ मा उच्चतम बिन्दुमा पुगेर सुरु भएको बियरिस ट्रेन्ड २०५४ सम्म, २०५७ को २०५९ सम्म र २०६५ को २०६८ सम्म चलेको थियो। यसैले अहिलेको उचारचढावको स्थिति सकिएर नयाँ उच्च बिन्दुतर्फ बढ्न नियामकीय साथसँगै केही समय लाग्ने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : आइतबार, असोज २१ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend