शनिबार, साउन १२ गते २०८१    
images
images
images

परीक्षणका रुपमा लगाइएको किवीबाट राम्रो उत्पादन भएसँगै व्यावसायिक खेतीतर्फ बेझाङवासीको आकर्षण

images
आइतबार, असोज २१ २०८०
images
images
परीक्षणका रुपमा लगाइएको किवीबाट राम्रो उत्पादन भएसँगै व्यावसायिक खेतीतर्फ बेझाङवासीको आकर्षण

किवीका लागि यहाँको हावापानी उपयुक्त हुनाका साथै बाँदरले पनि नष्ट नगर्ने भएकाले पछिल्लो समय किवी खेतीतर्फ आकर्षण बढ्दो छ।

images

वालिङ- स्याङ्जाको आँधीखोला गाउँपालिका-१ बेझाङका कृषक किवी खेतीतर्फ आकर्षित हुँदै गएका छन्।

images
images

बेझाङमा नमूनाका रुपमा स्थानीय दीपक गुरुङले गरेको किवी खेतीबाट उत्पादन राम्रो भएपछि क्रमशः उक्त खेतीतर्फ स्थानीय आकर्षित हुँदै गएको हिले बेझाङ मझकटेरी टोल विकास समितिका अध्यक्ष अग्निप्रसाद ढकालले बताए।

images

गाउँमा किवी खेतीका लागि सम्भावना राम्रो देखिएपछि अहिले समूह तथा व्यक्तिगतरुपमा नै किवी खेती थालिएको छ। किवी खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाउन आँधीखोला गाउँपालिका र १ नं वडा कार्यालयले किवीका बिरुवा उपलब्ध गराएको उनले बताए।

'कोदो रोप्दै आएको जमिन र बाँझो जमिनमा गत वर्ष तीन सय किवीका बिरुवा रोपिएको छ', उनले भने, 'किवीका लागि यहाँको हावापानी उपयुक्त हुनाका साथै बाँदरले पनि नष्ट नगर्ने भएकाले पछिल्लो समय किवी खेतीतर्फ आकर्षण बढ्दो छ।' थोरै थोरै बिरुवा लगाएर थालनी गरेका यहाँका किसानले आगामी वर्ष थप बिरुवा लगाउने गरी तयारी गरेका उनले बताए।

images

'मैले गत वर्ष ५० बिरुवा लगाएको छु, राम्रो भएको छ', उनले भने, 'बाँझो रहेको अरू जग्गामा पनि थप बिरुवा लगाउँछु, यहाँ मजस्तै अरू किसानहरुले पनि व्यावसायिकरुपमा किवी खेती गर्ने मनसाय गर्नुभएको छ।' कोदो रोप्दै आएको जमिनमा तीन वर्षअघि परीक्षणका लागि २० किवीका बिरुवा ल्याएर लगाएको स्थानीय दीपक गुरुङ बताउँछन्।

तीन वर्षअघि लगाएका बिरुवाबाट हाल उत्पादन राम्रो भएकाले यहाँका स्थानीयहरुले यो खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै गरेको गुरुङले बताए। 'गाउँमा कोदो रोप्दै गरेको जमिन र बाँझो जमिनमा कस्तो हुँदोरैछ भनेर काभ्रेबाट मगाएर तीन वर्षअघि किवीका बिरुवा लगाएँ', उनले भने, 'किवीका लागि हाम्रो ठाउँको हावापानी अनुकूल भयो र राम्रो उत्पादन भयो।'

किवीसम्बन्धी केही पनि जानकारी नभइ लगाएको खेतीबाट उत्पादन राम्रो भएपछि स्थानीय तथा आफ्ना आफन्तहरुलाई कोसेलीस्वरुप दिने गरेको उनले बताए। गाउँबाट बसाइँ सर्ने दर बढ्दै जाँदा गाउँ रित्तो हुँदै गएको उनले बताए। उनका अनुसार गाउँबाट ३० घर पोखरा र सात घर काठमाडौंमा बस्दै आएका छन्।

पोखरामा बस्दै आएका गुरुङ गाउँमा रहेको जमिनमा परीक्षणका रुपमा लगाएको किवीबाट उत्पादन राम्रो भएसँगै स्थानीयलाई सिकाइ र अनुभव लिने अवसर मिलेको बताउँछन्। 'मैले कस्तो हुँदोरैछ, गाउँको हावापानीमा किवी हुन्छ कि हुँदैन भनेर परीक्षण गर्न लगाएको थिएँ, व्यावसायिकरुपमा गरेको थिइनँ', उनले भने, 'जब फसल राम्रो भयो तब जोस र जाँगर बढेर आयो, अब बिस्तारै गाउँमा नै फर्केर किवी खेतीलाई व्यावसायिकरुपमा लैजान पर्छ कि भन्ने सोचाइमा छु।'

सैद्धान्तिक ज्ञान भए पनि किवी खेती व्यावसायिक रुपमा गर्नका लागि प्रयोगात्मक ज्ञान भने अझै कमी रहेकाले यसको खोजीमा रहेको उनी बताउँछन्। बेझाङ समुद्र सतहदेखि एक हजार चार सयदेखि एक हजार पाँच सय मिटरको उचाइ रहेकाले यहाँ किवीका लागि आवश्यक पर्ने हावापानी भएको उनले बताए। रासस


प्रकाशित : आइतबार, असोज २१ २०८००७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend