बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

राम्रो आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक, विदेशमा समेत माग

images
बुधबार, असोज १७ २०८०
images
images
राम्रो आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक, विदेशमा समेत माग

यहाँ उत्पादित बाँको स्थानीय बजारका साथै पोखरा, काठमाडौंलगायत सहरमा पनि माग हुन थालेको थालेको छ।

images
images

बागलुङ- प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जंगली बाँकोलाई प्रस्ट चिनाउँछ। एक पटक बाँकोको स्वाद लिएका जोकोहीलाई लोभ्याउने गरी यहाँका किसानले जंगलमा संकलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन्।

images
images
images

छुँदै चिलाउने वनस्पतिलाई सहरका भान्सामा पुर्‍याउने अभियान यहाँका किसानले थालेका हुन्। समूहमा आबद्ध किसानले जंगलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण गर्न थालेको तीन वर्ष भयो। बाँकोले गाउँसहर जोडेको छ भने दुःख गर्नसक्ने किसानलाई आम्दानीसँग जोड्न थालेको छ।

images

पहिलो वर्ष गाउँघरका लागि मात्रै गुन्द्रुक उत्पादन गरेकामा गत वर्ष जैमिनी नगरपालिकाले ‘लेबलिङ’ र ‘प्याकेजिङ’को तालिम दिएपछि किसानले यस वर्षदेखि आफैले लगानीबाट लेबलिङ र प्याकेजिङ गरेर बाँको बजारमा ल्याएका छन्।

images
images
images

'किसानको उत्पादन व्यवसायिक रुपमा जारमा जाँदा त्यसको मूल्यलगायत धेरै कुरामा सहज हुन्छ, अघिल्लो वर्ष नगरले सहयोग गरेपछि अहिले किसानले आफ्नै लगानीमा बजार ल्याएका छन्', कृषि प्राविधिक रवीन्द्र शर्माले भने, 'बाँकोबाट राम्रो आम्दानी हुन्छ।' यहाँ उत्पादित बाँको स्थानीय बजारका साथै पोखरा, काठमाडौंलगायत सहरमा माग हुन थालेको उनले बताए।

छन्त्याल कृषक समूहमा आबद्ध दमेकका एक सय ४३ किसानको सामूहिक प्रयासमा बाँकोको बजारीकरण थालिएको समूहका अध्यक्ष देवप्रकाश छन्त्यालले बताए। उनका अनुसार अन्य सागबाट भन्दा बाँकोको सागबाट बनेको गुन्द्रुक स्वादिलो र पोषिलो हुने भएकाले किसानले जंगली बाँकोको गुन्द्रुक बनाउँदै आएका हुन्।

'नजिकको जंगल वर्षमा दुई पटक १५/१५ दिनका लागि मात्रै बाँको टिप्नका लागि खुल्छ, जसले धेरै टिप्नुहुन्छ उहाँले धेरै आम्दानी गर्नुहुन्छ', छन्त्यालले भने, 'समूहमा आबद्ध किसानले टिपेको बाँको समूहले नगदमा खरिद गरेर प्रशोधन, लेबलिङ, प्याकेजिङ गर्छन् र बजार पठाउँछन्।'

उनका अनुसार विदेशमा रहेका नेपालीले समेत बाँकोको गुन्द्रुकको माग गर्ने गरेका छन्। उच्च पहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जंगली वनस्पति बाँको अब व्यावसायिक किसानको रोजाइमा पर्न थालेको छन्त्यालले बताए। सहरिया भान्छामा बाँकोको गुन्द्रुक पाक्न थालेको उनको भनाइ थियो।

'दमेकका झन्डै पाँच सय घरमा बाँको भित्रिने गरे पनि कसैले व्यावसायिक बनाएका थिएनन्। यस वर्ष पाँच सय किलो बाँको बजार पठाउने समूहको योजना छ', अध्यक्ष छन्त्यालले भने, 'समूहले एक सय ग्रामका प्याकेट तयार गरेको छ।'

एक प्याकेटको मूल्य तीन सय रूपैयाँ कायम गरिएको उनले जानकारी दिए। गत वर्षभन्दा प्रति एक सय ग्राममा ५० रूपैयाँ मूल्य कम गरिएको उनले बताए।

'जेठ/असारमा जंगलभरि पाइने बाँको असोजसम्म घरभित्र ल्याइसक्नुपर्छ। असोजसम्म टिप्न नभ्याइएमा बाँको यत्तिकै हराएर जान्छ। सावधानीपूर्वक नटिप्ने हो भने बाँकोको काँचो पातले शरीर चिलाउने समस्या हुन्छ', छन्त्यालले भने, 'यहाँका किसानले बाँकोका पात र काण्ड टिपेर परम्परागत शैलीबाट थिचेर एक महिनासम्म प्लास्टिकको ड्रममा राखेपछि मात्रै बाँकोको गुन्द्रुक तयार हुन्छ।' रासस


प्रकाशित : बुधबार, असोज १७ २०८००८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend