शुक्रबार, जेठ ४ गते २०८१    
images
images

६ वर्षमा निगमको घाटा साढे १५ अर्बभन्दा बढी, गत आवमा मात्रै २ अर्ब १६ करोड घाटा

जहाज उडानबाट मात्रै २० अर्ब घाटा हुँदा ग्राउन्ड ह्यान्डलिङबाट ५ अर्ब ७० करोड नाफा

images
बुधबार, असोज १७ २०८०
images
images
६ वर्षमा निगमको घाटा साढे १५ अर्बभन्दा बढी, गत आवमा मात्रै २ अर्ब १६ करोड घाटा

पछिल्लो ६ वर्षको अविधिमा निगमको निरन्तर नाफामा भइरहेको स्रोत गाउन्ड ह्यान्डलिङ मात्रै हो। आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्मको अवधिमा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाबाट ५ अर्ब ७० करोड ७० लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ।

images
images

काठमाडौं- नेपाल वायु सेवा निगम पछिल्लो ६ वर्षदेखि निरन्तर घाटामा छ। निगमले लामो दुरीका गन्तव्यमा उडान गर्ने वाइडबडी ल्याएदेखि निगम निरन्तर घाटामा गएको हो। निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन कार्यदलले दिएको तथ्यांकअनुसार निगमले पछिल्लो ६ वर्षमा १५ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी घाटा बेहोरेको छ।

images
images
images

कार्यदलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको रिपोर्टमा आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्ममा निगमको घाटा १५ अर्ब ५५ करोड रूपैयाँ छ। जसमा पछिल्लो आर्थिक वर्ष २०७९/०८० मा मात्रै २ अर्ब १६ करोड रूपैयाँ घाटामा रहेको छ।

images

मन्त्री किरातीले निगम नाफामा गएको र आफ्नै आम्दानीबाट जहाज किन्न सक्ने क्षमतामा पुगेको बताइरहँदा कार्यदलले भने निगमलाई जहाज किन्न सिफारिस गरे पनि स्रोतको व्यवस्थापन भने सोल्टी होटलको ४ अर्ब रूपैयाँ भन्दा बढीको सेयर बेच्न सुझाव दिएको छ। राजनीतिक हस्तक्षेप तथा कार्यकारीहरुको लापरबाहीका कारण निगमले घाटा बेहोरेको रिपोर्टमा उल्लेख छ। त्यसमा पनि २२ अर्बभन्दा बढीको लगानीमा खरिद गरिएको वाइडबडी जहाज फुल फेजमा सञ्चालन गर्न नसक्दा निगम घाटामा गएको रिपोर्टमा उल्लेख छ।

images
images

निगमले अहिले न्यारोबडी जहाज उडानबाट मात्रै नाफा गरेको छ। वाइडबडी तथा आन्तरिक उडानमा रहेको टिवनअटर जहाज उडानबाट न‍िगमलाई घाटा भइरहेको रिपोर्टमा उल्लेख छ। निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाबाट मात्रै निरन्तर नाफा गरिहेको छ।

images
images

रिपोर्टमा उल्लेख भएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा निगमले १६ अर्ब ९६ करोड रूपैयाँको आम्दानी गरेर १९ अर्ब १३ करोड रूपैयाँ खर्च गरेको छ। सोही आधारमा निगमले गत आवमा २ अर्ब १६ करोड घाटा बेहोरेको छ।

कुन वर्षको घाटा कति?

रिपोर्टमा उल्लिखित तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा निगमले ९ करोड ३३ लाख नोक्सानी बेहोरेको थियो। उक्त वर्ष निगमले कुल ११ अर्ब २० करोडको आम्दानी गर्दै ११ अर्ब २९ करोड रूपैयाँ खर्च गरेको थियो।

यसैगरी निगमलाई आर्थिक वर्ष ०७५/०७६ मा २ अर्ब ६३ करोड नोक्सानी भएको थियो भने आर्थिक वर्ष ०७६/०७७ मा ३ अर्ब ७६ करोड नोक्सानी भएको थियो। यसैगरी २०७७/०७८ मा ४ अर्ब ४० करोड, ०७८/०७९ मा १ अर्ब ७० करोड र २०७९/०८० मा २ अर्ब १६ करोड नोक्सानी निगमले बेहोरेको छ।

६ वर्षको वित्तीय विवरण.png

सधैँ नाफा कमाउनेमा ग्राउन्ड ह्यान्डलिङ सेवा मात्रै

पछिल्लो ६ वर्षको अविधिमा निगमको निरन्तर नाफामा भइरहेको स्रोत गाउन्ड ह्यान्डलिङ मात्रै हो। आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्मको अवधिमा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाबाट ५ अर्ब ७० करोड ७० लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ।

रिपोर्टको तथ्यांकअनुसार निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनबापत आर्थिक वर्ष ०७४/०७५ मा १ अर्ब २५ करोड रूपैयाँ नाफा गरेको छ। यसैगरी ०७५/०७६ मा १ अर्ब ३१ करोड, ०७६/०७७ मा ९४ करोड ९३ लाख, ०७७/०७८ मा ४३ करोड ३७ लाख, ०७८/०७९ मा ९८ करोड ७० लाख र ०७९/०८० मा ६६ करोड ७२ लाख नाफा गरेको छ।

६ वर्षमा न्यारोबडी जहाज उडानबाट १ अर्ब ८० करोड नाफा

निगमले पछिल्लो ६ वर्षमा न्यारोबडी जहाज उडानबाट पनि पौने २ अर्ब रूपैयाँ नाफा गरेको छ। कोभिडको समयमा २ वर्ष घाटा बेहोरे पनि अन्य वर्षहरुमा भने न्यरोबडी जहाज उडानबाट निगमले केही रकम नाफा गरेको छ। ६ वर्षको अवधिमा निगमले न्यरोबडी जहाज उडानबाट १ अर्ब ८० करोड रूपैयाँ नाफा गरेको छ।

आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ मा भने न्यरोबडी जहाज उडानबाट पनि निगमलाई घाटा भएको थियो। कोभिडका कारण यो २ वर्ष जहाज उडान नै हुने सकेको थिएन। त्यसबाहेक २०७४/०७५ पछिका अन्य वर्षहरुमा न्यारोबडी जहाज उडानबाट निगमले नाफा नै गरिरहेको छ।

निगमले न्यारोबडी जहाज उडानबाट आर्थिक वर्ष २०७५/०७५ मा ४३ करोड, ०७५/०७६ मा १९ करोड, ०७८/०७९ मा ८७ करोड ३४ लाख र ०७९/०८० मा ९५ करोड ७८ लाख रूपैयाँ नाफा गरेको छ। तर न्यारोबडी उडानबाट नै निगमले आर्थिक वर्ष ०७६/०७७ मा ११ करोड ४८ लाख र २०७७/०७८ मा ५४ करोड १३ लाख रूपैयाँ नोक्सानी बेहोरेको थियो। 

टिवनअटर उडानबाट २ अर्ब ७२ करोड नोक्सानी

निगमले अहिले आन्तरिक उडानमा २ वटा टिवनअटरबाट सेवा दिँदै आएको छ। निगमसँग ३ वटा टिवनअटर भए पनि एउटा टिवनअटर जहाज २०६९ सालदेखि उडानमा छैन। उडानमा रहेको २ वटामा पनि एउटा मात्रै फूलफेजमा उडान भइरहेको छ। आन्तरिकमा १९ वटा गन्तव्यमा उडान गरिरहेको छ।

तर उडानबाट निगमलाई पछिल्लो ६ वर्षमा कुनै पनि वर्ष नाफा भएको छैन। आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्ममा निगमलाई टिवनअटर जहाज उडानबाट अर्ब ७२ करोड रूपैयाँ नोक्सानी भइसकेको छ।

निगमले टिवनअटर जहाज उडानबाट आर्थिक वर्ष २०७४/०७५ मा २० करोड १७ लाख, ०७५/०७६ मा ४२ करोड ८७ लाख, ०७६/०७७ मा ४६ करोड ६ लाख, ०७७/०७८ मा ५६ करोड ४८ लाख, ०७८/०७९ मा ५५ करोड ९४ लाख र २०७९/०८० मा ५० करोड ९९ लाख रूपैयाँ नोक्सानी बेहोरेको छ।

दुई न्यरोबडी र दुई वाइडबडी खरिदको ऋण बढेर ४३ अर्ब ५५ करोड पुग्यो

निगमले २ वटा न्यारोबडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोषसँग र २ वटा वाइडबडी जहाज खरिदका लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग कुल ३४ अर्ब रूपैयाँको हाराहारीमा ऋण लिएको थियो। तर ऋणको सयममा नै किस्ता र ब्याज भुक्तानी गर्न नसक्दा सावाँ रकम नै बढेर ४३ अर्ब ५५ करोड भइसकेको छ।

निगमले २ थान न्यारोबडी जहाज खरिदका लागि २०७० असार ४ गते कर्मचारी सञ्चय कोषबाट ९ अर्ब ९८ करोड ११ लाख १७ हजार र २०७४ जेठ २८ मा वाइडबडी १ थान खरिदका लागि नेपाल सरकारको १२ अर्बको जमानीमा ११ अर्ब ९९ करोड ६१ लाख रूपैयाँ ऋण लिएको थियो। समयमा नै ऋणको किस्ता र ब्याज तिर्न नसक्दा अहिले यो ऋण बढेर २०७९ चैत्र मसान्तसम्म २७ अर्ब ३७ करोड ९४ लाख रूपैयाँ पुगेको छ।

यसैगरी निगमले २०७४ जेठ २९ गते वाइडबडी १ थान खरिद गर्नका लागि नेपाल सरकारको १२ अर्बको जमानीमा नागरिक लगानी कोषबाट १२ अर्ब नै ऋण लिएको थियो। उक्त ऋणमा २०७८ असार मसान्तसम्मको ब्याज र जरिवानासमेत गरी ऋण दायित्व १६ अर्ब १८ करोड १४ लाख ४७ हजार पुगेको छ। यी दुवै संस्थाले उल्लिखित रकमको बक्यौता ब्याजसमेत पुँजीकृत गरेका छन्।

नोट: गत आवको १० महिनालाई पनि वर्षकै अनुपात गणना गरिएको छ।


प्रकाशित : बुधबार, असोज १७ २०८०११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend