काठमाडौं- चालु आर्थिक वर्षको असोज २० सम्ममा सरकारको राजस्व असुली गत वर्षको यसै अवधिको तुलनामा करिब १० अर्बले रूपैयाँले बढेको छ। यस अवधिमा सरकारले १ खर्ब ७९ अर्ब ५३ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा ५.७४ प्रतिशतले बढी हो।
गत वर्षको यसै अविधमा सरकारले १ खर्ब ६९ अर्ब रूपैयाँ राजस्व असुलउपर गरेको थियो। चालु आर्थिक वर्षको यस अवधिमा सरकारको कर तथा गैरकर राजस्व गत वर्षको भन्दा बढी असुली भएको छ।
कर राजस्वबाट सरकारले गत वर्षको भन्दा करिब ९ अर्ब ३९ करोड रूपैयाँ बढी संकलन गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७९/८० को असोज २० गतेसम्ममा कर राजस्व १ खर्ब ५५ अर्ब करोड असुलउपर गरेकोमा चालु आर्थिक वर्ष १ खर्ब ६५ अर्ब रूपैयाँ असुली गरेको छ।
कर राजस्वमा आन्तरिक राजस्व र भन्सार राजस्वका शीर्षकहरुबाट संकलन हुने राजस्व पर्दछ। आन्तरिकतर्फ आयकर, मूल्य अभिवृद्धि कर, अन्त:शुल्क, घरबहाल कर, ब्याज, शिक्षा र स्वास्थ्य सेवाबाट राजस्व असुली गरिन्छ भने भन्सारतर्फ वस्तुको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर, भन्सार महसुल, अन्त: शुल्क पर्दछन्।
सरकारले चालु आर्थिक वर्ष कर राजस्वबाट १३ खर्ब ५ अर्ब रूपैयाँ असुलउपर गर्ने लक्ष्य राखेकोमा हालसम्म लक्ष्यको १२.६३ प्रतिशत असुलउपर गरेको छ। गत वर्षको यसै अवधिमा सरकारले १२ खर्ब ९५ अर्ब असुली गर्ने लक्ष्य राखेकोमा १२.०१ प्रतिशत मात्रै असुली गरेको थियो।
यस्तै सरकारले यस अवधिसम्ममा गैरकर राजस्वबाट १४ अर्ब ६० करोड रूपैयाँ संकलन गरेको छ। १ खर्ब १७ अर्ब रूपैयाँ असुली गर्ने लक्ष्य राखेकोमा यस अवधिसम्ममा १२.४७ प्रतिशत असुली भएको छ। गत आर्थिक वर्षको तुलनामा यस्तो कर ३६ करोड रूपैयाँले बढी संकलन भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा १४ अर्ब २४ अर्ब रूपैयाँ गैरकर राजस्व असुलउपर भएको थियो।
यस अवधिमा अन्य प्राप्तितर्फ १४ अर्ब ४४ करोड रूपैयाँ र अनुदान ६ करोड १८ लाख प्राप्ति भएको छ।
साउन र भदौमा आयात घटेकाले राजस्व संकलन गत वर्षको भन्दा थोरै उठे पनि असोजमा भने असुली बढेको छ। चालु आर्थिक वर्षको साउन र भदौमा आर्थिक वर्ष २०७९/८० को तुलनामा आयात ५.०६ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा करिब १९ अर्ब ६० करोड अर्बले आयात घटेको छ। समीक्षा अवधिमा आयात करिब २ खर्ब ५९ अर्ब ७५ करोड रूपैयाँ हुँदा गत वर्षको सोही अवधिमा २ खर्ब ७३ अर्ब ६० अर्ब रूपैयाँ वस्तु आयात भएको थियो।
सरकारी राजस्व बढेपनि अनिवार्य दायित्वहरु भुक्तानीले बजेटमा भने १२ अर्ब रूपैयाँको घाटा देखिएको छ। यस अवधिमा सरकारले कुल १ खर्ब ९४ अर्ब रूपैयाँ कुल प्राप्ति गरेर २ खर्ब ६ अर्ब रूपैयाँ खर्च गरेको छ। यस अवधिमा सरकारले चालु आर्थिक वर्ष १७ खर्ब ५१ अर्ब रूपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा यस अवधिमा २ खर्ब ६ अर्ब अर्थात ११.७७ प्रतिशत खर्च भएको छ। जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब रूपैयाँ विनियोजन भएकोमा १ खर्ब ५७ अर्ब रूपैयाँ अर्थात १३.७८ प्रतिशत, पुँजीगतरत्फ ३ खर्ब २ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएकमा ११ अर्ब ४१ करोड अर्थात ३.७८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ अर्ब ७ अर्ब रूपैयाँ विनियोजन गरिएकोमा ३७ अर्ब ४२ करोड रूपैयाँ खर्च भएको छ।
सरकारले पछिल्लो समय निजामति कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायतका तलब, दसैँभत्ता र सामाजिक सुरक्षालगायतका अनिवार्य दायित्वबापत करिब २७ अर्ब रूपैयाँ भुक्तानी दिएकाले पनि आम्दानीभन्दा खर्च बढेको हो। भदौ २ गते निकासा हुन नसकेका कतिपय स्थानीय तहलाई पनि सरकारले वित्तीय समानिकरण अनुदानको पहिलो किस्ता पठाएको छ। असोज ९ गतेदेखि असोज २० गतेसम्ममा सरकारले अनिवार्य दायित्वका लागि करिब ४८ अर्ब रूपैयाँ भुक्तानी दिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
सरकारले यस अवधिमा आन्तरिक ऋणको सावाँतर्फ ३२ अर्ब ८३ करोड र ब्याज दायित्वतर्फ ८ अर्ब ८७ करोड भुक्तानी गरेर ८७ अर्ब ३१ करोड रूपैयाँ आन्तरिक ऋण उठाएको छ। यस्तै सरकारले ८ अर्ब १७ करोड रूपैयाँ बाह्य ऋणको सावाँ ब्याज भुक्तानी गरेर ४ अर्ब ९७ करोड रूपैयाँ वैदेशिक ऋणको शोधभर्ना लिएको छ।
यस अवधिमा सरकारको आम्दानी खर्चका आधारमा संघीय सञ्चितकोष १२ अर्बले ऋणात्मक देखिए पनि आन्तरिक ऋण र बाह्य ऋणसमेत जोड्दा करिब ८० अर्बले बचतमा रहेको देखिन्छ।