निरन्तरको दबाबले अर्थतन्त्र शिथिल छ। उत्पादकदेखि उपभोक्तासम्म एकैपटक दबाबमा आउने यस्तो अवस्था पछिल्लो एक वर्षदेखि गहिरिँदै गएको छ। अवस्था सामान्य हुनुको साटो अझ बल्झिँदै गएको छ। कोरोना महामारी सुरू भएपछि दिइएका सुविधाहरू कटौतीलगत्तै उद्योगी व्यवसायी चर्को स्वरमा समस्यामा परेको बताउँदै आएका छन्। ठूला र सम्पन्न उद्योगीहरूको आवाज धेरै सुनिने भएपनि कुनै पनि अर्थतन्त्र शिथिल हुँदा सबैभन्दा पहिला साना उद्योग मारमा पर्छन्। सानो पुँजीमा चल्ने यस्ता उद्योग सानो ऋणको बक्यौताले पनि थलिने गर्छन्। त्यही भएर संकटको समयमा सरकारले पनि यस्तै उद्योगका लागि भनेर विभिन्न राहतका कार्यक्रम ल्याउँछ। नेपाल सरकारले पनि यस्ता कार्यक्रम ल्याउँदै आएको छ। ठूला उद्योगले पनि माग गर्ने र सरकारको पनि घोषणामा पर्ने साना उद्योगीहरूले के त्यस्तो सहायता पाउँछन्? यदि पाएका छैनन् भने पछिल्लो समय कस्तो समस्याको सामना गरिरहेका छन्। यस्तै विषयमा रहेर नेपालका ३० हजार साना तथा घरेलु उद्योगीहरूको प्रतिनिधिमूलक संस्था नेपाल साना तथा घरेलु उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :
राहत तथा सहायताको मागदेखि नीतिगत पैरवीसम्म गर्दा समग्र निजी क्षेत्रले सबैभन्दा चर्को स्वरमा साना तथा मझौला व्यवसायीको नाम लिन्छन्। सरकारले पनि सहायताको घोषणा गर्दा यस्तै व्यवसायीको नाम लिन्छ। पाउनेबेला के त्यस्तै व्यवसायीहरूले पाएका छन् त?
समय समयमा नेपाल सरकारले साना तथा मझौला व्यवसायीका लागि भनेर नीतिगत घोषणा तथा कार्यक्रम पनि बनाउँछ। खास कुरा के हो भने साना उद्यमीको पहुँच कम हुन्छ। त्यसैले गर्दा उनीहरूले पाउँदैनन्। जति पनि राहत तथा सहायताको घोषणा भएको छ त्यसको व्यापक दुरुपयोग भइरहेको हामीले पाएका छौँ। त्यही भएर हाम्रो महासंघले यो कुरा नेपाल सरकारका विभिन्न विभाग, प्रधानमन्त्रीसम्म पनि उठाइरहेका छौँ। हाम्रो कुरा उनीहरूले सुन्न त सुन्छन् तर हामी निस्किएपछि फेरि जसरी चलेको छ त्यसैगरी चलिरहन्छ।
आजको दिनसम्म पनि साना व्यवसायीका लागि सरकारले अनुदान तथा सहुलियतको घोषणा जति गरेपनि पाउनुपर्नेले पाएका छैनन्। यसमा बरु राजनीतिक दलका नेतासँग पहुँच भएका, मन्त्रीदेखि प्रधानमन्त्रीसँग प्रभाव पार्नसक्ने र समग्र प्रणालीमै बलियो पहुँच राख्न सक्नेहरूले नै लाभ लिइरहेका छन्। आसेपासेहरूले त्यस्तो राहत पाइरहेका छन्।
यसमा दु:खको कुरा त के हो भने साना तथा मझौला उद्यमीका लागि कार्यक्रम पनि बन्छ, सोहीअनुसार बजेट पनि तय हुन्छ तर जसका लागि हो उनीहरूले पाउँदैनन्। राज्यको स्रोत पनि सकिने तर पाउनुपर्नेले नपाउँदा हाम्रो वर्गका उद्यमीहरू सदैव उस्तै अवस्थामा हुन्छन्। आजसम्म जति पनि टिकेका छन् उनीहरू आफ्नै बुतामा टिकिरहेका छन्। जस्तोसुकै संकटको समयमा पनि आफ्नै क्षमता र आँटले मात्र रहिरहेका छन्।
साना तथा मझौला उद्यमीहरूले घोषणा गरिएअनुसारको सुविधा नपाए पनि सरकारले भने आफ्नै बजेटरी कार्यक्रमबाट घोषणाबाहेक पनि दातृ निकाय तथा संस्थाको पनि सहायता लिइरहेको छ। जसको नामबाट विदेशी सहायतासमेत निरन्तर परिचालन हुन्छ तर उनीहरूले नै पाउँदैनन् भने यो त राज्यको स्रोतको सरासर दुरुपयोग भयो। भनेपछि तपाईंहरूले यसलाई दुरुपयोगको रुपमा किन उठाउनुहुँदैन त?
हामीले यो दुरुपयोग भयो भनेर निरन्तर आवाज उठाइरहेका छौँ तर हाम्रो आवाज सायद त्यति धेरै सुनिँदैन पनि होला। प्रत्येक संकटको समयमा घोषणा हुने तर हाम्रा उद्यमीले त्यसको सानो अंश पनि नपाउने हो भने यो हामीले नपाएको कुरामात्र होइन नपाउनुपर्नेले पाएको कुरा दुरुपयोग हो भनेर भनिरहेका छौँ। सायद सुन्नुपर्नेहरूले सुनेनन् कि!
खासमा साना तथा मझौला व्यवसाय भनेका समग्र अर्थतन्त्र र उत्पादनका लागि धेरै महत्वपूर्ण हुन्छन् भन्ने कुरा त मैलेभन्दा धेरै विज्ञहरूले नै भन्लान्। हामीले हाम्रो महत्व कति छ भनेर भन्न पनि भएन। मुख्य कुरा के हो भने साना तथा मझौला उद्यम भनेका अर्थतन्त्रका धमिनी हुन्। यसलाई बचाउनु राज्यको दायित्व हो तर यहाँ राज्यले बचाउने र सहायताको कुरा त छाडौँ उल्टो जेनतेन आफै उत्पादन गरेका वस्तुको बजार नै भएन। वातावरण नै भएन।
छिमेकी मुलुक भारत र चीनमा उत्पादन भएका वस्तुसँगको प्रतिस्पर्धा यहाँका घरेलु साना उद्योगले गर्नुपर्ने अवस्था आयो। कुनै पनि बहुराष्ट्रिय कम्पनीसँगै प्रतिस्पर्धा गर्न कठीन हुन्छ साना उद्यमीले। यो कुरा नेपालमा मात्र होइन संसारभर लागु हुन्छ।
भन्सारदेखि अधिकांश वस्तु खुला नाकाका कारणले नियमनरहित आयात भइरहेका हुन्छन्। यसले गर्दा हाम्रा उद्यमीका उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने सम्भावना नै न्यून छ। यस्तो अवैध आयात नियन्त्रण गर्न सरकार असफल भइरहेको छ र यसको मार हामीले भोग्नुपरेको छ।
साना उद्यमीहरूले ठूला स्केलमा उत्पादन गर्नसक्ने कुरा भएन र बजारमा बजारीकरण पनि गर्न सक्दैनन्।
सरकारले सहयोग गर्ने भनेको पैसा दिने भनेको पनि होइन। खाली साना उद्यमीलाई उत्पादनमा प्रतिस्पर्धी हुनका लागि प्रविधिमा लगानी गर्नुपर्छ। यस्तो प्रविधि भित्र्याउनका लागि सरकारले सहायता गर्नसक्छ र गर्नुपर्छ। यतिमात्र गर्ने हो भने हाम्रो आफ्नै कच्चा पदार्थमा आधारित उत्पादन बढाउन सकिन्छ। यसको ठीक उल्टो यहाँको कच्चा पदार्थ विदेश जान्छ कौडीको भाउमा अनि हामीले महँगो डलरमा किन्नुपर्ने अवस्था रहेको छ।
अहिलेको आर्थिक शिथिलतामा साना उद्यमीहरूले कस्तो समस्या भोगिरहेका छन्?
पछिल्लो समय सरकारले कोभिडको समयमा मौद्रिक नीतिमार्फत विशेष सहायताको घोषणा भएको थियो। त्यसमा पनि लघु घरेलु महिला उद्यमीहरूका लागि हो भने। उनीहरूले गर्ने उत्पादनको परिमाण तथा गुणस्तर बढाउन सहयोग होस् भनेर सहायता घोषणा गरिएको थियो। यसमा मुख्यगरी बिनाधितो कर्जा तथा अन्य ऋण सुविधा थियो। १५ लाखसम्मको कर्जाको धितो नलाग्ने कुरा थियो।
राष्ट्र बैंकको तथ्यांकमा १५ लाखसम्मको बिनाधितो कर्जा ८६ हजारले लिएको देखिन्छ तर खास उद्यमी ५/७ हजारले पनि पाएका छैनन्। भनेपछि त्यत्रो फरक कसरी पर्यो? कसले पायो भने पहुँचवालाहरू, उच्चपदस्थका आसेपासेहरू, नेता तथा मन्त्रीका निकटहरूले नै पाए। त्यो कर्जा उत्पादनमा आयो जस्तो लाग्दैन।
कुनै पनि संकटको मार सबैभन्दा पहिला कमजोर संरचनामा पर्छ। यस्तोमा साना तथा मझौला उद्योगको संरचना र आधार कमजोर नै हुन्छ। त्यसैले गर्दा अहिलेको समयमा त आधाजति बन्द भइसकेका छन्।
२०७२ सालमा भूकम्प आयो। त्यतिबेला सयौँ उद्योगमा क्षति भए। त्यसबाट बल्ल उठ्दै थिए फेरि कोरोना आयो। गएको दश वर्षमा ठूला महाविपत्ति आए। त्यसले गर्दा धरासायी भएका छन्। केही बाँकी रहेकाहरू ऋणको बोझले गर्दा थलिएका छन्। सहायता गर्ने भनिएका राहतले पनि यसमा काम गरेन।
स्वभाविक प्रक्रियाअनुसार साना तथा मझौला उद्योग सञ्चालन गरिरहेकाहरू माथि उक्लिनुपर्ने हो तर नेपालमा भने वर्षौंदेखि नयाँ उद्यमी थपिएकै छैनन्। अपग्रेड संसारभर नहुने हो कि नेपालमा मात्र नभएको हो?
अहिलेको जति पनि वित्तीय स्रोत छ त्यसको परिचालन ठूलाबाट भन्छन् तर उनीहरू व्यापारी हुन् उद्यमी होइनन्। उनीहरूकै कब्जामा छ। यहाँ व्यापारका लागि जति पनि ऋण उपलब्ध हुन्छ तर सानो स्केलमा उत्पादन गर्ने साना उद्यमीहरूलाई भने झुलाउने मात्र काम हुन्छ। धितो राख्दा पनि ऋण पाइँदैन।
ठूला भनिनेहरूले अर्कोतिर कि घरजग्गामा पैसा हाल्ने कि विदेशी सामान ल्याएर बेच्ने हुन्। ऋण जति त्यस्तोमा गइरहेको छ। सानालाई त वित्तीय स्रोत नै छैन।
उद्यमी जन्माउने नेपाल सरकारको खास योजना नै छैन। वित्तीय स्रोतको गलत परिचालन अझ बढ्दै गइरहेको छ। यसले गर्दा भविष्यमा अझ भएकै साना उद्यम बन्द हुने अवस्थामा छन्। यस्तोमा कसरी नयाँ उद्यमी जन्मन्छन्? अर्कोतिर व्यापारमा रमाएकाहरूले उत्पादनको झन्झट लिँदैनन्।
भनेपछि वित्तीय पहुँचको समस्या हो?
बिलकुल। साना उद्यमीहरूले ऋण नै पाउँदैनन्। पाएपनि एकजनाको काम नै महिनौँसम्म त्यही हुन्छ। नाममा दिने भनिन्छ तर वास्तविकतामा कहिल्यै परिचालन हुँदैन। यो समस्या हामीले वर्षौंदेखि उठाइ त रहेका छौँ तर सुनवाइ अहिलेसम्म भएको छैन।
तीन तहकै सरकारसम्म हामीले आवाज उठाएका छौँ तर पनि ठूला भनिने व्यवसायीको प्रभावमा उनीहरूलाई मात्र पोस्ने काम भइरहेको छ।
साना तथा घरेलु उद्योगलाई प्राविधिक सहयोग गर्ने, उत्पादनको गुणस्तर बढाउनेदेखि तालिम र बजेटसम्मको कुरा त आइरहेको छ नि। तपाईंहरूले लिन नचाहेको हो कि?
यो कुरामा हामी प्रष्ट छौँ। किनभने परम्परागत रुपमा हिजोसम्म जसरी घरेलु सीप र शैलीमा उत्पादन हुन्थ्यो त्यसले आजको बजारलाई सेवा गर्न सक्दैन। केहीको विशेषता नै त्यही होला तर धेरैको हुँदैन।
त्यस्तै विश्व बजारसम्म पुग्नका लागि पनि हामीसँग नयाँ विकल्प छन्। उत्पादनको गुणस्तरदेखि बजारको खोजीसम्मका कुरामा प्रविधि उपलब्ध छ तर त्यो प्रविधि लिने, त्यसको प्रयोग गर्ने र लागु गर्ने कुरा भनेको सहज र सुलभ छैन। यस्तो कुरामा तालिमदेखि सहजीकरणको काम सरकारले गरिदिए हुन्थ्यो भनेर हामीले मात्र भनेका छैनौँ स्वयम् सरकारले आफ्नै कार्यक्रममा राख्दै आएको पनि छ।
नेपालकै कच्चा पदार्थमा आधारित साना उद्योगलाई प्रबर्द्धन गर्नका लागि यस्तो प्रविधि ल्याउन सहुलियत दिनुपर्छ। यति हुँदा एकातिर उद्योग पनि राम्रो हुन्छ भने रोजगारी पनि बढ्छ। साना उद्यमीहरू सम्पन्न हुँदै ठूलो हुँदै जान्छन्। आखिर सानाबाट ठूला हुने कुरा त दिगो हो नि। साना तथा मझौला उद्यमलाई नै प्रबर्द्धन गर्दै आएको भए देशमा यो तहको परनिर्भरता नै हुने थिएन।
औद्योगिक उत्पादनको इकोसिस्टममा ठूला उद्योगले पनि साना तथा मझौला उद्योगलाई ढाडस दिने काम गर्छन् भनिन्छ। हाम्रोमा यस्तो अभ्यास छैन होइन त?
विकसित अर्थतन्त्रमा ठूलो उत्पादन गर्ने उद्योगले आफूलाई चाहिने सहायक पदार्थ तथा सामग्रीका लागि साना तथा मझौला उद्योगलाई प्रबर्द्धन गर्छन्। त्यसमा सहायताको पद्धति बनेको हुन्छ। तर हाम्रो देशको बिडम्बना के हो भने ठूला उद्योगी नै छैनन्। खाली यहाँ त विदेशको सामान ल्याएर बिक्री गर्नेहरू नै धेरै छन्। धेरै पैसा कमाउनेहरू व्यापारी हुन्। सकेसम्म फाइनल वस्तु ल्याउने नभए प्याकेजिङ गर्नेहरू यहाँ छन्। केही न केही छन्। बरू साना तथा घरेलु उद्योगी नै खास उद्योगी हुन्।