बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

पैदलयात्रुमैत्री फुटपाथ बनाउँदै काठमाडौं महानगर, कुन ठाउँमा कति बजेटमा हुँदैछ काम?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २१ २०८०
images
images
पैदलयात्रुमैत्री फुटपाथ बनाउँदै काठमाडौं महानगर, कुन ठाउँमा कति बजेटमा हुँदैछ काम?

सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको छ। यसअन्तर्गत मार्गमा रंगीन ब्लकहरु छापिने छ। दरबारमार्ग क्षेत्रमा भने ग्रेनाइट छापिनेछ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले फुटपाथलाई पैदलयात्रुमैत्री बनाउन यस वर्ष २ अर्ब १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम गरिरहेको जनाएको छ। यसका लागि सबैजसो सडकखण्डको लागतअनुमान तयार भइसकेको छ।

images
images
images

निर्माण कार्यका लागि जारी सूचनाबाट आएका र छनौट भएका केही निर्माण व्यवसायीसँग सम्झौता भइसकेको महानगरले जनाएको छ। महानगरका अनुसार मापदण्ड र निर्माण पक्षको क्षमताजस्ता प्राविधिक पक्षबाट काम हुन नसक्ने देखिएपछि केही सडकको पुनः बोलपत्रको सूचना भएको छ। 

images

पैदल यात्रा गर्ने यात्रीको सहजताका लागि गएको आर्थिक वर्षबाट थालिएको कामलाई यस वर्ष थप तीब्र बनाइएको महानगरको भनाइ छ। सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको छ। यसअन्तर्गत मार्गमा रंगीन ब्लकहरु छापिने छ। दरबारमार्ग क्षेत्रमा भने ग्रेनाइट छापिनेछ।  

images
images
images

सार्वजनिक निर्माण विभागका अनुसार, वडा नम्बर २९ को पुतलीसडक, अनामनगरलगायत क्षेत्रमा यस अघि काम भइसकेको छ। अहिले वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ काम भइरहेको छ। यसको लागत ४ करोड ५५ लाख रुपैयाँ रहेको छ।

वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर २ को लाजिम्पाट, वडा नम्बर ३ को महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्डको कामका लागि सम्झौता भइसकेको छ। यसको लागत करिब १० करोड रुपैयाँ रहेको छ।

वडा नम्बर २८ को प्रदर्शनी मार्गमा काम थालनी भएको छ। यसको लागत ३ करोड ७८ लाख रुपैयाँ हो। वडा नम्बर ११ को त्रिपुरेश्वरदेखि वडा नम्बर २२ सुन्धारा, वडा नम्बर २७ र २८ को सिमाना महावौद्ध, रत्नपार्क, जमल हुँदै वडा नम्बर २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ। यसको लागत १८ करोड रुपैयाँ रहेको छ। नयाँ बजार बडा नं. १७ खण्डमा पर्ने जग्गा एकीकरण आयोजना क्षेत्रभित्र करिब ११ करोड लागतमा काम हुँदैछ। 

महानगरका अनुसार वडा नम्बर ४ को बालुवाटार सडक खण्डमा निर्माण कार्य गर्नका लागि सम्झौता भइसकेको छ। यसको लागत ६ करोड ३५ लाख रुपैयाँ रहेको छ।

वडा नम्बर ३२ को तीनकुनेदेखि वडा नम्बर ९ सिनामंगल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगंगा हुँदै वडा नम्बर ८ को गौशालासम्मका लागि सम्झौता भइसकेको छ। यसको लागत ६ करोड ६९ लाख रुपैयाँ रहेको छ। वडा नम्बर १० नयाँ बानेश्वरदेखि वडा नम्बर ९ पुरानो बानेश्वरसम्मको मार्गका लागि ३ करोड २३ लाख रुपैयाँ लागतमा काम हुनेछ। वडा नम्बर ११ थापाथलीदेखि वडा नम्बर १२ टेकुहुँदै वडा नम्बर १३ कालीमाटीसम्मको सडक खण्डको लागत ६ करोड रुपैयाँ हो। 

यस्तै वडा नंं २८ को बागबजारदेखि वडा नम्बर २९ चारखाल, वडा नम्बर ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नम्बर ९ को पुरानो बानेश्वर, वडा नम्बर ३१ को भीमसेनगोलाहुँदै वडा नम्बर ९ को सिनामंगल सडक खण्डका लागि १० करोड लागत रहेको छ। 

वडा नंं १३ को कालीमाटीदेखि सोल्टी मोडहुँदै वडा नम्बर १४ को कलंकीसम्म, वडा नम्बर ८ को गौशालादेखि वडा नम्बर ७ को चावहिलसम्म, वडा नम्बर ८ गौशालादेखि वडा नम्बर ९ रातोपुलसम्मको सडक खण्डलाई एउटा प्याकेजमा राखिएको छ। यसका लागि १० करोड लागत अनुमान गरिएको छ। यसका लागि पहिलो पत्र प्रकाशन गरिएको बोलपत्रबाट चाहिएको निर्माण पक्ष प्राप्त नभएपछि पुनः खरिद प्रक्रियामा लगिएको छ।  

यसैगरी वडा नम्बर ४ को विशालनगरको भित्री सडकमा १ करोड ३५ लाख रुपैयाँ लागतमा काम हुँदैछ। वडा नम्बर ६ को महाङ्काल ओरालोदेखि मिलन चोकसम्मका लागि ८० लाख रुपैयाँ लाग्नेछ। यो खण्डको कामका लागि सम्झौता चरणमा पुगेको छ। वडा नम्बर १५ को भगवान पाउदेखि जुडोल मार्ग जोड्ने सडकका लागि १ करोड लागत अनुमान गरिएको छ। यसको वोलपत्र आव्हान सूचना प्रकाशन भएको छ।

सूचनामा गएको अर्को योजना वडा नम्बर १६ को बालाजु चोकदेखि जनमैत्री अस्पताल, बालाजु उद्यानहुँदै बनस्थलीतर्फको सडक खण्ड हो। यसको लागत ३ करोड रुपैयाँ हो। वडा नम्बर ३२ जडीबुटी चोकदेखि पुरानो सिनामंगलपुलसम्मको सडक खण्डमा ११ करोड रुपैयाँ लागतमा पैदल मार्ग निर्माण हुनेछ। 

वडा नम्बर ११ को माइतीघर मण्डलादेखि नयाँ बानेश्वर हुँदै वडा नम्बर ३२ को तीनकुनेसम्म १८ करोड रुपैयाँ लागतमा पैदल मार्ग र साइकल लेन निर्माण हुनेछ। 

यसैगरी वडा नम्बर ५ को बालमन्दिरदेखि नक्साल, वडा नम्बर १ को नारायण चौर, हात्तीसार, कमलपोखरीहुँदै वडा नम्बर ३० को डिल्लीबजार क्षेत्रका लागि ६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। धोवीखोला कोरिडोरको कपन सिमानादेखि बागमती दोभानसम्मको खण्डका लागि ११ करोड रुपैयाँ लागत हुनेछ। 

वडा नम्बर १५ को डल्लु आवास क्षेत्रमा ७७ लाख रुपैयाँमा उपभोक्ता समितिबाट काम भइरहेको छ। 

काठमाडौं महानगरपालिका क्षेत्रभित्र करिब १ हजार ३ सय किलोमिटर सडक सञ्जाल छ। यसमध्ये ८ मिटरभन्दा कम चौडाइ भएको १ हजार किलोमिटर सडक महानगरपालिकाको स्वामित्वमा आएको छ। बाँकी सडक संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयको स्वामित्वमा छ। सडक जसको भए पनि पैदल मार्ग निर्माण, सम्भार र व्यवस्थापनमा महानगरपालिकाले काम गरिरहेको छ। 

यस खण्डमा छुटेका पैदल मार्ग निर्माण गर्नका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी सुधार गर्न, मर्मत गर्नका लागि १५ करोड रुपैयाँ विनियोजन भएको छ। यसको खरिद प्रक्रियाअन्तर्गत सूचना प्रकाशन भइसकेको छ। 

महानगरले सडक प्रयोगकर्तामध्ये सडकमा पैदल यात्रीको पहिलो अधिकार हुने यसपछि मात्र सवारी साधनले प्राथमिकता पाउने जनाउँदै पैदल यात्रामा रहने यात्रीलाई कुनै पनि खालको अवरोध पुर्‍याउन नहुनेतर्फ ख्याल गरेको जनाएको छ। पैदल यात्रीको यो अधिकार स्थापित गर्न काठमाडौं महानगरपालिकाले सडक व्यापारलाई निषेध गरिसकेको जनाएको छ। सडकको किनारामा कसैले पनि कुनै खालका व्यापार गर्न पाउँदैनन्। 

यी सबै खालका प्रतिकुलताको सामना गरेर पूर्वाधार निर्माण हुन सक्ने वातावरण तयार भएको महानगरले जनाएको छ। यसपछि बर्खायाममा हिलो र घाम लागेका बेला धुलो उड्ने वातावरणमा सुधार आउने महानगरको ठहर छ।


प्रकाशित : आइतबार, असोज २१ २०८००५:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend